नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता गरेर कम्युनिष्ट आन्दोलन एकीकृत गर्न खोजेपनि प्रचण्डले आफूलाई छुरा रोपेको आरोप लगाएका छन्।
बिहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई आफूले सम्मानपूर्वक आफ्नै सिट छेउमा राखेपनि उनले ग्वाम्मै छुरी रोपेको टिप्पणी गरेका हुन्।
माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले पार्टीबाट निष्कासन गरेको प्रसंग सुनाएका छन्।
‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउ, बलियो वामपन्थी आन्दोलन बनाउँ, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ। मैले अँगालो हालेको थिएँ, हात मिलाएको मात्र होइन,’ ओलीले भनेका छन्, ‘प्रचण्ड हात लुकाईलुकाई हिंड्थे, म अलिकति सचेत थिएँ। नभन्दै मैले अँगालो मारें, प्रचण्डले ग्वाम्म छुरी रोपे।’
२०७४ मा वाम गठबन्धन बनाएर चुनाव लडेका एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता भएको थियो। तर तत्कालीन प्रधानमन्त्री ओलीले ५ पुस २०७७ मा प्रतिनिधिसभा भंग गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–माधव समूहमा विभाजित भयो।
ओलीले आफ्नो समूहको बैठक राखेर केन्द्रीय कमिटी विस्तार गरे भने प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको बैठक राखेर ओलीलाई पार्टीबाट निष्कासन गरेका थिए।