जनैपूर्णिमा अर्थात् रक्षाबन्धन पर्व हरेक वर्ष श्रावण महिनाको शुक्लपक्षको पूर्णिमामा पर्दछ। तसर्थ, यसलाई श्रावणी पनि भनिन्छ। यो पर्वमा सनातन धर्मावलम्बीहरूले बिहान सबेरै उठी जलाशयमा गई पञ्चगव्य प्राशन गरी शरीरलाई शुद्ध बनाई गोबर खरानी माटो दतिवन, दुबो आदि विधिपूर्वक लगाई मन्त्र उच्चारण साथ नुहाउँद्छन्।
यसदिन आफ्नो गुरु पुरोहितद्वारा डोरी नाडीमा बाँधिन्छ र पुरानो जनै फेरेर नयाँ लगाउने गरिन्छ अनि ब्रह्माणलाई दक्षिणा पनि दिइन्छ भने तराईतिर यसदिन दिदी-बहिनीले भाइलाई धेरै राम्रो राखी बनाई बाध्ने चलन पनि प्रचलित छ।
स्त्री जाति र अरु जातिले यसदिन खास रक्षासूत्र मात्र बाँध्दछन् जनैपूर्णिमा र रक्षाबन्धनका दिन क्वाटी दान गरी क्वाटी घरमा पकाइ खाने पनि चलन छ, यसबाट वर्षात समयको निमित्त पाैष्टिक तत्व प्राप्त हुनुका साथै वायु शमन भई स्वास्थ्य लाभ पनि हुन्छ।
यो पर्वमा भान्जा तथा ज्वाइँ-चेला, ब्राह्मणलगायतका मान्यजनहरूले रक्षाबन्धन लगाइदिने प्रचलन छ। नयाँ फेरिएको जनै र रक्षाबन्धनले धेरै कुराबाट सुरक्षित राखेर रक्षा गर्छ भन्ने धार्मिक किम्बदन्ती छ।
रक्षाबन्धनका दिन बाँधिएको धागो निकालेर गाई तिहारकाे दिन गाईलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरिदिने चलन पनि छ। हिन्दू परम्पराअनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास रही आएको छ।
जनैपूर्णिमा र रक्षाबन्धनको दिन जुम्लाको दानसाँघु त्रिवेणी, काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड जनकपुरधामको गङ्गासागर तथा धनुषसागर आदि स्थानमा पवित्र स्नान गरी महादेवको पूजाअर्चना गर्न भक्तजनको ठुलो घुइँचो लाग्छ।
सत्ययुगमा दानवबाट पीडित देवगणको रक्षा गर्न गुरू बृहस्पतिले रक्षाबन्धन बाँधिदिएको सम्झनामा जनै पूर्णिमा पर्व मनाइने गरिन्छ। तर, पछिल्लो समय नेपाली समाजमा नयाँ पुस्ताले भने भुल्दै जान थालेका छन्। उनीहरुले कि त जनै लगाउँदैनन कि त सबै बिधि पूरा गर्दैनन्। यसको सामाजिक र धार्मिक महत्व हुँदा हुँदै पनि आज-भोलिका युवाले जनैमा विश्वास गर्दैनन्। यो अत्यन्त दुखको कुरा हो। पश्चिमा संस्कृतिले पनि नेपाली संस्कृतिलाई विस्थापित गर्दै लगेको छ। नेपाली परम्पराअनुसार मान्दै आइएका यी परम्परालाई पछिल्लो पुस्ताले ध्यान दिन सकेको छैन। अगाडिका वर्षमा धुमधमका साथ मनाइने जनैपूर्णिमा आजकाल भने सामान्य जस्तै बनेको छ।
रक्षाबन्धन आधुनिक समाजमा आफ्नै दानवरुपी प्रवृत्तिलाई बाँधेर वा नियन्त्रणमा राखेर त्यसमाथि विजय हासिल गर्ने सांकेतिक पर्व हो। पछिल्लो समय मानव पथभ्रष्ट भएर गएको छ। कुविचार, कुसंस्कार, कुदृष्टिले मानवलाई दानव बनाइरहेको छ। गलत खानपान, रहनसहनले मानिस आफैंलाई नष्ट गर्दैछ। यसरी आफ्नै खराब प्रवृत्तिमाथि नियन्त्रण राख्नका लागि वा त्यसबाट सुरक्षित रहनका लागि रक्षाबन्धन बाँध्ने चलन चलाइएको हो।
रक्षाबन्धन बाँधेपछि मन, वचन र कर्मलाई पनि पवित्र बनाउनुपर्छ। यो आत्मअनुशासनको एउटा विधि पनि हो। सांसारिक बन्धनदेखि छुटकारा लिएर ईश्वरीय बन्धनमा बाँधिने एउटा अवसर हो, यो। रक्षाबन्धन यस्तो सांकेतिक बन्धन हो, जसले मानवलाई नराम्रो काम गर्न, नराम्रो विचार राख्न, नराम्रो चिन्तन गर्न, नराम्रो खानपान गर्नबाट नियन्त्रण गर्छ। हरेकजसो पर्वलाई हामी विजयोत्सवको रुपमा पनि मनाउने गर्छौं।
रक्षाबन्धन पनि मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्वको रुपमा मानिन्छ। सूत्र आत्माको मर्यादा र संयमको प्रतीक हो। सूत्र कुनै पनि वस्तुलाई अविछिन्न गर्ने वस्तु हो। रक्षाबन्धनको अर्थ अविचलित भएर पवित्रताको पालना गर्नु पनि हो। त्यसैले यसको अत्यन्त सामाजिक महत्व रहेको छ।
यस्तो ठुलो चाडबाड जुन तागाधारी (आर्य) ब्राह्मण, क्षेत्रीय, वैश्य आदिले विधिपूर्वक नयाँ जनै फेर्ने साथै सबै अन्य वैदिक सनातन हिन्दूहरूले रक्षा डोरो बाध्ने सनातनदेखि चलिआएको हिन्दू परम्परा मान्न सबै सरकारी कार्यालयहरुमा बिदा दिई धर्म संस्कृति जोगाउने परम्परा भइराखेको छ।
हामीले हाम्रो धर्म, संस्कृति र रीतिरिवाजलाई कहिले बिर्सनु हुँदैन। यस्ता चाडपर्वहरुले हाम्रो समाजमा निकै महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन्। समाजमा मनाइने चाडपर्वहरु ऐना जस्तै हुन्, यसबाट अरुले पनि यो समाज के कसरी बसिरहेको छ भन्ने बुझ्न सक्छन्। पहिले देश अनि कला संस्कृति रीतिरिवाज र चाडपर्वहरू भए हामी निर्धक्कका साथ विश्वमानचित्रमा चिनिन सक्छौ। त्यसैले हामीले मनाउने हरेक चाडबाडहरु तडकभडकका साथ देखावटी रूपमा नभएर परम्परागतरुपमा जसरी मनाइन्छ त्यसरी मनाउन सक्नुपर्दछ।