कांग्रेस जोगाउन सडकमा उत्रियो ‘गान्धी परिवार’, प्रियंकाले बनाइन् माहोल

बिएल संवाददाता

नयाँ दिल्ली
Photo: PTI
Photo: PTI

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अनेकौँ कमजोरी केलाउँदै ‘गान्धी परिवार’ अर्थात् भारतीय कांग्रेस सडक आन्दोलनमा उत्रिएको छ।

सरकार विरोधी प्रदर्शनले कार्यकर्तामा नयाँ जोश जगाउने प्रयास गरिरहेको कांग्रेसका कतिपय नेताहरू बताउँछन्। कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले ‘गान्धी परिवार’लाई विचारधारासँग जोडेर मोदी सरकारमाथि कडा प्रहार गरेका छन्।

मुद्रास्फीति र बेरोजगारीको विरोधमा पार्टी महासचिव प्रियंका गान्धीको प्रदर्शन शैली बेग्लै देखिएको छ। भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले संसद परिसरमा दर्जनौँ सांसदसँगै मोदीविरूद्ध नारा घन्काएकी छन्।

त्यसो त शुक्रबार सिंगो गान्धी परिवार कालो कपडा लगाएर सडकमा उत्रिएपछि कार्यकर्ता पनि उत्तेजित र लडाकु शैलीमा अग्रसर भएका छन्। सोनिया गान्धी र राहुल गान्धीलाई भारतीय वित्तीय अनुसन्धान एजेन्सी ईडीले सोधपुछ गरेपछि नेता–कार्यकर्ता एकजुट बनेका छन्।

भारतीय जनता पार्टीले सत्ता सम्हालेपछि ओरालो यात्रा हिँडिरहेको कांग्रेस पार्टीलाई पुनर्जीवित गर्नका लागि गान्धी परिवार आफै सडकमा ओर्लिएको छ। नेता–कार्यकर्ताहरूले मुख्यालयमा पाल टाँगेर व्यापक प्रदर्शन गरिरहेका छन्।

पूर्वअध्यक्ष राहुल गान्धीले आफ्ना कार्यकर्तालाई प्रधानमन्त्री मोदीविरूद्ध ठूलो वैचारिक लडाइँ लड्नुपर्ने स्पष्ट सन्देश दिएका छन्। खासगरी कांग्रेसको सडक आन्दोलनलाई कतिपयले ‘भारत जोडो यात्रा’का रूपमा चित्रण गरेका छन्।

शुक्रबारको झरी वर्षा छलेर महासचिव प्रियंका गान्धी सडकमा निस्किएपछि कार्यकर्ताको मनभित्र थप उत्साह थपिएको विश्लेषकहरू बताउँछन्। जब प्रियंका प्रहरीसामु उग्र बनिन्, तब कार्यकर्ताहरूले ठूलै स्वरमा नारा गुञ्जियाे– ‘प्रियंका तिमी संघर्ष गर, हामी तिम्रो साथमा छौँ।’

भारतीय कांग्रेसले मुद्रास्फीति र बेरोजगारीको विषय उठाएर मोदी नेतृत्वको हिन्दूवादी सरकारको विरोध गर्दैआएको छ।

प्रकाशित मिति: : 2022-08-06 07:07:00

प्रतिकृया दिनुहोस्