म्यान्मार सैन्य सरकारले लम्ब्यायाे थप ६ महिना संकटकाल

बिएल संवाददाता

रंगुन, म्यान्मार
Photo - Stringer/Reuters
Photo - Stringer/Reuters

म्यान्मारका सैन्य अधिकारीहरूले राष्ट्रिय संकटकालीन अवस्थालाई थप ६ महिना लम्ब्याएका छन्।

सैन्य जुन्ता नेतृत्वकाे नेशनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आइतबार यस्ताे निर्णय गरेको हो।

सैन्य काउन्सिलले म्यान्मारमा हाल जारी रहेको संकटकालीन अवस्था थप ६ महिना लम्ब्याएकाे जानकारी दिएका हुन्।

काउन्सिलले म्यान्मारमा आम निर्वाचन गर्ने प्रयोजनका लागि समय आवश्यक रहेको भन्दै त्यसका लागि संकटकालीन अवस्था ६ महिना थप्नुपरेको जनाएको छ। म्यान्मारको संविधानअनुसार संकटकालीन अवस्था बढीमा दुई वर्षसम्म घोषणा गर्न मिल्दछ।

म्यान्मारका कार्यबाहक राष्ट्रपति तथा सैन्य तानाशाही यु मिन्त स्वेले गत वर्षको फेब्रुअरी १ मा एक वर्षका लागि संकटकाल घोषणा गरेका थिए। त्यसपछि यही वर्षको जनवरी ३१ मा यहाँको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले संकटकाल लम्ब्याएको थियो।

म्यान्मारमा प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सैनिकले सत्ता हत्याएको छ। सैन्य सरकारले बहुदलीय प्रतिस्पर्धात्मक आम–निर्वाचन गर्ने तयारी थालेको जनाएको छ। सैन्य 'जुन्ता'विरूद्ध लाखाैँ जनता युद्ध मैदानमा उत्रिएका छन्।

प्रकाशित मिति: : 2022-08-01 14:57:00

प्रतिकृया दिनुहोस्