साढे दुई करोड हत्याउन नक्कली बिहेदेखि योजनाबद्ध हत्यासम्म, अत्यमा सबै सपना चकनाचुर

Breaknlinks
Breaknlinks

मानिसले पैसाको लागि कहाँसम्म पुगेर के–के गर्न सक्छ ? भन्ने एउटा डरलाग्दाे घटना बाहिरिएकाे छ।

शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले एउटा घटना सार्वनजिक गर्‍यो। जसले धेरैको आङ नै जिरिङ गर्दिएको छ। २ करोड ५० लाख रुपैयाँ बीमाबाट रकम हत्याउन मानिस मार्ने र नक्कली श्रीमती खडा गरेर रकम झिक्नेसम्मको कर्तुत घटनामा उल्लेल छ।

घटना बाँकेको कोहलपुर नगरपालिकाको हो।

२०७८ वैशाख २ गते रातिको समयमा बाँके कोहलपुर नगरपालिका– ११ बस्ने २१ वर्षीय सर्जन विकको सवारी दुर्घटना मृत्यु हुन्छ। टोपबहादुर राना क्षेत्रीले चलाएको भे १ ख २४९१ नम्बरको मिनि बसले ठक्कर दिएर सर्जनको मृत्यु हुन्छ।

वैशाख २७ गते जिल्ला अदालत बाँकेमा सवारी ज्यान मुद्दा दर्तामा २५ गते अदालतले फैसला सुनाउँछ। सवारी चालक टोपबहादुर रानालाई ३० दिन कैद र २ हजार जरिवाना ठहर हुन्छ। त्यस्तै सर्जनले चलाएको भे १० प १७२७ नम्बरको मोटरसाइकलका सवारी धनी सरदार अहमद खाँले भने सफाइ पाउँछन्।

सर्जन विकले बीमा गराएका हुन्छन्। सार्वाधिक जीवन बीमा र म्यादी जीवन बापत २ करोड ५० लाख रुपैयाँ उनकी श्रीमतीले पाउँछिन्। २०७८ साउन १४ गते सर्जनकी श्रीमती सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट रकम बुझेर आफ्नो कामना विकास बैङ्कमा रकम जम्मा गर्छिन्। एक वर्षपछि आएर घटनाको अन्य पाटो खुल्छ।

जहाँ पैसाको लागि नै मानिसको बीमा, विवाह अनि हत्यासम्मको योजना बुनिएको हुन्छ। यो योजनाको जालमा भने २१ वर्षीय सर्जन विकले अकालमा नै ज्यान गुमाउनुपर्छ।

घटनामा बाँके कोहलपुर नगरपालिका घर भएकी २१ वर्षीय सपना मल्ल, स्याङ्जा वालिङ घर भएका ३१ वर्षीय सञ्जीव अर्याल, बाँके कोहलपुरका ३२ वर्षीय सरदार खाँ, बाँके बैजनाथ गाउँपालिका ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, बाँके कोहलपुरका ३८ वर्षीय दीपक केसी र बाँके कोहलपुरकी २१ वर्षीय ललिता सापकोटा मुछिन्छन्।

उनीहरुलाई सिआइबीको टोलीले पक्राउ शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वनिक गर्छ।

आरती भन्ने ललिताकुमारी सापकोटाले सपना मल्ल र सञ्जीव अर्याललाई भेट गराउँछिन्। सपना विदेश जाने भन्दै भौँतारिरहेकी हुन्छिन्। सञ्जीवले डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जान सपनालाई सुझाव दिन्छ। अनि बाँकी प्रक्रिया पनि सुरु हुन्छ। २०७७ मङ्सिर २७ गते सपना विदेश जानको लागि आवश्यक सीप सिक्ने भन्दै काठमाडौं आउँछिन्। जसका लागि २१ वर्षीय सर्जनलाई तयारी पारिन्छ। २०७७ चैत २८ गते दुई जनाको विवाह दर्ता गर्ने तयारी हुन्छ। त्यही क्रममा उनीहरूको भेट हुन्छ। सर्जन उमेरले २० नपुगेकाले कानूनी रुपमा विवाहको लागि योग्य ठहरिँदैनन्। चैत २ गते मात्र उनीहरूको विवाह हुन्छ।

तर, विवाह भएको एक महिनामा नै सर्जनको दुर्घटनामा मृत्यु हुन्छ।

मृत्युपछि बीमामार्फत् आएको २ करोड ५० लाख रुपैयाँ सपनाको खाताबाट बाँडेर लिएको खुल्छ। जसमा सञ्जीवले ८० लाख, दीपकले ६० लाख, छविकुमारी १७ लाख ४६ हजार, सपनाले ८६ लाख र अन्य रकम विभिन्न रुपमा खर्च भएको प्रहरीको अनुसन्धानमा देखिएको छ। सपनाको आमाको खाता मात्र प्रयोग भएकाले प्रहरीले उनलाई भने नियन्त्रणमा लिएको छैन।

सञ्जीवले योजना बनाएर सपनालाई मोहरा बनाएर पहिले सिर्जनको बीमा, त्यसपछि सपनासँग विवाह अनि दुर्घटना गराएर हत्या त्यसपछि बीमाको रकम लिएको देखिएको केन्द्रीय अनुसन्धान व्यूरोका एआइजी उत्तमराज सुवेदीले बताए।

‘हामीलाई पुर्नबीमा कम्पनीले जानकारी गराएपछि अनुसन्धान थालेका थियौं। यो घटना बीमाको रकमको लागि नै भएको देखिएको छ,’ एआइजी थापाले भने।

उनीहरुले बीमा बापतको रकम पाउनको लागि सर्जनको २०७७ फागुन २८ गते बीमा गराएका हुन्छन्। बीमा बापतको पहिलो किस्ता समेत सञ्जीवले नै तिरेका थिए। त्यसपछि चैत २ गते सिर्जन र सपनाको विवाह गर्दिन्छन्। तर, सिर्जन र सपनाको यसअघि र पछि खासै भेटघाट भएको हुँदैन। विवाह भएको १ महिनामा नै योजना बनाएर दुर्घटना गराएर सिर्जनको हत्या हुन्छ।

हत्या भएको कुरा सपनालाई सञ्जीवले नै सुनाएका हुन्छ। यसरी सम्पूर्ण योजना बनाएर एउटा मानिसको बीमा, विवाह त्यसपछि दुर्घटनामा हत्या गरेर बीमानको हत्या गर्ने योजना बुनिएको हुन्छ।

प्रकाशित मिति: : 2022-07-29 21:35:00

प्रतिकृया दिनुहोस्