मेरो श्रीमान पंकज श्रेष्ठ नेपाल प्रहरीमा तीस वर्ष सेवा गरेर अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदबाट अवकाश प्राप्त गरी सेवा निवृत्त जीवन बिताइरहनु भएको अवस्थामा अस्वस्थ हुनु भइ गत असार ३१ गते शुक्रबार दिवंगत हुनुभयो।
सबैभन्दा पहिला त हाम्रो घरको मियो रहनुभएको मेरो श्रीमानको निधनले मर्माहत रहेको हाम्रो परिवारको दुखमा साथ दिनु हुने सम्पूर्ण आफन्तजन र मित्रगणहरुमा परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु। उहाँको निधनपश्चात उहाँको सम्मानसहितको अन्त्यष्टिको चाँजोपाँजो मिलाउन उहाँले सेवा गर्नुभएको संगठन नेपाल प्रहरीले गरेको व्यवस्था र त्यसको लागि हालका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह सावले देखाउनुभएको अग्रसरताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
जीवनको लामो समय स्वास्थ्य समस्यासंग संघर्ष गर्न बाध्य मेरो श्रीमानको निधनको कारण निमोनिया थियो तर उहाँको जीवनमा उहाँले स्वास्थ्य समस्याहरुलाई छायाको रुपमै पाउनुपर्यो। आज उहाँको निधनको पीडा र दुखको समयमा म चाहिँ उहाँले भोग्नुभएको दुखद यथार्थलाई स्मरण गरिरहेको छु।
मैले प्रत्यक्ष देखेको र उहाँले भोगेको पीडादायी सत्यतालाई अहिले पनि उजागर गर्न सकिएन भने चाहिँ त्यसले मलाई मात्रै हैन, उहाँको आत्मालाई पनि शान्ति नहोला भनेर त्यसको चर्चा गर्ने जमर्को गरेको छु।
उहाँको स्वास्थ्य समस्याको बारेमा त उहाँलाई चिन्ने जान्ने सबैलाई थाहा छ। तर त्यसको सुरुवात र त्यससंग जोडिएको दुखद यथार्थ चाहिँ धेरैलाई पक्कै थाहा छैन।
कुरो २०५३ सालतिरको हो। दुख-सुखले काठमाडाैँमा घर बनाएर हामीले गृह प्रवेश गर्ने तयारीमा थियौं। मेरो श्रीमानको चाहना थियो कि त्यस समयमा घरका सबैलाई जम्मा गर्ने र सबैको उपस्थितिमा उल्लासपूर्ण रुपमा गृह प्रवेश गर्ने। तर विधिको विडम्वना त्यो तयारी हुँदै गर्दा असार ५ गते हामीले उहाँको बुवाको असामयिक निधनको खबर थाहा पाउनुपर्यो। बुवाको निधनले विक्षिप्त हुन पुगेकाले हाम्रो योजनाअनुसार गृह प्रवेश गर्ने सपना त्यसै टुङ्गियो।
हाम्रो सपनालाई एकातिर पन्छाएर रीतिरिवाजअनुसार बुवाको १३ दिने किरिया गर्न पुर्ख्यौली घर इलाम पुग्यौं। त्यसरी किरिया गर्न इलाममा रहेकै अवस्थामा मेरो श्रीमानलाई युरिक एसिडले सतायो। युरिक एसिडको समस्या गम्भीर भएकोले बुवाको किरिया सक्काएर हामी तुरुन्तै कर्मस्थल काठमाडौँ फर्कन बाध्य भयौं।
