घरमा छापा मारिएपछि ट्रम्पले हाले अमेरिकी सरकारविरुद्ध मुद्दा

File Photo
File Photo

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले केही साता अघि सङ्घीय जाँच ब्युरो एफबीआईले उनको निवासबाट कब्जा गरेर लगेका फाइलहरूको न्याय मन्त्रालयद्वारा जारी अनुसन्धान रोक्न न्यायाधीशसमक्ष अनुरोध गरेका छन्।

उक्त मुद्दामा ट्रम्पको टोलीले ती दस्तावेजहरूको सुपरीवेक्षण गर्न स्वतन्त्र वकिल नियुक्त गरिनुपर्ने बताएका छन्।

एफबीआईका अधिकारीहरूले फ्लोरिडास्थित उनको मारा लागो निवासमा छापा मारेर ११ सेट गोप्य फाइलहरू लगेको बताइएको थियो।

ट्रम्पमाथि उनले संवेदनशील दस्तावेजहरूको गलत व्यवस्थापन गरेका आरोपमा अनुसन्धान भइरहेको बीबीसीले जनाएकाे छ।

सोमवार उनका वकिलहरूले 'स्पेशल मास्टर' भनिने तटस्थ वकिलको माग गरे जसले ती कब्जा गरेर लगिएका दस्तावेजहरू ट्रम्प राष्ट्रपति भएका बेला उनलाई प्राप्त कार्यकारी विशेषाधिकारबमोजिम थिए कि भनेर हेर्नेछन्।

त्यस्तो विशेष अधिकारले राष्ट्रपतिहरूलाई उनीहरूले गरेका कतिपय सञ्चार गोप्य राखिराख्न अनुमति दिन्छ।

विशेषगरी आपराधिक मामिलाहरूमा कुनै प्रमाण वकिल-सेवाग्राहीबीच हुने विशेषाधिकारले संरक्षित गरेको छ कि भनेर हेर्न स्पेशल मास्टर नियुक्त गरिन्छ। त्यस्ता संरक्षणप्राप्त प्रमाणलाई अदालतमा पेश गर्न सकिन्न।

न्याय मन्त्रालयका अधिकारीहरूले एक संक्षिप्त विज्ञप्ति जारी गर्दै ट्रम्पले हालेको मुद्दाबारे अभियोजनकर्ताहरू जानकार रहेको र त्यसबारे अदालतमै जबाफ दिने जनाएको छ।

'ट्रम्पको निवास मारा लागोमा छापा मार्न सङ्घीय अदालतको अनुमति लिइएको,' प्रवक्ता एन्थोनी कोलीले बताएका छन्।

प्रकाशित मिति: : 2022-08-24 06:10:00

प्रतिकृया दिनुहोस्