नेपालको राजनीतिक इतिहास धेरै लामो र गहिरो अध्ययनबाट मात्रै संक्षेपिकरण र संकलन गर्न सकिन्छ। यस्तो गम्भीर र महत्वपूर्ण विषयलाई साधारण ढङ्गबाट टिकाटिप्पणी गर्न हुँदैन र सकिन्न पनि। नेपाल यस्तो देश हो, जसको विशेषता भनेकै पहिलो नम्बरमा साँस्कृतिक विविधता हो। भौगोलिक विविधताभित्र साँस्कृतिक विविधता हाम्रो देशको शान र गर्विलो विषय हो।
साँस्कृतिक परिभाषा धर्म संस्कारसँग धेरै जोडिन्छ र अन्य पक्षसँग अलग गराउन खोजिन्छ। यद्यपि संस्कृतिभित्र नै राजनीतिकदेखि सामाजिक, आर्थिक, लैङ्गिक, शैक्षिक, भाषिकलगायत विविध क्षेत्रहरु पनि समाविष्ट भइ अलग गराउनै नसकिने गरी जोडिएका हुन्छन्। त्यसमध्ये पनि लैङ्गिक विषय असाध्यै ठुलो र गहन अध्ययनको, चासोको र उठानको विषय हो। प्रश्न यो हो कि साँस्कृतिक विविधताबाट आएको र व्यावहारिक हिसाबले राजनीतिक रुपमा जोडिएको लैङ्गिकतालाई कसरी व्याख्या गर्ने त?
राजनीति जति चर्चा र परिचर्चा गर्न सजिलो विषय हो, त्यति नै कार्यनैतिक रुपमा मैदानमा उत्रिन कठिन र अन्तरसंघर्षमय खेल हो। त्यसमा पनि हिजोआज निष्ठाको राजनीति कम, अनुशासन र पद्धतिको राजनीति कम र फाइदाको राजनीति बढी देखिन्छ। एक त पुँजीवादी राजनीति जस्तोसुकै व्यक्तिले गर्न सक्ने र भिड्न सक्ने राजनीति हुँदै होइन, अर्को लैङ्गिक रुपमा राजनीति सापेक्ष छँदै छैन। राजनीतिको विकासभन्दा पहिला नै सृष्टीको विकास भएको हो। सृष्टीको विकास हुने क्रममा महिला र पुरुष अर्थात पुलिङ्ग र स्त्रीलिङ्ग छुटियो।
विस्तारै मानव समाजलगायत अन्य प्राणीहरुको समाज विकास हुँदै गयो। मानव समाज गतिशिल हुँदै विकासको परिणामस्वरुप आजको अवस्थामा आएको हो। यसरी समाज विकास हुने क्रममा महिलाहरुको कार्यभार असाध्यै घरव्यवहारमा जोडियो। हुन पनि महिलाको काँधमा घरसारको कामधन्दा गर्नेतर्फ र बच्चा जन्माउने, हुर्काउने, लालनपालन र पोषण गर्नेतर्फ सृष्टिले नै जिम्मा दिएको जस्तो पनि देखिन्छ भने त्यसलाई माध्यम बनाएर पुरुषप्रधान समाजले महिलालाई कहिल्यै फुर्सद नमिल्ने गरी बन्धनमा पार्ने कार्य पनि गरियो।
एकातर्फ विज्ञान र प्रविधिको विकास नहुनुले परिवार नियोजनको विकास नहुँदा महिलाहरु बच्चा जन्माउने साधन मात्र भए भने अर्कोतर्फ महिलाहरुलाई उमेर नै नपुगी विवाह गर्दिने गरेपछि लगतै बच्चा जन्मिने, बच्चाहरु वृद्धावस्थासम्म जन्माइरहनुपर्ने र घरभित्रको काममा मात्रै सीमित हुनुपर्ने भयाे। साथै शिक्षालय नै जान नपाउने जस्ता अति क्रूर प्रावधानहरुले अन्धकारमा त बस्नु नै पर्यो भने त्यस्तो अन्धकारमय जिन्दगी अनि नेपाल जस्तो पिछडिएको देशमा साँच्चिकै महिलाहरु राजनीतिमा प्रवेश गर्न सक्थे त? हिजो ती अँध्यारा दिनहरुमा त कुनै कुरै नगरौँ, आजको प्रविधिले छोएकै समाजमा पनि विशेष गरी राजनीतिमा महिलालाई सक्रिय हुन निक्कै गाह्रो छ।