रोग पालेर कसलाई पो बस्न मन लाग्छ र? त्यसैले रोग निदान गर्ने लालसाले प्रहरी अस्पतालमा परीक्षण गरायौं। त्यसरी जचाउँदा युरिक एसिडका कारण मृगाैलामा ढुंगा भएको पत्ता लाग्यो। ढुंगा ठुलो भएकोले त्यसले बेला-बेलामा दुःख दिइरहने समस्याले तुरुन्तै ढुंगा फाल्ने सल्लाह दिइयो।
हामीले पनि रोगलाई सञ्चाे बनाउने भनेर प्रहरी अस्पतालका तत्कालीन समयका निर्देशकसहित तीन जनाको टिमसँग राय सल्लाहको लागि भेटघाट गर्ने चाँजोपाँजो मिलायौँ। त्याे छलफलको एक मात्रै लक्ष्य भनेकै उहाँको उपचार नेपालमा नै गर्न सकिन्छ या अरु कुनै देश जानुपर्छ कि भन्ने नै थियो। त्यही विषयमै केन्द्रित भएर नै छलफल गरियो।
त्यस दौरानमा डाक्टरहरुको टिमले मृगौलाको ढुङ्गा शल्यक्रियामार्फत सहजता साथ स्वदेशमै निकाल्न मिल्ने हुनाले देश बाहिर जानु नपर्ने भनेर सल्लाह दिए। स्वदेशमा नै शल्यक्रिया गरेर ९९ प्रतिशत सफल हुन सक्ने भनेर हामीलाई विश्वस्त बनाइयो।
डाक्टरहरुको टिमले भनेको सोही कुरामा विश्वस्त हुँदै तोकिएको मितिमा नै शल्यक्रिया गर्न हामी तयार भयौँ। तर दुर्भाग्यवश हामीलाई दिइएको आश्वासनअनुसार हुन सकेन। अप्रेशनमा संलग्न असक्षम नेतृत्वका कारण उक्त शल्यक्रिया असफल भयो। शल्यक्रियामा संलग्न ती चिकित्सकहरुले न ढुंगा निकाल्न सफल भए, न शल्यक्रिया पछाडि सिलाइ गर्न नै। ढुंगा निकाल्नुको साटो मृगौला नै निकालेर पो हामीले देखाइयो। शल्यक्रिया पछाडि सिलाइसमेत राम्रो नगरिदिएको कारण महिनौँसम्म अस्पतालमा बस्नु पर्यो।
शल्यक्रियामा संलग्न ती डाक्टरहरुलाई त त्यस असफलताले त केही असर गर्ने कुरै भएन तर हामीलाई चाहिँ त्यसले दुखद अध्यायको आरम्भ गरायो। त्यसबेला शल्यक्रियाको नाममा हामी बलिको बोको हुन पुगेको दुखद अनुभव गर्न बाध्य भइयो। विश्वास गरेको डाक्टरहरुले नै ठुलो खेलवाड गरेको देख्दा त्यस्तो गर्ने जालीहरुलाई त फाँसीको सजाय पनि कम हुन सक्ने अनुभव भयो।
त्यही समयमा भएको असफल शल्यक्रियाको परिणामले गर्दा रोग निदान हुनुको साटो झन-झन विकराल बन्दै गयो। हामीले भोगेको पीडाको स्मरण गर्दै गर्दा म सोच्छु कि सरकारी दायित्व निर्वाह गर्दै रहेको प्रहरी अधिकृतको शल्यक्रिया त खसी कुखुरा काटे सरह गरेर लापरवाहीपूर्ण रुपमा गरिन्छ भने सर्वसाधारण नागरिकको अवस्था झनै कस्तो होला?
