“तपाईंको थेसिसको विषय के हो?” त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अङ्ग्रेजी केन्द्रीय विभागका एक विद्वान्ले मेरो शोधपत्रको प्रस्तावना (प्रपोजल) लिंदै सोधे।
मैले भनें, “दलनमा दलित सौन्दर्यबोध। दलन टेलिशृङ्खला नेपाली समाजमा जातव्यवस्था र त्यसको प्रतिरोधमा आधारित छ। यसअघि यो दृष्टिकोणबाट दलनमाथि शोध गरिएको छैन।”
लगत्तै उनले मेरो प्रस्तावना टेबलमा बजार्दै भने, “जे भने पनि दलितसँग सम्बन्धित विषय त हो नि। यो हुँदैन।”
आँखैअघिको घटना पत्याउन गाह्रो भइरहेको थियो। नेपालकै जेठो विश्वविद्यालयभित्र दलितको विषयप्रति यस्तो आक्रोश? नजिकै रहेका मेरा सुपरभाइजरलाई हेरें। उनी मौन थिए।
अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्न कीर्तिपुर आउँदा आम विद्यार्थीमा जस्तै ममा पनि परीक्षा पास गर्नेभन्दा अरू सपना थिएन। बिस्तारै सामाजिक न्यायप्रतिको चेत भएका साथीहरूसँगको सङ्गतले यस्ता सवालहरूमाथि चासो बढ्न थाल्यो।
त्यो २०६८ साल ताकाको कुरा थियो, जुन वेला कालिकोटका मनवीर सुनार चुरोट सल्काउन चुलो छोएको निहुँमा निर्घात कुटपिटबाट मारिएका थिए। जुन समय छोराले अन्तरजातीय विवाह गरेपछि दैलेखका सेते दमाईंको हत्या भएको थियो।