कतार विश्वकप: ज्याला माग्दै विरोधमा उत्रिएका नेपाली श्रमिकलाई कतारद्वारा देश निकाला

विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको कतारले ज्याला नपाएकोमा विरोधमा उत्रिएका नेपालीसहित कैयाैँ देशका आप्रवासी कामदारलाई देशबाट निकाला गरेकाे छ।

कम्तीमा ६० जना कामदारहरूले निर्माण कम्पनी अल बन्दारी इन्टर्न्याशनल ग्रुपको दोहास्थित कार्यालय सामु अगस्ट १४ मा र्‍याली गरेकाे कतारकाे दाबी छ। तीमध्ये कतिपयले सात महिनादेखि ज्याला नपाएको बताइएको छ।

लगत्तै केही कामदार पक्राउ परे भने केहीलाई देशबाट निकाला गरियो। तर स्पष्ट सङ्ख्या थाहा भएको बीबीसीले जनाएकाे छ। इक्वीडेम नामक मानवअधिकारवादी संस्थाका अनुसार त्यसरी निकालिनेमा नेपाल, बाङ्ग्लादेश, भारत, इजिप्ट र फिलिपिन्सका श्रमिक रहेका छन्।

कतारको सरकारले निकालिने कामदारहरूले 'सुरक्षा कानुन तोडेको' बताएको छ।

सन् २०१० मा कतारले विश्वकप फुटबल आयोजनाको अधिकार पाए यता त्यहाँ रङ्गशाला तथा अन्य पूर्वाधार निर्माण तेज भएको थियो। सँगसँगै उसले आप्रवासी श्रमिकहरूप्रति गर्ने व्यवहारमाथि पनि प्रश्न उठेका थिए। अल बन्दारी इन्टर्न्याशनल ग्रुप नामक कम्पनी खासगरि निर्माण तथा इन्जिनियरिङमा संलग्न छ।

अहिले विवादमा परेका श्रमिकहरू विश्वकप तयारीकै निर्माण कार्यमा सामेल थिए वा थिएनन् भन्ने थाहा भएको छैन। आयोजक समितिले यसबारे टिप्पणी गर्न अस्वीकार गर्‍यो। तर बीबीसीलाई दिएको एक विज्ञप्तिमा कतारी सरकारले दोहामा भएको दुर्लभ विरोधमा सामेल केही कामदारहरूलाई जनसुरक्षा कानुन तोडेको आरोपमा पक्राउ गरिएको स्वीकार गरेको छ।

तीमध्ये 'शान्त रहन नसकेका' थोरै सङ्ख्याका कामदारलाई देशनिकाला गरिने बुझिएको छ, जबकी अधिकारवादी संस्थाहरूले चाहिँ केही कामदार कतार छाडेर गइसकेको बताएका छन्। कतार सरकारले विलम्ब गरिएका सबै तलबज्याला तथा सुविधाहरू मर्का परेका श्रमिकहरूलाई तिरिने बताएको छ।

तलब–ज्याला तिरिसक्न उसलाई दिइएको समयसीमा नाघेका कारण अब थप कारबाही हुने बताइएको छ। पछिल्लो घटनालाई श्रमअधिकारबारे विज्ञता हासिल गरेको इक्वीडेम नामक मानवअधिकारवादी संस्थाले सामुन्ने ल्याइदिएको छ।

प्रकाशित मिति: : 2022-08-24 09:48:00

प्रतिकृया दिनुहोस्