सामान्यतया स-साना गल्तीका कारण विमान दुर्घटनामा पर्ने गर्दछन्। दुर्घटनामा परी क्षणभरमा सयौँ जनाले ज्यान गुमाउँछन्। तर कहिलेकाहीँ डरलाग्दा दुर्घटनाहरुबाट पनि मानिस बाँच्न सफल हुन्छन्।
सन् १९७२ मा पनि यस्तै एउटा विमान दुर्घटना भएको थियो। जसमा सवार केही यात्रु चमत्कारीक रुपमा बाँच्न सफल भएका थिए।
सन् १९७२ अक्टोबर १३ मा उरूग्वेबाट चिलीको लागि उडेको ‘उरूग्वे फ्लाइट ५७१ फेयर चाइल्ड २२७ डी’ दुर्घटना भयो। जसमा रकबे खेलका खेलाडीहरु खेलमा सहभागी हुन उरुग्वेबाट चिली गइरहेका थिए भने त्यसमा केही खेलाडीका परिवार, समर्थक तथा क्रिउ मेम्बरसहित ४५ जना सवाररत रहेका थिए।
उक्त विमान केही समय अघिदेखि नै भारी वजन तथा पुराना इन्जिनका कारण चर्चामा थियो। खेलाडीहरुलाई जसरी भएपनि ‘सेन्टीयागो’ पुग्नुपर्ने भएकाले उनीहरुले त्यही विमान रोजे। त्यसपछि उनीहरु दुर्घटनामा परे।
कसरी दुर्घटना भयो विमान?
जब विमान उरुग्वेबाट ‘एन्डिज’ पर्वतशृखंला पार गर्दै थियो, पर्वतमा हिमपात हुन थाल्यो। बाक्लो हिमपातका कारण विमानले ‘एन्डिज’ पार गर्न सकेन र विमान पुन उरुग्वे फर्कियो। तर खेलाडीहरु खेलमा सहभागी हुन जसरी पनि चिली पुग्नुपर्ने भएका कारण उनीहरुले अर्काे बाटो जान्ने निर्णय गरे।
यात्रा सुरु भएको केही छिनमै विमानमा झट्का लाग्न थाल्यो। खराब मौसम तथा बाक्लो बादलका कारण पाइलटले विमानस्थल आइपुग्नु अगावै विमान अवतरण गर्न लागे, तर कठिन भौगाेलिक अवस्थाले विमान चट्टानमा ठोकियो र टुक्रियो।
दुर्घटनामा परी विमानमा सवार केही यात्रुको मृत्यु भयो भने केही यात्रु ‘कोमा’मा पुगे। ‘कोमा’मा पुग्ने मध्येका एक खेलाडी हुन्- मान्द्रे। जो आफ्नै मृत साथीको मासु खाएर बाँचेका थिए।
कसरी बाँचे ७२ दिनसम्म?
विमान दुर्घटनापश्चात मान्द्रे कोमामा पुगे। जब दुर्घटना भएको दश दिनपछि उनको होश खुल्यो, उनी पागलजस्तै बने। आफ्नै आँखा अगाडि आमा र बहिनीसहित अरु मानिसहरुको शव देख्दा उनी झन् डराए, तर जे भएपनि हिम्मत नहार्ने र जसरी भएपनि आफ्नो घर फर्किने सोच बनाए।
दुर्घटना भएको केही दिनसम्म त बाँचेकाहरुले विमानमा भएको खानेकुराहरु खाएर बसे। तर जब विमानमा भएका खानेकुरा सकिँदै जान थाले, तब उनीहरुले बाँच्ने आश मार्दै गए। तर मान्द्रे भने हार मान्ने पक्षमा थिएनन्। उद्दारका लागि नआए पनि उनी आफैँ त्यस ठाउँबाट घर जाने पक्षमा थिए।
केही दिनसम्म त उनीहरु भोकभोकै रहे, तर उनीहरुलाई चोटभन्दा भोकले सताउन थाल्यो। न त आत्महत्या गर्न सक्थे, न त भोकभोकै रहन नै।
दिन प्रतिदिन भोकले सताउँदै गएपछि मान्द्रेले विमान दुर्घटनामा मृत्यु भएका मानिसको मासु खान चाहेको बताए। जब उनको यो कुरा त्यहाँ भएका अरू मानिसले सुने, सुरुमा उनीहरु अचम्ममा परे तर उनीहरुसँग अरु कुनै विकल्प थिएन। जसकारण उनीहरु हिउँमा पुरिएका शवलाई निकाल्दै खान थाले।
घटनाको एक महिना बित्यो, मान्द्रेले पनि त्यस ठाउँमा थप अरु दिन बसेमा बाँचेकाहरु पनि बाँच्न नसक्ने थाहा पाए। तत्काललै उनी आफ्ना साथीहरुलाई उद्दारका लागि कुनै सुरक्षित ठाउँमा जानुपर्ने बताए। तर दुर्घटनामा परी घाइते भएकाहरु हिँड्न सक्ने स्थितिमा थिएनन्। त्यसपछि मान्द्रे र अर्काे साथी मद्दत माग्नको लागि त्यस ठाउँबाट हिँडे।
लगातार दश दिन हिँड्दा पनि सहयोगको लागि कुनै सङ्केत नपाएपछि उनीहरु निराश हुन थाले। जब उनीहरु समुन्द्री सतहबाट १३ हजार ८ सय फिट माथि २२ डिग्री सेल्सियस तापक्रममा पुगे, उनीहरुकाे होश हराउँदै गयाे। चिसोकै कारण उनको साथीको पनि मृत्यु भयो।
मान्द्रे एक्लै भए, तर पनि उनी डराएनन्। हिम्मत गर्दै गए। अन्तमा उनले एक गाउँ देखे र त्यहीँ गएर आफ्नो बारेमा बताए।
जब उनीहरुले मान्द्रेको कुरा सुने, तब तुरुन्तै उद्दारको लागि ‘एन्डिज’ पर्वतमा विमान पठाइयो। रिब दुई महिनापछि बाँकी रहेका १६ जनाको उद्दार गरियो। यही घटनामा आधारित रहेर अलाइभ (१९९३) नामक एक सिनेमा पनि बनेको छ। एजेन्सीकाे सहयाेगमा