हुन त राजनीति न पुरुष न महिला, न धनी न गरिब, न ठुलो न सानो, न कालो न गोरो, न बाठो न लाटो कसैलाई पनि सजिलो क्षेत्र होइन र छैन पनि। सजिलो छ भनिन्छ भने त्यो भ्रम र अज्ञानता हो। त्यसमा पनि हजारौँ वर्षदेखिको पुरुषप्रधान समाजमा पछाडि परेको महिलाको सवालमा त्यतिकै सहज र सरल हुने कुरै भएन।
महिलालाई सहनशीलताको प्रतिक मानिन्छ, भद्र र इमान्दारीताको उपनाम दिइन्छ, जननी, माता, आमा, धर्ती, देवी, सुम्निमालगायत आ–आफ्नो समुदाय विशेष मान्यता गरिन्छ। तर पनि महिलाहरु नै किन धेरै पछाडि छन्, किन पुरुष सो सरह अगाडि आउन सकेका छैनन्, महिलाहरु बाहिर निस्किन किन डराउनुपर्ने, राजनीतिमा सक्रिय भएर काम गर्न किन हिचकिचाउनु पर्ने? किन पारिवारिक, सामाजिक रुपमा वातारण तयार नहुने, किन सधैँ घरको घेराभित्र मात्रै सीमित हुनुपर्ने? यस्ता आवाजहरु प्रशस्त छन् र भइरहन्छन्। राजनीति र महिला एकअर्काका अति संवेदनशील विषयवस्तु हुन्। संवेदनशील विषयहरुमाथि व्याख्या र विश्लेषण गर्न पनि त्यतिकै गाह्रो र कठिनाइ छ।
नेपाली राजनीतिमा करिब–करिब प्रजातान्त्रिक आन्दोलनहरुदेखि केही–केही संख्यामा महिलाहरु बाहिरी राजनीतिक गतिविधिमा संलग्न हुन थालेको इतिहास छ। शाहवंशको शासनकाल अघि र पछिका शासन अवधिमा आफ्नै नाता सम्बन्धभित्रका महिलाहरु मात्रै शासक बन्ने स्थिति थियो। राजा महाराजाहरुका परिवारका सदस्यहरुबाहेक अन्य कसैको पनि राजनीतिक उठान हुने कुरै थिएन। पछाडि जब देशमा प्रजातान्त्रिक आन्दोलनको जन्म हुँदै गयो, त्यसपछि यदाकदा महिलाकरु पनि बिद्रोही भएर निस्किन थाले।
महिलाहरुले पनि विभिन्न चरणमा संघर्षका दौरानमा आफ्नो बलिदानी गरेका छन् र नेपाललाई आजको व्यवस्था परिवर्तनको अवस्थामा ल्याउन ठुलो योगदान गरेका छन्। वास्तविक तथ्य यो छ कि राजनीतिमा महिलाहरुको आवश्यकता छ या छैन? राजनीतिले महिलाको योगदानको सम्मान गर्न सकेको छ या छैन्? राज्य सञ्चालनको क्रममा महिलाहरु अग्रगामी मोर्चामा छन् कि छैनन् त? छन् भने कसरी सम्भव भयो, या छैनन् भने कसरी सम्भव भएन त? र हुनुपर्छ कि हुनुपर्दैन भन्ने तथ्यमाथि रहेर परिचर्चा गर्नुपर्ने देखिन्छ। वास्तवमा राजनीतिमा महिलाको आवश्यकता छ, पर्छ र आवश्यक ठानिनुपर्छ। किनकि जब कुनै महिला राजनीतिक रुपमा प्रशिक्षित र संगठित हुन्छिन् भने उनले आफ्नो ल्याकत देश चलाउने दिशातर्फ विकास गर्छिन्।
उनको सपना समाजको नेतृत्व गर्नेसम्म दिशाबोध हुन्छ। त्यो सपनाले उनलाई आफ्नो जीवनमा ठुलो–ठुलो काम गर्न सक्ने हिम्मत, आँट र शक्ति दिन्छ, जसले सदावहार उर्जा भरिरहनेछ। जीवनलाई कसैको साथ सहयोग र संरक्षण बिनै पनि जिउनसक्ने कलाको विकास हुनेछ। यसरी महिला आँट, साहस, योग्यता र उर्जाले भरिपूर्ण भइसकेपछि सृष्टिको अर्को कर्ता पुरुष पनि राजनीतिमा प्रतिस्पर्धी बन्न सक्ने र महिलालाई हेप्न वा दबाउन सक्दैन।
