वास्तविकतालाई छोडेर भ्रममा बाँच्न चाहनेहरु

BreaknLinks
BreaknLinks

वि.सं. २०५२ सालको कुरा हो, त्याे दिन सरकारको बजेट भाषणको दिन थियो। त्यही दिन म नेपालका एक प्रख्यात अर्थशास्त्रीको कार्यालयमा पुगेको थिएँ। त्यहाँ रहेका मान्छेहरु भर्खरै सकिएको बजेट भाषणबारे तर्क वितर्क गर्दै थिए। ती बौद्धिक व्यक्तिहरु के भन्दै थिए, मेरो दिमागमा पट्टकै घुसेको थिएन। कुराको अन्त गर्दै एक व्यक्तिले भने, ‘सबै ठिक छ तर पेमेन्टमा ब्यालेन्स् नभएको कारण समस्या उत्पन्न हुन सक्छ।’

ती मान्यवरले यो कुरा कुन सन्दर्भमा भनेका थिए, त्यो मैले बुझ्ने कुरा भएन तर उनको त्यो सम्वाद मैले तुरुन्तै कण्ठ गरेँ ‘पेमेन्टमा ब्यालेन्स् छैन’। त्यसको साँझ घर नजिकको चिया पसलमा जम्मा भएर मान्छेहरु नयाँ बजेटले रक्सी र चुरोटमा मूल्य बढेको कुरामा बिलौना गरिरहेका थिए। कुरै कुरामा मैले पनि प्वाक्क ‘यस्तो झुर बजेट पनि हुन्छ ? पेमेन्टमा ब्यालेन्स् नै छैन’ भनिदिएँ। सम्भवत आत्मविश्वासका साथ् अंग्रेजी शब्द राखेर बोलेको कारण सबैले मलाई पनि अर्थशास्त्री नै सम्झे र त्यहाँ रहेका सबैले खुसी हुँदै हो मा हो मिलाए। वास्तविक कुरा के हो भने त्यो पेमेन्टमा ब्यालेन्स् नभएको कुरा मैले आजसम्म राम्ररी बुझेको छैन।

माथिको प्रसंगमा त्यहाँ रहेकाहरुले पङ्तिकारलाई अर्थशास्त्र बुझेको सम्झे पनि पङ्तिकारले कुनै कुरा बुझेर होइन, अरुको कुरा हुबहु दोहाेर्‍याएकाे मात्रै थियाे। हाम्रो समाजमा पनि त्यस्तै अरुको कुरा दोहार्‍याएर अरुको अगाडि बढो बौद्धिक बनेका पात्रहरु धेरै छन् र हामी त्यस्ता नक्कली बौद्धिकहरुलाई सक्कली ठान्ने भ्रममा छौँ। मेरो अनुभवमा कसैलाई कुनै कुरा सोध्यो भने त्यसले यो कुराको बारेमा मलाई थाहा भएन भनेर भनेको सुनेको छैन। उसले बकम्फुस नै किन नहोस् एउटा न एउटा उत्तर दिएकै हुन्छ वा आफ्नो काका वा मामालाई त्यस बारेमा जानकारी छ भनेकै हुन्छ। अब त्यसको मामा वा काका को हो ? र त्यसलाई कता खोज्न जाने हो ?  त्यो पङ्तिकारलाई भने थाहा भएन।

कुनै सार्वजनिक जीवन भएको नेता, कलाकार वा खेलाडीको बारेमा कसैले कुनै कुरा गर्‍याे भने त्यसलाई व्यक्तिगत रुपमा लिएर झैझगडामा उत्रिनेदेखि लिएर हात नै हालाहाल भएकोसम्म देखिएको छ। केही समयअघि सामाजिक सञ्जालमा राजेश हमाल महानायक हो कि होइन भनेर सबै होहल्ला गरिरहेका थिए। मेरो विचारमा हमाल एक कलाकार हुन् र कसैलाई उनको अभिनय राम्रो लाग्यो भने उनले अभिनय गरेको सिनेमा हेर्ने वा उनको अभिनय राम्रो लागेन भने सिनेमा नहेर्नेसम्म मात्र हो। उनी के हुन् वा होइनन् भनेर आफ्नो मानो खाएर उनको समर्थनमा वा विरोधमा श्रम र धन खर्च गर्नु कुनै पनि कोणबाट उचित हो जस्तो लाग्दैन।

त्यस्तै केही समयअघि नाबालिग बलात्कारको कारण जेल सजाय पाएका अभिनेता पल शाह र हाल त्यस्तै विवादमा मुछिएका क्रिकेटर सन्दीप लामिछानेको बारेमा पनि आफ्नो कुनै काम नभएर हो वा भएको काम छोडेर हो एक थरि दोषी भएको र अर्को थरि निर्दोष भएको भनेर कुर्लिरहेका छन्। सिनेमामा नृत्य गरे पनि दिनभरि बललाई यता र उति फाले पनि देशको प्रचलित कानुन सबैको लागि बराबर हुने कुरालाई नकार्न सकिँदैन। यदि कानुनअनुसार एउटा निश्चित उमेर कि महिलासँग आपसी समझदारीमै यौन सम्पर्क राखे पनि त्यो बलात्कार मानिन्छ भन्ने छ भने शाह र लामिछाने बलात्कारी नै हुन्। यसको पक्ष र विपक्षमा बहस गर्नुको कुनै तुक छैन। यद्वपी पङ्तिकार कानुनको ज्ञाता नभएको कारण यी घटनाहरुलाई यस्तै वा उस्तै हुनुपर्छ भनेर प्रतिवाद गर्ने हकमा छैन।

गत अमेरिकी राष्ट्रपति चुनावमा आफूलाई महान पत्रकार मान्ने तर वास्तविक जीवनमा फगत एक कुल्लीले डोनाल्ड ट्र्म्पकाे विरुद्धमा र जो बाइडेनको समर्थनमा दुईपैसे अनलाइन पोर्टलमा धाराबाहिक ब्लग लेखे। उनलाई अहिले पनि आफ्नै ब्लगको कारण ट्र्म्प चुनावमा पराजित भएको भ्रम छ। अब तपाईंहरू नै भन्नुस् त्यो नेपालीमा लेखेको ब्लग ले के नै अर्थ राख्यो होला र ? उसैपनि अमेरिकामा नेपाली समाज चुनावको नतिजालाई उलटफेर गर्न सक्ने हैसियत राख्दैन।

अन्तमा, हामी वास्तविकतासँग डराएर हो वा त्यसलाई चुनौती दिन नसकेर हो भ्रममै बाँच्न रमाइलो मान्छौँ। यसमा दुई मत छैन कि वास्तविकतामा भन्दा भ्रममा बाँच्न सजिलो छ। तर, भ्रम टुटेको अवस्थामा हुने पीडाबाट उम्किन भने कठिन हुन्छ। यदि वास्तविकतालाई छोडेर भ्रममा बाँच्ने त्यो आ-आफ्नो रुचिको विषय हो र त्यसबाट निस्किएको पीडादायक परिणामलाई पनि स्वीकार गर्ने आँट सम्बन्धित व्यक्तिकै हुनुपर्छ।

प्रकाशित मिति: : 2022-09-13 18:04:00

प्रतिकृया दिनुहोस्