महिलालाई जीवित बनाएको भन्दै भ्रम फैलाउने पास्टर चर्चबाटै पक्राउ

मृतक महिलालाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक व्यक्ति पक्राउ परेका छन्।

बुटवल बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर कञ्चनपुरका ३५ वर्षीय राजेन्द्र गोतामेलाई प्रहरीले पक्राउ गरेको हो।

गोतामेले मृत्यु भएको भनिएकी महिलालाई जीवित गराएको भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल बनाएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

आरोपित गोतामेलाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।

सोमबार बिहान ९ बजे चर्चमा गइ उनलाई पक्राउ गरेको केसीले बताए। यद्यपि प्रहरीले उक्त भिडियोबारे सोधपुछ गर्दा पुरानो भिडियो रहेको बताएको उनले बताएका छन्। यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सामाजिक सञ्जालमा भाइरल भएकाे भिडियोमा चर्चका पास्टर गोतामेले भुइँमा सुतेकी महिलालाई सन्चो बनाएको र पछि उठेर सरासर हिँडेर नमस्कार गरेको देखिएको छ। गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको’ भन्दै ‘यशुलाई धन्यवाद दिन’ भनेको सुनिन्छ।

प्रकाशित मिति: : 2022-08-24 14:26:00

प्रतिकृया दिनुहोस्