साथै अब्बल र सक्षम महिला पुरुषसहितको संगठनबाट राज्य सञ्चालन पनि सुढृढ र आधुनिक हुने हुँदा राजनीतिमा महिलाको आवश्यकता छ र पर्छ। तर महिलाको सम्मानजनक सहभागितासंगैको राजनीति गर्न के नेपालका सम्पूर्ण राजनीतिकर्मीहरु तयार छन् त? तयार हुनुपर्ने हो कि होइन? सम्पूर्ण आधा अस्तित्व नै ओगट्ने महिलालाई चाहिँ पछाडि पारेर कस्तो खालको राजनीति गरिन्छ त? यो प्रश्न पनि महिला र राजनीतिमा जोडिन्छ नै।
महिला सृष्टिको आधा भाग त हुन् नै तर राजनीतिमा महिलाको उपस्थिति बढाउन र सक्षम महिला राजनीतिमा पुर्याउन निकै कठिन छ र कठिन देखिएकै छ। सक्रिय राजनीतिमा जसरी कुनै पनि पुरुषलाई काम गर्न, हिँड्न, संगठन विस्तार गर्न, वैचारिक दस्तावेज बनाउने, कार्यकर्ता प्रशिक्षित गर्न, भेला, सभा, बैठक, सम्मेलनलगायत कुनै पनि प्रकारको राजनीतिक कार्यक्रम गर्न सजिलो हुन्छ, त्यसरी अर्को व्यक्ति महिलालाई सहज छैन।
बिहान उठ्दादेखि घरधन्दामा लागेको राति नसुत्दासम्म घरघरमै व्यस्त हुनुपर्ने, बालबच्चा रेखदेखदेखि पालनपोषण, स्याहार संहार सम्पूर्णको जवाफदेहिता लिनुपर्ने, पेशा/व्यवसाय पनि सम्हाल्नुपर्ने, व्यवहारिक जीवनलाई पनि संगसंगै डोर्याउनुपर्ने र आर्थिक, सामाजिक, साँकृतिक भौतिक, नैतिक र वैचारिक रुपमा पनि तयार भएर खटिनुपर्ने हुन्छ। यस्ता चुनौतीहरुका कारण नेपालमा मात्रै होइन, संसार भरका देशहरुमा राजनीतिमा महिलालाई निकै चुनौती र अप्ठ्यारो छ। राजनीतिको अर्को पुरक परिभाषा समय पनि हो, समयको सान्दर्भिकतासँगै दाैडमा उत्रिन मानिस सकेन भने राजनीति सफल हुन्न। सक्षम राजनीतिज्ञ हुँदैमा सफल राजनीतिज्ञ हुँदैन।
सफल राजनीतिज्ञ निकै समयको रफ्तारलाई निरन्तर पछ्याउन सक्ने र जीवनका अरु सबै आयामहरुलाई व्यवस्थापन गर्न सक्ने व्यक्ति हुनुपर्छ। त्यस क्रममा महिला कति सक्षम हुन्छिन् र सफल बन्न कति योगदान दिन सक्छिन् भन्ने कुरा थोरै त व्यक्ति विशेषमा पनि भर पर्ने कुरा हो। हरेक व्यक्तिको आ–आफ्नो किसिमको दक्षता हुन्छ, त्यसमा उत्कृष्ट र सामान्य दुवै हुने हुँदा राजनीतिमा सफलता चाहिँ त्यही व्यक्तिले प्राप्त गर्छ, जो उत्कृष्ट दक्षतामा पर्दछ।
अब विद्यालय नै पठाउनु हुन्न, पठायो भने छोरी मान्छे रुख चढ्छन् भन्ने मान्यताले छ्याप्पै छोपेको हाम्रो जस्तो मुलुकमा दक्षतासहितको महिला राजनीतिज्ञ जन्मिनु निकै कठिन कुरा हो। यद्यपि सम्पन्न मुलुकमा भन्दा तुलनात्मक रुपमा हाम्रो देशमा महिलाहरु बढी संघर्षशील, कर्मशील, सहनशील, धैर्यता राख्न सक्ने, काम पनि तोकिएकै समयभित्र पुरा गर्ने इमान्दार, कम चातुर्यता भएका महिलाहरु हुने हुँदा पनि राजनीतिको कोर्षमा पछाडि परेका हुन् भन्ने लाग्छ।
एउटा खुसीको सन्दर्भ यो हो कि हिजोको तुलनामा आज महिलाहरु हरेक क्षेत्रमा सक्रिय हुँदै गएको देखिन्छ। राजनीतिमा पुरुषहरुसंग प्रतिस्पर्धा नै गर्न नसक्ने नभएतापनि आफ्नो भनाइ राख्न सक्ने र संगठन चलाउन सक्ने क्षमतासहित अगाडि आइराखेका छन्। यस्तो संख्या दिनानुदिन बढ्दै गइरहेको र भविष्यमा यसले सकारात्मक परिणाम ल्याउने कुरामा कुनै शंका पनि नरहेको बुझिन्छ।