स्वास्थ्य क्षेत्रलाई केवल कमाइ खाने भाँडो बनाएका चिकित्सकहरुले बिरामीहरुलाई स्वास्थ्य लाभ गरिदिने नाममा कहिलेसम्म लुट्ने हुन् भन्ने प्रश्न सधैँ नै मेरो मानसपटलमा आइरहेको छ। हुन त असफल शल्यक्रियाको त्यो त्राशदीपूर्ण समय बितेको धेरै भयो तर समयले जति नै कोल्टे फेरे पनि उत्तरदायित्व बहन गर्न नसकेको त्यो टिमलाई सम्झँदा उपचारका लागि अस्पताल जाने कि नजाने भन्ने त्रास आजसम्म पनि हटाउन सकेकी छैन।
अझै भन्नु पर्दा स्वास्थ्यकर्मीहरुको हेलचेक्र्याइँ र रुष्ट व्यवहारले बिरामीको मनोबललाई कमजोर बनाउँदै लान्छ। सेवा दिने भन्दा नि पैसा कमाउने मनस्थितिले ठूला-ठुला भवन निर्माण गर्ने र लागत उठाउन बिरामी तथा बिरामीको आफन्तहरुलाई विभिन्न किसिमको रिपोर्टहरु तोकिएको ठाउँबाट नै ल्याउन लगाउँछन्। र, अन्तमा भेन्टिलेटरको नाममा समेत पैसा उठाउने जस्ता घृणित आतंकहरु चिकित्सा क्षेत्रमा भए/गरेको देख्दा, सुन्दा कहाली नै लाग्छ।
दोश्रो भगवानको रुपमा चिनिने चिकित्सकहरुले लगानी उठाउनका लागि सेवा दिने नाममा मानवीयभन्दा दानवीय व्यवहार गरेको देख्दा बिरामी र बिरामीको परिवारहरु ढुक्कसंग जचाउन गएर निर्धक्कसंग बाहिर निस्कने वातावरण खै कहिले बन्ला त? जुनै क्षेत्रमा पनि चिनजानको नभए, पहुँचवाला नभए सहजसंग सेवा लिन नसक्ने अवस्थाको अन्त कहिले होला? कमाउने उद्देश्यले स्थापित अधिकांश अस्पतालबाट सुरक्षितसंग सेवा लिन नसक्ने आतंकको अन्त कहिले होला? यस्तै-यस्तै सवालहरुले मेरो मनमा घर गरिरहेका छन्।
२०५३ सालमा डाक्टरहरुको असक्षमताले असफल भएको शल्यक्रियाको कारणले गर्दा थपिएका अनेकन स्वास्थ्य समस्याबाट आक्रान्त मेरो श्रीमानले रोगहरुसंग लड्दै पनि आफूले पाएको जिम्मेवारी निर्वाह गर्नुभयो। स्वास्थ्य समस्यासंग पैठाजोरी खेल्दै भएपनि प्रहरी सेवामा रहँदा प्राप्त जिम्मेवारीलाई जानेसम्म, बुझेसम्म र सकेसम्म कुशलतापूर्वक निभाउनुभयो।
तर अर्काको कमजोरीले नै भएपनि उहाँले जुन परिणत भोग्दै आउनुभएको थियो, त्यसले उहाँको रोग प्रतिरोधी क्षमतामा स्वाभाविक रुपमा कमी ल्याएकै थियो। त्यसैले गर्दा मृत्युलाई जित्न उहाँलाई गाह्रो भयो। अन्तत: हामी सबैलाई झुक्काउँदै उहाँ यस धर्तीबाट बिदा हुनुभयो।
उहाँले हामीलाई छोडेर गइसक्नुभएको यस घडीमा पनि मलाई लाग्छ कि यदि २०५३ सालमा डाक्टरहरुको त्यो टिमले आफूले गर्न नसक्ने कुरा गर्न सकिन्छ नभनिदिएको भए आज उहाँ हामीसंगै हुनुहुने थियो।
त्यसैले ९९ प्रतिशत रोगको निदान गराउन सकिन्छ भनेर खोक्रो धाक लगाउने र अरुको स्वास्थ्यमा खेलवाड गरिने जुन नियति उहाँले भोग्नुपर्यो, त्यस्ताे कसैले भोग्न नपरोस्। त्यस्तो गर्नु अगाडि डाक्टरहरुले सयपल्ट सोचुन् भन्ने कामना गर्दै मेरो दिवंगत श्रीमानप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।