घरमा छापा मार्न जारी पुर्जी सार्वजनिक हुनेबारे डोनल्ड ट्रम्पले प्रतिवाद नगर्ने

अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले यसै साताको सुरुवातमा एफबीआई अधिकारीहरूलाई आफ्नो निवास मार-ए-लागोमा छापा मार्न जारी गरिएको पुर्जी सार्वजनिक गरिनु पर्ने अमेरिकी सरकारको निर्णयको प्रतिवाद नगर्ने बताएका छन्।

एक विज्ञप्तिमार्फत ट्रम्पले आफूले यस मामिला 'छिटो पार लगाउन' चाहेको जनाए। यद्यपि, उनले आफ्नो घरमा खानतलासी गर्ने कार्य अनावश्यक र राजनीतिक स्वार्थले प्रेरित भएको भन्ने धारणा दोहोर्‍याएका छन्।

अमेरिकी न्यायमन्त्रालयले फ्लोरिडास्थित एक अदालत समक्ष छापा मार्ने अनुमतिको लागि जारी गरिएको पुर्जी सार्वजनिक गर्ने दुर्लभ आग्रह गरेको छ।

उक्त आग्रह स्वीकार भएको खण्डमा पुर्जी सम्बन्धी कागजपत्रहरू सार्वजनिक रूपमा उपलब्ध हुनेछन्। 

त्यसले सोमवार ट्रम्पको फ्लोरिडास्थित घरमा तलासी गर्नुको कारण प्रस्ट्याउने छ। के कारणले छापा मार्न खोजिएको हो भन्ने बारे हालसम्म रक्षा मन्त्रालयले केही पनि खुलाएको छैन।

एफबीआईको छापा पूर्व अमेरिकी राष्ट्रपतिले अभिलेख गरिएका विवरण र गोप्य दस्ताबेजहरू ह्वाइटहाउसबाट अन्यत्र लगेकोबारे अनुसन्धानसँग जोडिएको ठानिएको छ।

वासिङ्टन पोस्टले नाम नखुलाएको स्रोतलाई उद्धृत गर्दै पारमाणविक अस्त्रहरूसँग सम्बन्धित कागजपत्रहरू ट्रम्पको मार-ए-लागो घरमा एफबीआईले खोजेकोमध्ये एक दस्ताबेज भएको जनाएको छ।

स्रोतले उक्त पत्रिकासँग खोजिएको दस्ताबेजमा अमेरिकी वा अन्य देशको अस्त्रबारे उल्लेख भए या नभएको भने खुलाएन।

बीबीसीको अमेरिकास्थित साझेदार सीबीएसले स्रोतहरूलाई उद्धृत गर्दै छापा सम्बन्धी पुर्जी 'सीधा र संक्षिप्त' दस्ताबेज भएको जनाएको छ।

त्यसमा उक्त पुर्जी किन जारी गरिएको थियो वा एफबीआईले के चाहेको थियो भन्नेबारे कुनै जानकारी समावेश गरिएको छैन।

यस विषयमा ट्रम्पले आफ्नो सामाजिकसञ्जाल ट्रुथ सोसलमार्फत आक्रोशित प्रतिक्रिया जनाएका छन्।

प्रकाशित मिति: : 2022-08-13 07:40:00

प्रतिकृया दिनुहोस्