१०४ वर्षको राणाशासनमा महिलाहरुलाई त्यसै कठिन थियो नै २००७ सालपछि जब प्रजातान्त्रिक व्यवस्था बहाल हँदै गयो, तब लैङ्गिक रुपमा पनि राजनीतिमा १/२ गर्दै संख्या थपिँदै गयो। पटक–पटक व्यवस्थाकै निम्ति संघर्ष गरिराख्नु पर्ने र समानुपातिक/समावेशीकरणसम्बन्धी योजनामा जान नै नपाएको जटिल संकटकालीन परिस्थितिले गर्दा राजनीतिको रेखा सरल र सिधा थिएन, त्यससँगै महिलाहरुलाई अझ बढी संकट र अप्ठ्यारो परिस्थिति आएको थियो।
यद्यपि त्यस्तो परिस्थितिमा पनि नेपाली महिलाले छाती थापेर जेलनेल, भोक-तिर्खा, अपमान केही नभनी राजनीतिक आन्दोलनमा सहभागिता देखाएकै थिए र हजाराैँले बलिदानी पनि दिए। आजको संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था आएपछि शान्तिपूर्ण राजनीतिमा त महिलाको सहभागिता बढ्दै गएको नै छ, तर पनि राजनीति राजनीति नै हो। चाहे आन्दोलनमुखी होस् चाहे युद्धमुखी, चाहे शान्तिपूर्ण होस् जस्तो राजनीतिमा पनि महिलाहरुलाई अरु क्षेत्रका मान्छेभन्दा अलि बढी अप्ठ्यारो हुन्छ।
राजनीति के हो र महिलाहरु सक्रिय हुन सक्दैनन् त भन्दा राजनीति अन्तरसंघर्ष पूर्ण उतारचढाव प्रतिस्पर्धात्मक अभिरल यात्रा हो। जसले दैनिक समय र अन्य आवश्यक व्यवस्थाको व्यवस्थापन गर्दछ, उसले सहभागी हुने क्षमता राख्दछ भने सैद्धान्तिक वैचारिक र दाशर्निक पक्षको पनि घनिभूत रुपमा जानकार व्यक्ति प्रतिस्पर्धी र सफल बन्न सक्दछ।
निरन्तर राजनीतिमा सक्रिय भइ राजनीतिक पद प्रतिष्ठा प्राप्त गर्ने कुरा एउटा हो भने सदावहार नेतृत्वमा र घर्षणबीचको यात्रामा महिलाहरु पछाडि पर्नु स्वाभाविक छ। त्यसैले त महिलाहरु सामाजिक, आर्थिक, भौतिक सबै हिसाबले महिला हुन् भनी राज्यले समानुपातिक समावेशीको पनि व्यवस्था गरेको छ।
हाल आएर धेरै युवा पुस्ताका महिलाहरुले यसको लाभ पनि लिइराखेको देखिन्छ त, अझै पनि इच्छुक र चेतनशील महिला राजनीतिमा पछाडि पनि परेका छन्। आसन्न निर्वाचनमा पनि विगतमा यो व्यवस्था ल्याउन, यो हक अधिकार स्थापित गर्न योगदान पुर्याउने महिलाहरुले नै सहभागी हुने पहिलो हक राख्छन् भन्दा पनि धेरै अतिशयोक्ति भने नहोला।
यद्यपि लैङ्गिक हिसाबले महिलाहरु कमजोर नै छन्, सक्रियताको हिसाबले महिलाहरुलाई अलि असहज नै हुन्छ। आर्थिक हिसाबले सबैभन्दा महिला उत्पीडित छन्। अतः राजनीतिक रुपमा महिलालाई प्रशिक्षित गर्न, संगठित गर्न राज्यले सम्बन्धित प्रदेश, पार्टी संगठन, समाजले घर परिवार र सबै निकायले सहयोग र प्रोत्साहन गर्न आवश्यक छ।
अझै पनि महिलाले उपलब्ध हक अधिकारको उपयोग गर्न सकेका छैनन् भने महिलाहरुले आ–आफ्नो ठाउँबाट जागृत र उत्प्रेरित भएर लाग्नुपर्ने देखिन्छ। अहिलेको भएको व्यवस्था/प्रावधानलाई सकेर फेरि पनि अलिकति भएपनि उत्थान र विकास हुन लागेको महिलाको अवस्थालाई अन्धकारमा धकेल्ने दुश्साहस चाहिँ नगरियोस्।