डिल्ली पाण्डे
‘कमरेड नमूना’ अर्थात् जयपुरी घर्तीको एउटा जीवनमा कैयौँ कथा छन्। युद्धकालदेखि आजसम्म मनभित्र थुप्रिएका अनगिन्ती तीतामीठा अनुभूतिहरू छन्।
उनी घर–परिवार छाेडेर युद्ध मैदानमा उत्रिइन्। विद्रोहकाे शिखरमा क्रान्तिकारी पात्र बनिन्। अनि आफ्नो तर्फबाट पार्टी संगठनमा महत्वपूर्ण भूमिका निभाइन्। हजार माइलको यात्रामा लाखौँ ‘कमरेड’ भेटिन्।
रोल्पादेखि भारतसम्म पार्टी संगठनको काममा खटिइन्। १० कक्षा पढ्दै गर्दा सार्वजनिक मुद्धा खेपेकी उनी लगत्तै भूमिगत भइन्। विभेदविरूद्ध विद्रोह गरिन्। दलित, आदिवासी, जनजाति र महिला अधिकारको वकालतमा लागिन्।
नेकपा (मशाल) हुँदै नेकपा (माओवादी)को राजनीतिमा प्रवेश गरिन्। अनि जनआवाज बनेर संषर्घमा उत्रिइन्, उनी। ‘नमूना दिदी माओवादी आन्दोलनको ऐतिहासिक पात्र हुनुहुन्छ। पार्टी निर्माणमा उहाँको ठुलो योगदान छ। रोल्पा–रुकुम उहाँको राजनीतिक भूगोल हो। रोल्पाले दिदीलाई खोजिरहेको छ,’ माओवादी केन्द्र रोल्पाका एक सदस्य भन्छन्।
जयपुरीले आजसम्म नेपाली राजनीतिमा इमान्दार र वर्गीय नेत्रीको छवि बनाएकी छिन्। उनी परिवारवादमा डुबेकी छैनन्। अवसर खोज्दै दौडिइनन्। बरू पार्टीभित्रका नेताबाटै किनारामा पारिइन्।
हजारौँले जनयुद्धमा परिवारमा सदस्य गुमाएका छन्। जयपुरीले पनि विद्रोहको विगुल फुक्दै हिँडिरहेका आफ्ना प्रिय श्रीमान अर्थात् कमरेड ‘विवेक’ (कविराम केसी) गुमाइन्। पति वियोगको पीडा भुलेर उनी हप्ता दिन नबित्दै पार्टीकाे काममा खटिइन्।
‘जयपुरीजी निर्भिक र निडर नेता हुनुहुन्थ्यो। आजपनि उहाँको जीवनशैली सरल छ। पार्टीकाे काममै हुनुहुन्छ। कमरेड विवेक शहिद बनेको केही दिनमै संगठन निर्माणमा लाग्नुभएको थियो। त्यो दृश्य अध्यक्ष कमरेड प्रचण्डलाई अझै पनि याद छ,’ भारत प्रवासमा जयपुरीसँगै काम गरेका माओवादी केन्द्रका एक पोलिटव्यूरो सदस्य बताउँछन्।
दश वर्षे जनयुद्धले चर्चामा पुर्यायो। अनि आजभोलि गुमनामझैँ देखिन्छिन्, उनी। रोल्पाको पाछावाङमा मारिएका हुन्, जयपुरीका श्रीमान विवेक। त्योबेला माओवादी नेत्री जयपुरी भारत प्रवासमा थिइन्। पार्टी काममा खटिएकी थिइन्। संगठन निर्माणमै थिइन्।
उनी माओवादी आन्दोलन थप बलियो र प्रभावकारी बनाउने अभियानमा थिइन्। युद्धलगत्तै उनी रोल्पा–रुकुमपूर्वको पार्टी काममै लागिन्। रोल्पाबाट पहिलोपटक सभासद बनिन्।
दश वर्षे जनयुद्धले जन्माएकी ‘नमूना’ नेपाली राजनीतिको रंगमञ्चमा साँच्चै ‘नमूना’ छिन्। उनी पद र लोभभन्दा टाढा छिन्। वर्गीय राजनीतिको राजमार्गमा हिँडिरहेकी छिन्। तर माओवादी शीर्ष नेतृत्वको समिपमा छैनिन्। रोल्पादेखि काठमाण्डूसम्म उपाध्यक्ष कृष्णबहादुर महरा र उपमहासचिव वर्षमान पुनको टुक्रे समूहबाट पेलिएकी छिन्।
‘जयपुरी कमरेडलाई रोल्पाली जनताले खोजेका छन्। पैसाको धाक देखाउँदै रोल्पाबाट प्रतिनिधिसभामा रोक्ने काम नगरियोस्। रोल्पाबाट अब उहाँको पालो हो। अध्यक्ष प्रचण्ड, उपाध्यक्ष महरा सरले जयपुरी कमरेडलाई अघि सार्नुपर्छ,’ माओवादी केन्द्र लुम्बिनी प्रदेशका एक पदाधिकारी भन्छन्।
त्यसो त जयपुरी अहिले पनि सदनमै छिन्। प्रतिनिधिसभा सदस्यसँगै शिक्षा तथा स्वास्थ्य समितिको नेतृत्व गरिरहेकी छिन्। उनको भूमिका र योग्यताप्रति चारैतिर प्रशंसा भइरहेको छ। तर यसपालि सभानुपातिक होइन, रोल्पाबाट प्रत्यक्षमै भिड्ने अनि जित्ने सोचमा छिन्, उनी।
उनी एक समय ‘१३ दिने मन्त्री’ पनि बनिन्। नाउको मात्रै मन्त्री भएकी उनले अर्कोपटक मन्त्री पद पनि मागिनन्। बरू, पार्टी काममै खटिइन्। माओवादी केन्द्रकी शीर्ष नेत्री जयपुरी सुप्रिमाे प्रचण्ड र वैद्य विभाजन हुँदा वैद्यतिर लागिन्। अनि वैद्य र विप्लव फुट्दा प्रचण्डतिरै फर्किइन्। उनी माओवादी एकताको पक्षधर हुन्। माओवादी आन्दोलनको संरक्षक हुन्।
‘जयपुरी दिदीलाई पहिले रोल्पाले रोज्यो, अहिले फेरि रोल्पाले खोज्यो। उहाँ सभासद बन्नुभयाे, राेल्पाली जनताले राेजे। यसपालि रोल्पाबाटै चुनाव लड्नुहुन्छ। लड्नुपर्छ। महरा सरको निर्वाचन क्षेत्र दाङ छ। वर्षमान कमरेडले यसपटक रोल्पा छोड्नुपर्छ,’ माओवादी केन्द्र माडी गाउँपालिकाका एक शीर्ष नेता भन्छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया