तीज : बढ्दै उत्ताउलोपन, मासिँदै धार्मिक महत्व

BreaknLinks
BreaknLinks

तीज आयो दिदी लिन जाने होइन र? 

हुनेखाने भइन् दिदी टेर पुच्छरै लाउँदिनन्, 
जाने मात्रै हुन्छ आमा आउँदै आउँदिनन्।

शिरै लाउने शिरफूल बाकसमा राखुँला, 
यो मनको बिरह केमा राखुँला?

यी र यस्तै नारीका व्यथाहरुले भरिएका मौलिकता झल्किने गरी बनाएर गाइएका गीतहरु जति सुने पनि सुनु-सुनु लाग्ने मार्मिक भाकाहरुले कसको पो मन नछोला र? मैले थाहा पाउने भएदेखि दाजुभाइ, दिदीबहिनी र आमाको कथा-व्यथाले भरिएको मौलिकता झल्काउने त्यो तीज पर्व आज कता-कता हराइरहेको देखिन्छ।

तीजमा छोरी माइत आउन नपाउनुको पीडालाई लिएर यथार्थमा बनाइएका तीजका भाकाहरु सुने मात्रै तीजको महत्व थाहा पाउन सकिन्थ्यो। रातो पहिरनमा सजिएर तीजमा निराहार व्रत बस्ने, अघिल्लो दिन माइत गएर दर खाने, माइत जानकै लागि तीज पर्व पर्खनुपर्ने, आफू नफर्किञ्जेल मेलापात, घाँसदाउराको व्यवस्था मिलाएर मिठो-मसिनो बोकेर माइतीमा जाने चलन आहा कति सुहाउँदो हो।

तीजकाे रमझम छ। दिदीबहिनी रातो पहिरनमा सजिएर छमछम नाच्न तयार छन्। तर कता हो कता खल्लोपना पनि बढिरहेको देखिन्छ। माइत जान पाइन्छ, बाआमा, दाजुभाइ, दिदीबहिनी सबैलाई देख्न पाइन्छ, आमासँगै दुःख बिसाउन पाइन्छ, आमाको हातले बनाएको मिठो-मसिनो खान पाइन्छ भनेर माइतीमा हिँडेकी चेलीको त्यो खुशी आजभोलि बिरलै देख्न पाइन्छ। तीज पर्व भन्नासाथ चेली-माइती भेटघाट गर्ने, रमाइलो गर्ने, सुखदुःख बिसाउने पर्वका रुपमा बुझिँदै आएकोमा विस्तारै यसको अर्थ र परिभाषा पनि बदलिँदै गएको छ।

परम्परागतदेखि भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्यमा कुनै बाधाअड्चन नहोस् भनेर पहिलो व्रत राखेकी थिइन्। जुन दिन हरितालिका तीज थियो, त्यसपछि आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउँदै आएका छन।

तीज पर्व नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान, मनोरञ्जनसमेत गर्ने गरिन्छ। यो पर्व भारतका केही ठाउँ र नेपालभर मनाइन्छ। माइतीले (बाबुआमा, दाजुभाइ) आफ्नी छोरी/चेलीलाई घरमा बोलाएर मीठा-मीठा परिकार खुवाउने र सुखदुःख बाँढेर एकैसाथ बस्ने चलन छ।

विशेषगरी महिलाहरुको धार्मिक, सांस्कृतिक महत्वको रुपमा लिइने तीज एकअर्काको देखासिकीकै कारण भड्किलो र खर्चिलो बन्दै गएको छ। पौराणिक कालदेखि चलिआएको पर्वमा परम्परा बदलिँदै गएकोमा बुढापाकाहरुमा समेत चिन्ता बढ्दो छ। तीजमा स्वतन्त्रता र आधुनिक समाजको नाउँमा तीजको महत्वलाई बिर्साउँदै जाने वातावरण बनिरहेको छ।

पछिल्लो समय तीजलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक परम्परा हो। जसको महत्व बेग्लै छ। जसले आफ्नो जन्मदिने आमाबुवा, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइ घरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीजलाई लिइन्छ।

के गाउँ, के सहर! महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बसिने यो पर्व पश्चिमेली शैली मिसिन थालेको छ। जसको कारण तीज खर्चिलो र भड्किलो मात्रै होइन, संस्कृतिमाथिको भद्दा मजाक पनि बनिरहेको छ। अझ सहरी क्षेत्रहरुमा भड्किलोपन बढ्दै छ। संस्कार र संस्कृतिलाई गिज्याइरहेको अहिलेकाे तीजले गाउँ-सहरमा विकृति निम्त्याइरहेको छ।

हिजोआज सामाजिक सञ्जालमा समेत एकअर्काको सिको गर्दै छाडापन बढ्दो छ। हरितालिका तीजको रौनक सहर–बजारमा मात्र होइन, गाउँ-गाउँमा पनि फैलिइसकेको छ। तर सँगै विकृति पनि मौलाउँदै गएको छ। दर खाने बहानामा अत्यधिक खर्च गर्ने र भड्किलो बनाउने, गरगहनाकाे प्रदर्शन गर्ने र हप्तादिनदेखि मिष्ठान्न भोजन, पेयपदार्थ सेवन गरी मनोरञ्जन गर्ने परिपाटीको विकास भएको छ। याे एउटा गम्भीर सामाजिक समस्या बनेको छ। पश्चिमा संस्कृतिको सिकोले दिदीबहिनीहरुबीचमा रहेको माया, सद्भाव, सहयोग, साथीत्व, सहिष्णुता, आदर सम्मान र सम्बन्धमा दरार ल्याउने काम गरिरहेको छ।

केही कलाकारहरूको तीज पर्व नृत्यमाथिको भद्धा मजाक र संस्कृतिमाथिको तिखो प्रहारकै कारण आजभोलि सामाजिक सञ्जालमा विरोध र आलोचनाको ओइरो लाग्छ। हामी सचेत छौं। थाहा पाउँछौ तर पनि आफ्नो संस्कृतिमाथि आफैँ प्रहार गरिरहेका छौँ। आधुनिकताको नाउँमा मौलाइरहेको विकृतिविरुद्ध हामी सचेत र सजक रहनु पनि आवश्यक छ।

धार्मिक महत्व बोकेको तीज पर्वलाई हामीले परम्परागत मान्यता नमर्ने गरी थप परिस्कृत गर्दै लैजानुपर्छ। आधुनिक समाजमा हुर्किएका महिलाहरूले समानान्तर रुपमा यो पर्वलाई उल्लासमय र संस्कारयुक्त बनाउनुपर्छ। तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु भने हुँदैन।

आफूलाई आधुनिक र सहरिया मान्ने महिलाहरू होटलमा भेला भएर पार्टी आयोजना गर्छन् र लठ्ठिने गरी मदिरामा डुब्छन्। तीजका नाममा भित्रिएको यो सबैभन्दा नराम्रो पक्ष हो। त्यति मात्रै होइन दरको नाममा महिनौँदेखि रमाउन थालेका छन्। विभिन्न फेसनमा सजिनुपनि एक किसिमको विकृति नै हो। यसको सकरात्मक पक्षहरु पनि छन्। नारी विशेषको यो पर्वमा आएको परिवर्तनको पनि ख्याल गर्नुपर्छ।

गाउँ-सहर जतासुकै होस् आधुनिकतामा ढलेपनि यसकाे महत्व खस्किएको छैन। तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ। दर खाने प्रचलन पनि धार्मिक संस्कारयुक्त नै हुन्छ। तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ। त्यस्तै पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो। आधुनिकताको नाममा संस्कृतिलाई मेट्नु हुँदैन भन्ने तर्क हो।

तर गीत संगीतमा समेत विकृतिको जालो लागिसक्यो। पहिलेका तीज भाकामा मौलिकता झल्किन्थ्यो। छोरीचेली माइत जान नपाउँदाको पीडा समेटिएको हुन्थ्यो। हिजोआज त ती सबै भाकाहरु दुर्लभ भइसकेका छन्। नाचगानका लागि जम्मा भएको बेलामा रचेर गाइने गीत, मेलापात जाँदाको गितले तीजको स्वभाव बढाउँथ्यो, आजभोलि ती मार्मिक पुराना गीत गाउँघरमा सुनिँदैनन्।

घरको आँगनको डिलमा गाउँभरिका लागि लालटिन, सोलार र दियालोको उज्यालोमा रातभर तीजका गीत मादलको तालमा नाच्ने गाउने दिनहरु हराए। अहिले त रिमिक्स भाकामा उत्ताउलो नृत्यले सामाजिक सद्भाव भड्काइरहेको छ। आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गर्ने तीजको महत्वलाई बचाई राख्न सबैमा कर्तव्य बोध हुनुपर्ने देखिन्छ। 

उबेला चुल्हो-चौको घरको कामकाजमै अल्झिएका अधिकांश महिला अहिले मन खोलेर रमाउन थालेका छन्। परिवर्तनशील समाजमा गाउँका टोलटोलमा समूह बनाएर एक महिनाअघिदेखि नाचगान र खानपिनका कार्यक्रम सञ्चालन गरिन्छन्। विवाह गरेर गएकी महिलाले आफ्ना भोगाइ अभिव्यक्त गर्न तीज गीत गाउने परम्परा रहेपनि आजभोलि तीजका गीतले शब्द, संगीत, भाका कुनै पनि पक्षमा त्यो मर्म बोक्न सकेका छैनन्।

तीजलाई भड्किलो र उत्ताउलो बनाएपनि परम्परागत मान्यताअनुसार परिस्कृत गर्दै लानुपर्छ। पछिल्लो पिँढीले तीजमा खर्चिलो र भड्किलो क्रियाकलापले गर्दा धेरै विकृतिहरु देखिन्छन् र आजभोलिको तीजमा सभ्यता हराउँदै र विकृति मौलाउँदै गएको छ।

नारीहरुको महान् पर्वका रूपमा लिइने तीज तीज जस्तै बनोस् । संस्कृति, परम्परा र रीतिरिवाजमा छाडा र उत्ताउलोपनाको अन्त्य होस् । आधुनिक गीत संगीतसहितको महँगा फेसन र गरगहनाको प्रतिस्पर्धा नहोस्। आम नेपाली दिदीबहिनीहरुमा हरितालिका तीज पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना!

प्रकाशित मिति: : 2022-08-30 17:50:00

प्रतिकृया दिनुहोस्