जनार्दनलाई प्रचण्डकाे जवाफ– तपाईंलाई मैले हुर्काएकाे हुँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री जनार्दन शर्माबीच चर्काचर्की भएको छ।

महासचिव चयनदेखि नै असन्तुष्ट रहेका अर्थमन्त्री र प्रचण्डको अनेरास्ववियु क्रान्तिकारीको अखिल फोर्स घोषणा कार्यक्रममा चर्काचर्की भएको हो।

कार्यक्रममा अगाडि बोल्न चाहेका शर्माले प्रचण्डलाई रोकेर भाषण गर्न मञ्चमा पुगेको देखेर विद्यार्थीहरुले ताली बजाएका थिए। विद्यार्थीहरुको ताली सुनेर शर्माले भनेका थिए, ‘नबजाऊ ताली मलाई तालीदेखि डर लाग्छ, नगर गाली मलाई गालीदेखि रिस उठ्छ।’ 

उनले आफू उपमहासचिव नभई संगठन विभाग प्रमुखको हैसियतमा बोल्न उभिएको भन्दै प्रचण्डसँगको असन्तुष्टि पोखे। 

आफू निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहविरुद्ध समानान्तर कमिटी बनाएको पवन कार्की समूहलाई पार्टीले नरम नीति लिएकोमा समेत उनले असन्तुष्टि पोख्दै नीति र नेतृत्व सही हुनुपर्ने बताएका थिए।

‘हामीले लाइनको कुरा सुनेर संगठनमा निर्णय गर्ने होइन। स्वार्थ पूर्ति गर्न नेतृत्वलाई बहकाउन सक्छन् कसैले। म नीति र नेतृत्वलाई सधैँभरि रक्षा गर्ने मान्छे हुँ। सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायित्व हो’ उनले भने, ‘नीति र नेतृत्व पनि सही ढंगले बढ्नुपर्छ भन्ने मेरो मान्यता हो। म त अध्यक्षको कडा आलोचक पनि हुँ र सबैभन्दा बढी संरक्षक र रक्षा गर्ने मान्छे पनि मै हो।’

पार्टीको नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन अघि बढ्न नसक्ने भन्दै उनले भने, ‘नेतृत्वको कमजोरीको आलोचना गर्नुपर्छ। म त प्रचण्ड कमरेडको कडा आलोचक हुँ, आलोचना गर्छु। आलोचनाले नेतृत्वको रक्षा गर्छ, चाकडीले होइन। 

जनार्दनलाई मैले हुर्काएको हुँ: प्रचण्ड 

प्रचण्डको आलोचना गरेका जनार्दनलाई प्रचण्डले नै हुर्काएको उनले बताए। ‘जनार्दनजीले के बुझ्न जरुरी छ भने उहाँलाई हुर्काउने र सिकाउने नै प्रचण्ड हो’ जनार्दनको कुरालाई कटाक्ष गर्दै प्रचण्डले भने, ‘जनार्दनको रक्षा र विकास गर्न पनि प्रचण्डले मुख्य भूमिका खेलेको छ।’ 

जनयुद्धको तयारी गरेको भन्दै उनले भने, ‘जनयुद्धको नेतृत्व गरेँ, शान्ति प्रक्रिया र संविधान सभाको पनि नेतृत्व गरेँ। संघीय लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरेँ। मेरो लागि त धेरै चीज भएकै छ। मेरो चाहना राम्रा उत्तराधिकारीहरू आउन्,नेतृत्व गरुन्, हाम्रो विरासत र हाम्रो परम्परालाई अगाडि बढाउन ठूलो छातीका साथ अगाडि बढुन् भन्ने हो।’  
 


 

प्रकाशित मिति: : 2022-09-07 16:38:00

प्रतिकृया दिनुहोस्