अमेरिकामा विद्यार्थी ऋण मिनाहा घोषणा, बाइडनको चुनावी वाचा पूरा

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकी राष्ट्रपति जो बाइडनले विद्यार्थीको ऋण मिनाहा गर्ने आफ्नो चुनावी प्रतिवद्धता पूरा गरेका छन्। बुधबार दिउँसो ह्वाइट हाउसबाट राष्ट्रको नाममा सम्बोधन गर्दै  उनले एक लाख २५ हजारभन्दा कम आम्दानी हुनेको १० हजार डलर विद्यार्थी ऋण मिनाहा गर्ने घोषणा गरे। घोषणाअनुसार पेल अनुदानमा कलेज गएकाले २० हजार डलर विद्यार्थी ऋण मिनाहा पाउँनेछन्।

उनले विद्यार्थी ऋणको भुक्तानी स्थगन बढाएर डिसेम्बर अन्तिमसम्म पुर्याएका छन्। अण्डरग्रयाजुएट संघीय ऋण भएकाले मासिक आम्दानीको ५ प्रतिशत मात्र भुक्तानी गरे हुने भएको छ। यसअघि १० आम्दानीको १० प्रतिशत तिर्नुपर्ने व्यवस्था थियो।

नोभेम्बर ८ मा हुन लागेको  मध्यावधि चुनाव नजिकिदै गरेको बेला आएको घोषणालाई लिएर अमेरिकामा मिश्रित प्रतिक्रिया मिलेको छ। रिपब्लिकनहरूले करदाताको पैसामा मनमौजी निर्णय गरेको आरोप लगाउँदै यसको बिरोध गरेका छन्। उता, कम्तिमा पनि ५० हजार विद्यार्थी ऋण मिनाहाको पक्षमा वकालत गरिरहेका उदार तथा प्रगतिशील डेमोक्रेटहरू भन थोरै ऋण मिनाहा गरेको भनेर खुशी छैनन्। 

राष्ट्रपति बाइडनले भने यी दुबै कोणका आलोचनाहरूको जवाफमा आफूले राष्ट्रको ढुकुटी हेरेर अति आवश्यक अमेरिकी जनताको पक्षमा निर्णय गरेको बताएका छन्। उनले आफ्नो निर्णयबाट निम्न तथा मध्यमवर्गीय अमेरिकी जनताको हित हुने भएकाले यस्ता निर्णय लिन आफू पछि नपर्ने बताए। 

चुनावको बेला विद्यार्थी ऋण मिनाहा गर्ने आफ्नो एजेण्डा  आफ्नो जीतसँगै अनुमोदन भएको बताउँदै राष्ट्रपति बाइडनले आफूले त्यो एजेण्डा कार्यान्वयन गरेको बताएका छन्।

यो घोषणाबाट राष्ट्रपति बाइडनको विश्वसनियताको ग्राफ बढ्ने र त्यसबाट मध्यावधी चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेद्वारहरूलाई फाइदा पुग्ने आँकलन गरिएको छ।  

प्रकाशित मिति: : 2022-08-25 01:34:00

प्रतिकृया दिनुहोस्