नेपाली कांग्रेस र गठबन्धन

ओम आचार्य

विराटनगर
बीपी काेइराला। तस्विरहरु : मदन पुरस्कार पुस्तकालय।

नेपाली कांग्रेसमा गठबन्धन वीपी कोइराला जीवित रहुन्जेल कांग्रेसले कसैसँग कुनै पनि आन्दोलनमा र राजनीतिक दलसँग चुनावी तालमेल या गठबन्धन गरेन। त्यतिखेरसम्म कांग्रेस अन्य पार्टीको तुलनामा सबल र बलियो थियो।

देशको कुनै पनि राजनैतिक भूमिकामा या आन्दोलनमा कांग्रेस अग्रणी थियो र कांग्रेसकै वरिपरि रहेर अन्य राजनीतिक दलहरू पनि आफ्नो भूमिका र उपस्थिति जनाउन कुनै न कुनै रूपमा आफूलाई सक्रिय गराउँथे। त्यो सक्रियता प्रायः कांग्रेसको विपक्षमा देखिन्थ्यो। तत्कालीन समयमा कांग्रेसको प्रजातान्त्रिक आन्दोलनमा त्यो शक्ति बाधकका रूपमा रहन्थ्यो र त्यही भएर वीपी त्यस्ता शक्तिहरूदेखि टाढा र अलग भएर नै कांग्रेसको छवि बनाउन सफल रहनुभयो।

यहाँसम्म कि बहुदल कि निर्दलको जनमत सङ्ग्रहमा वीपी एक्लै बहुदलको पक्षमा लाग्नुभयो। त्यतिखेर मनमोहन अधिकारीलगायत (मोहन विक्रमबाहेक) बहुदलकै पक्षमा रहे तापनि अन्य राजनीतिक दलहरू कांग्रेसको ठीक विपरीत थिए। धाँधलीपूर्ण तरिकाबाट जनमतको परिणाम विपक्षमा आएपछि अधिकारको आन्दोलन सुरु भयो तर पनि वीपीले परिणाम स्वीकार गरेपछि आन्दोलन स्थगित भयो।

त्यतिखेर कांग्रेसमा अनुशासन र नेताप्रति असिम श्रद्धा र निष्ठा पनि थियो तर अहिले वीपीले बनाएको कांग्रेसको साख अहिलेका पुस्ताले भोगिरहेका छन्। त्यही साखमा आफ्नो इतिहास बनाउन प्रयत्नशील छन् तर त्यो साखलाई अक्षुण राखेर बचाउने भन्दा गिर्दो अवस्थामा पुर्याएको भन्नुपर्ने अवस्था छ।

वीपीको अवशानपछि २०४६ सालमा भएको आन्दोलनमा लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा कांग्रेसले अन्य राजनीतिक दलहरूसमेतलाई सहभागी गराएर आन्दोलन गर्यो। नेपाली कांग्रेसको इतिहासमा अन्य राजनीतिक दलहरूसँग गठबन्धन गरेर गरिएको आन्दोलन अधिकारिक रूपमा सम्भवतः यो नै पहिलो हो। त्यसपछिका समयमा अन्य दलहरू पनि स्थापित हुँदै गए र नेपाली जनतामा परिचित हुँदै गए। त्यो गराउने श्रेय कांग्रेसलाई दिँदा हुन्छ।

लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा त्यतिखेर भएको आन्दोलन पञ्चायती व्यवस्थाबाट आजित भएर तत्कालीन राजशाहीबाट पटक–पटक कांग्रेसलाई धोका दिँदै शासनसत्ता सञ्चालन गरेको कारणबाट कांग्रेसले अन्य राजनीतिक दलहरूसमेतको सहभागितामा आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको हो।

कांग्रेसले आफ्नो नेतृत्वमा गरेको आन्दोलन राष्ट्र हित र राजनैतिक व्यवस्था परिवर्तनको लागि गरिएको थियो। त्यसले राजनीतिक दलहरूलाई एक–आपसमा वैचारिक र सैद्धान्तिक रूपमा फरक भए पनि राजनीतिक व्यवस्था परिवर्तनको लागि एक ठाउँमा उभ्याएको थियो र त्यो कुनै निर्वाचनमा जाने गठबन्धन थिएन। त्यो काम गणेशमान सिंहको नेतृत्वबाट सम्भव भयो तर पनि त्यसको अर्को पाटो के भयो भने अन्य राजनीतिक दलहरू स्थापित हुँदै गए। स्थापित गराउने काम कांग्रेसले नै गर्यो र आफू कमजोर हुँदै जाने अवस्था पनि पैदा भयो।

