साउन महिनाको प्रचण्ड गर्मी। त्यही माथि विराटनगर सहर। मध्य दिउँसोको टन्टलापुर घाममा बदाम पोल्न व्यस्त थिए, जामुन महतो। साउनको गर्मी अनि आगोको रापले जामुन असिनपसिन भएका थिए, शरीर भिजेको थियो। विराटनगर-६ का महतोको दैनिकी १० वर्षदेखि यसैगरी चलिरहेकाे छ।
सडकमा बदाम बेच्नु जामुनको बाध्यता हो। उनी ६५ वर्ष पुगे। उनी सधैँ बिहान ९ बजे खाना खाएर ठेलामा सामान लोड गर्छन्, अनि ठेला लिएर रोडमा बदाम बेच्न निस्कन्छन्। दिनभर सकड छेउमा बदाम बेच्छन्, महतो।
चर्को घाम, पानी, आगोको रापमा तातिँदै बदाम बेच्न थालेको दशक बित्यो। ग्राहक कुर्दै, मकै पोल्दै गरेर उनको गुजारा चलाउने खर्च जुट्छ। ‘के गर्नु काम त गर्नै पर्यो। नगरौँ खान पुग्दैन। काम गरौँ आगो र घामले खपिनसक्नु हुन्छ,’ उनी भन्छन्, ‘गरिबीकै कारण सडकमा पीडा सहेर बस्नु परेको छ।’ उनले बदामसँगै फूल उठाएको मकै र भुटेको चना पनि बेच्छन्।
जामुनको घरमा उनकी श्रीमतीसहित दुई छोरा छन्। छोराहरु पनि उनले जस्तै व्यापार गर्छन्। सडक व्यापाराबाटै दैनिक ८ सयदेखि एक हजारसम्म आम्दानी गर्ने जामुनले राम्रोसँग घर खर्च चलाएका छन्। कहिलेकाहीँ त उनले दिनमै दुई हजार कमाउँछन्। मासिक केही बचतसमेत हुने गरेको उनको भनाइ छ।
पहिले फलफूल बेच्ने जामुनलाई सडक व्यवसाय राम्रैसँग फापेको छ। उमेर बढ्दै गएपछि उनलाई भारी हुने काम गर्न सक्दिनँ भन्ने महशुस भयो। त्यसपछि उनले बदामको व्यापार राजे।
‘उमेरले डाँडा काटिसक्यो। गह्रुंगो सामान उचाल्ने शक्ति हराउँदै गयो।’ उनले भने, ‘फलफूल ओसारपसार गर्दागर्दै कमजोरी महशुस हुन थाल्यो अनि त्यो काम छाडिदिएँ।’ उनी अहिले आफ्नो व्यवसाय र आम्दानीबाट सन्तुष्ट रहेको सुनाउँछन्।
उनले आफूले बिक्री गर्ने सामान बिहान विराटनगरकै गुद्री बजारबाट खरीद गर्छन्। बेलुका अबेरसम्म बसेर भए पनि सबै बेच्छन्। भुटेको एउटा पोका बदामको २० देखि ५० रुपैयाँसम्ममा बिक्री हुन्छ। उनले पैसाअनुसारको पोका बनाउँछन्।
कामको दुख त एकातिर छँदैछ, अर्कोतिर विभिन्न निकायबाट पाउने हैरानीले पनि उत्तिकै दिक्क बनाउँछ जामुनलाई। ‘ठेलामा सामान बेच्न सहज छैन। कहिले पुलिसले कराउँछ, कहिले महानगरपालिकाले कराउँछ, कहिले फोहोर भयो भनेर टोलबासीले कराउँछन्,’ महतो दुःखेसो पोख्छन्, ‘कहिले त महानगरले ठेला नै लगिदिन्छ, त्यसबापत पाँच सय रुपैयाँ तिर्नुपर्छ।’
महानगर र प्रहरीदेखि उनी अहिले चलाख भएका छन्। महानगरको गाडी आउनासाथ उनी आफ्नो ठेला सडकबाट हटाउँछन्। वरपर रहेको खाली जग्गामा लैजान्छन्। उनी भन्छन्, ‘नियम कानुन त हामीलाई पनि थाहा छ, सडकमा पो बेच्न पाइँदैन। खाली जग्गामा बसेर बेच्न त पाइन्छ नि!’
विराटनगर आफैँमा अव्यवस्थित सहर हो। हावा चलेको बेला सडक छेउमा धुलोले बसिनसक्नु हुन्छ। एकातिर आगोको रापसँगैको धुवाँ र अर्कोतिर धुलोले उकुसमुकुस बनाउँछ, जामुनलाई। उनलाई बदाम पोल्न सकस पर्छ। जामुन जस्तै विराटनगर अरु फुटपाथमा व्यापार गर्नेहरु पनि धुवाँ–धुलोको उकुसमुकुसमा सास थाम्दै जीवन धानिरहेका छन्।
पछिल्लो समय बढ्दो बेरोजगारी र गरिबीको समस्याले विदेशीनेको लर्को लाग्ने गर्छ। उनका दुई छोराले पनि विदेश जाने रहर गरेका थिए। तर, जामुनले जान दिएनन्। उनले छोराहरुलाई विदेश जान लाग्ने पैसाले आफ्नै ठाउँमा व्यापार गर्न लगाए। उनका दुवै छोरा विराटनगरमै जामुनले जस्तै व्यापार गर्छन्, पैसा कमाउँछन्।
‘अहिले विदेश जान कम्तिमा पनि १/२ लाख पैसा जम्मा गर्नुपर्छ,’ उनले भने, ‘हामीले त्यत्रो पैसा कहाँबाट ल्याउने? ऋण लिएर विदेश जानु भन्दा थोरै लगानीमा आफ्नै देशमा व्यापार गर्दा राम्रो हुन्छ।’ ६५ वर्षीय महतोलाई युवा अवस्थामा विदेश जाउँ लागेन। उनी देशमै बसेर सानोतिनो व्यापार गरिरहे।
‘जहाँ गएर कमाए पनि बिहान बेलुका दुई छाक खानु त हो, त्यसैले विदेश नै जानुपर्छ भन्ने छैन, आफ्नै घरपरिवारसँग बसेर काम गर्न सकिन्छ, जामुन भन्छन्, ‘म यही परिवारसँग बसेर रमाइरहेको छु।’