निहारिकाको चित्कार : के हामी ‘कुमारी आमा’लाई याे देशमा बाँच्ने अधिकार छैन ?

वि.सं.२०७६ मा महोत्तरीकी निहारिका राजपुत भर्खरै कक्षा ११ पढ्दै थिइन्। पढाइ राम्राे थियाे, सबै साथीहरूसँग मिलेर काम गर्ने गर्थिन्। सधैं जस्तै उनी आफूसँगै पढ्ने साथीको घरमा गृहकार्य गर्न गइन्। साविकका दिनहरुमा जस्तै उनी साथीसँगै मिलेर पढ्ने लेख्ने काम गर्दै थिइन्।

साथीको दाइले उनीहरुका लागि खाने कुरा ल्याइदिए, निहारिकाले कुनै शंका नगरिकनै खाइन्। लगत्तै उनी बेहोस् भइन्। केही समयपछि आँखा खुल्दा निहारिकाले आफूलाई जस्तो अवस्थामा पाइन्, उनको होस् उड्यो। उनको शरीर सामान्य अवस्थामा थिएन, शरीर निर्वस्त्र थियो।

हाे, त्यही कक्षा ११ मा अध्ययनरत हुँदा आफू बलात्कृत भएको कहालीलाग्दो कथा मन नहुँदा–नहुँदै पनि सुनाउन बाध्य छिन्, उनी। ‘म १७ वर्षकी थिएँ, साथीको कोठामा पढ्न जाँदा मलाई खानेकुरा दिइयो। मैले खाँए, त्यसपछि म बेहोस भएँ,’ करिब तीन वर्षअघिको कुरा सम्झँदै उनले भनिन्, ‘ब्युँझिँदा निर्वस्त्र थिएँ।’

 

उनले आफूमाथि भएको बलात्कारबारे परिवारलाई सुनाइन् तर परिवारले साथ दिएन, उल्टै अनेकथरि कुरा गरेर आत्माबल घटाउने काम गर्‍याे। त्यसपछि उनले एक्लै कानूनी लडाइँ लड्ने निर्णय गरिन्। आफ्नै साथीको दाइबाट बलात्कृत भएकी निहारिकाले जिल्ला अदालत धनुषामा न्यायको माग गर्दै निवेदन दिइन्। तर, अदालतले २४ माघ २०७८ मा साथीका दाइ शिवराज श्रेष्ठलाई सफाइ दियो।

अदालतले आरोपीलाई सफाइ दिएपछि उनले ०६८ फागुन १२ गते  उच्चअदालत धनुषामा फैसलाउपर मुद्दा दायर गरेकी थिइन्। तर, निहारिकाकाे त्याे मुद्दा अहिलेसम्म पनि विचाराधीन अवस्थमा छ। निहारिका उच्च अदालतले मुद्दाको किनारा नलगाउँदा आफूमाथि थप अन्याय भएको र आफ्नो बच्चाको डिएनए जाँच गरिनुपर्ने माग राख्दै करिब दुई महिनाअघि अनशन बसेकी थिइन्। त्यतिबेला उनलाई दुई सामाजिक अभियन्ताले साथ दिएका थिए।

त्यतिबेला सरकारले न्याय दिने आशा देखाएपछि उनले अनशन ताेडेकी थिइन् तर सरकारले फेरि पनि बेवास्ता गरेपछि उनी अहिले पुन: अनशन बसेकी छिन्। उनले गत शुक्रबारदेखि काठमाडाैँमा अनशन सुरू गरेकी हुन्। उनको आमरण अनशनमा ५ बुँदे सहमति गर्दै गृहमन्त्री बालकृष्ण खाँणले जुस खुवाएका थिए।

तर, निहारिकाले दुई महिना बितिसक्दा पनि न्यायकाे सित्तलता पाउन सकेकी छैनन्। ‘कुमारी आमा’को रूपमा चिनिएकी उनी आफूसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै आमरण अनशन बसेकी हुन्। सरकारले झुठो आश्वासन देखाएर अनशन तोड्न लगाएको र उनको मागलाई बेवास्ता गरेको उनको भनाइ छ।

‘विगतमा मेरा मागहरू पूरा गर्ने झुठो आश्वासन दिएर अनशन तोड्न लगाउने अनि न्यायको माग गर्दा समात्ने ? के हामी कुमारी आमा मर्नु पर्ने हो ? कि हामीलाई बाँच्ने अधिकार छैन ? हाम्रो माग पूरा गर,’ उनले बिएल नेपाली सेवामार्फत सरकारलाई प्रश्न गरिन्। साथीको दाइ श्रेष्ठले बलात्कार गरेर त्यसको तस्बिर र भिडियो समेत बनाएर ‘ब्ल्याकमेल’ गरेको उनको आराेप छ।

घटनाको अनुसन्धानमा सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग रहको छ। दुई वर्षको बच्चासहित आमरण अनशन बसेकी उनी सडकबाटै पक्राउ परेकी छिन्। १७ वर्षको उमेरमा साथीको दाइबाट बलात्कृत भएपछि कुमारी आमा निहारिका राजपुत अहिले न्यायकाे लागि संघर्ष गरिरहेकी छिन्।

तीन दिनदेखि अनशन बसेकी उनी आइतबार न्याय माग्दै सर्वोच्च अदालतअघि पुगेकी थिइन तर उल्टै प्रहरीले बल प्रयोग गरेर पक्राउ गर्‍याे। आफूमाथि भएको बलात्कारको न्यायको माग गर्दै उनी शुक्रबार पनि सिंहदरबार पुगेकी थिइन्, त्यहाँबाट पनि उनलाई प्रहरीले पक्राउ गरेको थियो।  र बच्चालाई समेत जर्बरजस्ती उठाएको थियो।

निषेधित क्षेत्रमा अनशन बसेकाेले पक्राउ गरेकाे प्रहरीले बताएकाे छ। ‘निषेधित क्षेत्रमा ब्यानर बोकेर गएपछि नियन्त्रणमा लिइएको हो। यो सबैलाई अवगत भएकौ कुरा हो त्यसैले हामीले उहाँलाई नियन्त्रणमा लिएका  हौँ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले भने।

यसरी भाेकाे पेट सडकमा प्रहरीसँग पैँठेजाेरी गरिरहँदा उनी कमजाेर बन्दै गएकी छिन्। न्यायको माग गर्दा उनी पटक–पटक प्रहरीकाे ज्यादतीमा पर्नु परे पनि उनी न्यायको आशामा लडिँरहेकी छन्।

निहारिकाले अब आफू न्यायका लागि ज्यान दिन पनि तयार रहेको बताउँछिन्। माग पूरा नभएसम्म अनशन नतोड्ने उनको प्रतिज्ञा छ। ‘म मरे पनि केही छैन तर मेरो छोरा बाँच्नुपर्छ। उसले पाउनुपर्ने अधिकार पाउनुपर्छ,’ गहभरि आँसु पार्दै उनले भनिन्,‘म मेरो छोराको लागि मात्र लडेकी हुँ। मलाई मेरो चिन्ता छैन तर मेरो छोरालाई बचाउनुपर्छ।’

प्रकाशित मिति: : 2022-08-07 18:01:00

प्रतिकृया दिनुहोस्