२०७४ मंसिर २ गते गोरखाको पालुङटारमा आयोजित चुनावी सभामा पुराना वामपन्थी नेता देवी ओझाले तत्कालीन वाम गठबन्धनबाट प्रधानमन्त्रीमा दाबी गर्नेहरूको लर्कोप्रति कटाक्ष गर्दै एउटा किस्सा सुनाएका थिए–
म भर्खर झापाबाट यहाँँ आउँदैछु । झापामा केपी ओलीको क्षेत्रमा पुगें । त्यहाँ भावी प्रधानमन्त्री भनेर ओलीलाई भोट मागिँदैछ । बाटोमा आउँदै गर्दा साथीहरूसँग कुरा गरेको काठमाडौं– २ मा माधव नेपालका सहयोगीहरूले पनि भावी प्रधानमन्त्री माधव नेपाल भनेर भाषण गर्नुभएको रहेछ । चितवनमा पुगेको भावी प्रधानमन्त्री भन्दै प्रचण्डलाई भोट माग्दै गरेको देखें । चितवनबाट यहाँ आउँदै गर्दा मेरा पुराना साथी वामदेवको क्षेत्रमा के छ भनेर फोनमार्फत यसो बुझेको, बर्दियामा पनि भावी प्रधानमन्त्री भनेर भोट मागिएको रहेछ । काठमाडौं– ५ मा ईश्वर पोखरेलले पनि भावी प्रधानमन्त्री भनेर भोट मागिरहेका छन् । उनीहरूलाई कसैले बताइदिनु पर्यो, नेपालको संविधानमा एकजना मात्र प्रधानमन्त्रीको व्यवस्था छ ।
ओझाको किस्सा जस्तै ‘वाम लोकतान्त्रिक गठबन्धन’मा अहिले भावी प्रधानमन्त्रीको सूची लामो बन्दै गएको छ । चुनावको मिति घोषणा भएसँगै नेताहरूले आफूलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने गरेको पाइन्छ ।
चुनाव जितेमा आफ्नो क्षेत्रको नेता प्रधानमन्त्री बन्छ र विकास हुन्छ भनेर मतदातालाई मनोवैज्ञानिक प्रभावमा पार्न पनि नेताहरूले चुनावमा जाँदा आफूलाई प्रधानमन्त्रीको रूपमा प्रोजेक्सन गर्ने गरेको पाइन्छ ।
आगामी मंसिर ४ गतेको निर्वाचनपछि प्रधानमन्त्री बन्न रहर गरेका आधा दर्जनभन्दा बढी आकांक्षी छन् ।
पाँचपटक प्रधानमन्त्री बनिसकेका शेरबहादुर देउवादेखि राजनीतिमा डेब्यु गरेका रवि लामिछानेसम्मले प्रधानमन्त्री बन्ने सपना देखेका छन् । उम्मेदवारी घोषणाको दिनसम्म संख्या बढ्ने भएपनि तत्कालका लागि ७ जना नेताले आगामी निर्वाचनपछि प्रधानमन्त्री पद ताकेका छन् । यसका लागि नेताहरूले देशभित्र र बाहिर पनि लाइन मिलाउन शुरू गरेका छन् ।