०६२/६३ को संयुक्त जनआन्दोलनले त मुलुकमा आमूल परिवर्तन नै आयो। राजशाही गयो, मुलुक धर्मनिरपेक्ष भयो र मुलुक सङ्घीय गणतान्त्रिकमा प्रवेश गर्यो र बहुपहिचानमा आयो। यो निश्चय पनि राम्रो थियो। यसले जनताले चाहेको शासन व्यवस्था आयो। यहाँसम्म त ठीक थियो। त्यो पनि कुनै निर्वाचनमा जाने गठबन्धन थिएन। तर, यहाँसम्म आइपुग्दा त अरू राजनीतिक दलहरू पनि कांग्रेसको समकक्षी दलहरूमा आफूलाई स्थापित गराइसकेका थिए।

सशस्त्र आन्दोलनमा लागेको माओवादीलाई पनि १२ बुँदे शान्ति सम्झौताबाट कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले मूलधारमा ल्याए। मुलुकमा माओवादीको सशस्त्र आन्दोलनले विश्राम लियो र सधैँको त्रासदी समाप्त भयो। यो कार्यले मुलुक तहस–नहस हुनबाट बच्यो। अनि देशको राजनीति एउटा व्यवस्थित र स्थिर एवम् दिगो राजनीतिक प्रणालीमा प्रवेश गर्याे। माओवादीलाई कांग्रेसले मूलधारमा ल्याएर स्थापित पनि गर्यो।

यसरी वामघटकहरूकाे यो शक्तिलाई कांग्रेसले वीपीको अवसानपछि स्थापित गराउने, उनीहरूसँग सहकार्य गर्ने, तालमेल गर्ने र गठबन्धन पनि गर्ने प्रक्रिया हुन थाल्यो। यसैको परिणाम पनि गएको प्रतिनिधिसभाको चुनावमा वामघटकहरू कांग्रेसकाे दुश्मन बन्दै अप्राकृतिक गठबन्धन हुँदै पार्टी एक भएर नेकपा बनेर झण्डै दुई तिहाइ ल्याए। प्रतिनिधिसभामा उपस्थित भएर देखाए र एकलौटी सरकार सञ्चालन गरे। कांग्रेस निरिह भयो र प्रतिपक्षीको भूमिकामा पनि आफ्नो दह्रो भूमिका देखाउन सकेन।

तत्कालीन समयमा नेकपा (एमाले) सर्वसत्तावाद र अधिनायकवादतिर उदय हुँदै गयो। संविधान पनि मिच्दै आफ्नो एकदलीय अवधारणामा मुलुक सञ्चालन गर्ने अभ्यास हुन थाल्यो। जस्तोः गुप्तचर विभाग, सम्पत्ति सुदृढीकरण विभागलगायत संविधान परिषद्जस्ता संवैधानिक आयोगहरूमा आफ्नो पकड जबरजस्त राख्यो। अन्ततः वामघटकमा जुँगाको लडाइँ र सत्ताको भोक र त्यसलाई भोग गर्ने चाहनाले एकता भङ्ग भयो। कांग्रेसको नेतृत्वमा सरकार बनाउने अवसर आयो र बन्यो। विचार र सिद्धान्तमा कुरा मिल्ने वामघटकहरूको एकतामा आएको विचलनले यिनीहरू भरपर्दो र विश्वसनीय नभएको देखिन्छ।

गठबन्धन के को लागि र किन?

अहिले नेपालमा दुई प्रकारको गठबन्धनको अभ्यास भएको देखिन्छ। एउटा सरकार बनाउन र अर्को निर्वाचनमा जान गठबन्धन गर्ने, यो अभ्यास मुलुकमा गणतन्त्र आएपछि सुरु भयो। कांग्रेसमा यी दुई कुरामा कुन गठबन्धन गर्ने, यो विषयमा बहस भएको छैन। सरकार बनाउने कुरामा गठबन्धन गर्ने विषय निर्वाचनपछिको स्थिति हो। यो स्थितिमा चुनावी आँकलनमा आफ्नो स्थिति सबल नदेख्दा र आफूमा पूर्ण विश्वास नहुँदा अन्य दलसँग गठबन्धनको कुरा अगाडि बढ्ने हो र अहिले कांग्रेसमा यही अवस्था देखिएको छ। अनि अर्को कुरा गएको निर्वाचनामा वाम एकताले ल्याएको मत परिणामबाट पनि कांग्रेस तर्सिएको कारण वाम एकता रोक्न नै गठबन्धनको आवश्यकता बताउँदै आएको छ। तर, यो कांग्रेसको अध्ययन र विश्लेषण भविष्यमा कति दूरदर्शी हुन्छ, त्यो भविष्यले बताउला।

कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेको अवस्थामा अहिलेका पाँचदलीय गठबन्धनले नै आगामी सरकार बनाउला भन्नेमा पनि त्यति विश्वसनीय आधार देखिन्न। किनभने एउटै विचार र सिद्धान्त भएका वामशक्तिले आफ्नो पार्टी विग्रह गरेर अलग पार्टी बनाइ सरकार बनाउने ध्येयले कांग्रेससँग अपवित्र गठबन्धन गरे भने अहिले कांग्रेस निर्वाचनमा जान गठबन्धन गर्दैछ र भोलि सरकार बनाउने समयमा यी पाँचदलको कांग्रेससँग राजनीतिक स्वार्थ मिलेन भने गठबन्धन नरहन पनि सक्छ। त्यतिखेर एमालेसँग पनि गठबन्धन हुनसक्छ। नेपालमा यस्तै अभ्यास र अभियानको थालनी भएको छ, जुन विकृत र निराशाजनक अभ्यास हो।

त्यतिखेर छिमेकी मित्रराष्ट्र चीनको भूमिका पनि त्यस्तै नहोला भन्न सकिँदैन। अहिले वास्तवमा कुनै पनि राजनीतिक दलले निर्वाचन प्रयोजनको लागि मात्र गठबन्धन गर्नु स्वस्थकर छैन। यस्तो अवस्थाको गठबन्धनले धेरै राजनीतिक विकृति पैदा गर्छ र कार्यकर्तामा पनि सिट बाँडफाँडको विषयमा गठबन्धनको कारण असन्तुष्टि र नैराश्य पैदा मात्रै गर्दैन, त्यतिखेर सबै दलमा अन्तरघात पनि देखिन सक्छ। त्यतिमात्रै हैन, निर्वाचनमा जाने गठबन्धनमा अर्को खतरा पनि के देखिन्छ भने गठबन्धन गरेका दलले आफ्नो पार्टीभित्र पार्टी अध्यक्षले नरुचाएका व्यक्तिलाई साइड लाउने अवसरको रूपमा पनि लिन सक्छन्। सबैभन्दा खतरा त सबै पार्टीभित्र गठबन्धन हुँदा देखिने रोग यो पनि एक हो।

अरू पार्टीको तुलनामा सबैभन्दा खतरा कांग्रेसमा कांग्रेसीले नै देखेका छन्। पछिल्लो समय कांग्रेसमा देखिएको बहस, छलफल, वैचारिक द्वन्द्वले यही पुष्टि गर्छ। जस्तोः चौधौं महाअधिवेशनमा पार्टी सभापतिका उम्मेदवार रहेका डा. शेखर कोइरालाले तत्कालीन समयमा विधि प्रक्रियागत कुरा गर्दैगर्दा ‘हामी भागबन्डाको राजनीति गर्दैनौं’ भनेका उनले ४० प्रतिशत मत ल्याएर उपस्थिति देखाएपछि निर्वाचन नजिकिँदै गर्दा ४०प्रतिशत भागबन्डाको कुरा राखे। अहिले यो कुरा राख्नुपर्ने बाध्यता र आवश्यकता किन पर्यो? जहाँसम्म शेखर समूहमा समेटिएका नेता एवम् कार्यकर्ताहरूको राजनीतिक सुरक्षा र प्रतिरक्षाकै लागि आएको हुन सक्छ। यो अवस्था सायद गठबन्धनको नाममा डा. शेखरलाई र उनको समूहमा समेटिएका नेता एवम् कार्यकर्तामा भोलि अन्याय पनि हुनसक्छ। त्यही आँकलन गरेर डा. शेखरले भागबन्डाको कुरा उठाएको हुनसक्छ।

मैले भन्न खोजेको कुरा नेपाली कांग्रेसले वीपीको अवशानपछि वाम शक्तिहरूसँग सहकार्य, गठबन्धन र चुनावी तालमेलको अभ्यास सुरु गर्यो र त्यहाँबाट कांग्रेसमा वीपी विचार, सिद्धान्त तथा निष्ठामा विचलन देखिन थाल्यो। अनि कार्यकर्तामा पनि चरम नैराश्य, पलायनता र उदासीनता बढ्दै गएर त्यो अन्तरघातको रूपमा विकसित हुन थाल्यो।

समग्रमा भन्नुपर्दा निर्वाचनमा जाने प्रयोजनको निम्ति गरिने चुनावी गठबन्धनले राष्ट्रिय राजनीतिमा राजनीतिक संस्कारको विकास गर्दैन। यसले विभिन्न विकृति पैदा गर्छ। चुनावपछि कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्ने अवस्थामा अन्य दलसँग सरकार बनाउन गठबन्धन गरिने अभ्यास र प्रचलन विश्व राजनीतिमा देखिएको छ।

प्रकाशित मिति: : 2022-08-02 20:33:00

प्रतिकृया दिनुहोस्