बाबा मलाई हजुरको खल्तीमा भएको चकलेटले लोभ्याएन,
मोटो पर्सभित्रको रुपैयाँले पनि कहिल्यै लोभ्याएन,
बरु मलाई त तपाईले भिर्ने रातो झोलाले लोभ्याउथ्यो।
झोला भित्रका राता किताबले लोभ्याए,
मार्क्स एङ्गेल्सदेखि प्रचण्डपथका किताबले लोभ्याए।
बैकलको पेटारामा राखिएको महाभारतको मोटाइले लोभ्यायो।
मलाई उत्तिस र लाली गुराँस अनि साधुचोरको कथाले लोभ्यायो।
तपाईंको झोलामा भेटिएको गोर्कीको 'आमा' देखि
हेगर्डको 'क्लियोप्रेटा' सम्म, छन छानको 'लामो बाटो' देखि
प्रसाइको 'छापामार' सम्म अनि सलिनाको 'पर्दाफास' देखि
वाग्लेको 'पल्पसा क्याफे' हरुले खुब लोभ्यायो।
मलाई तपाईंको राता किताबले मात्रै होइन,
तपाईंको रातो रुमाल, झोलामा खादिएका रातो झण्डा,
राता ब्यानर, खाम भित्रको रातो चिठीले लोभ्यायो।
मलाई रातो रुमालले बेरिएको रातो ग्रीनेडले लोभ्यायो।
मलाई तपाईंको कपालले लोभ्याएन,
मलाई तपाईंको खुट्टामा लक्कुचक्कु खेलले लोभाएन,
मलाई तपाईंको पिठ्यूँ चढाइले लोभ्याएन,
मलाई तपाईंको राता किताब, रातो झोला, रातो रंगको ग्रीनेड,
रातो माइन तार, गोल्डस्टारको डोबहरुले लोभ्यायो।
मैले तपाईंको सेलो पेन र कान्छा अंकलले ल्याइदेको
सिद्दार्थ कापीमा 'कखरा' थोरै लेखेँ हुला,
तर उडेको हेलिकप्टर र बस्तिमा बर्साएको बमगोला,
कम्ब्याट ड्रेसमा सजिएका चित्रहरु खुब कोरेँ।
यी कुराहरुले बढी लोभ्यायो।
बाबा तपाईंले मेरो तोतेबोली सुन्न पाउनु भएन
मैले तपाईंको औँला समातेर आँगनमा तातेताते गर्न पाइनँ
गजबको सम्बन्ध रह्यो धेरै टाढा तर अती प्रगाढ।
समयले उतिबेला तपाईंलाई म बाट टाढा पुर्यायो
समयले यतिबेला मलाई तपाईंबाट टाढा पुर्यायो।
उहिले घर र गाउँबाट तपाईं पाहुना
अहिले घर र गाउँबाट म पाहुना
आफ्नो जीवनको यी कालखण्डमा हामी दुबै पाहुना।