एनआरएन एसिया क्षेत्रीय सम्मेलन : ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनको तयारी तिव्र पारिएको छ। अगस्ट २६ देखि २८ सम्म बैंककमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन्।

संघको तर्फबाट शनिबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै एसियया क्षेत्रीय संयोजक पारसमणि पोखरेलले सम्मेलनमा ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने जानकारी दिए ।

सहभागीले नाम दर्ता गर्दा २ सय डलर तिर्नु पर्ने आयोजकले जनाएको छ। उक्त रकमबाट ब्रेकफास्ट, लन्च, डिनरको व्यवस्था हुने बताएको छ। होटल सहभागी आफैले खोज्नुपर्छ।

मिलाप नाम दिइएको सम्मेलनमा महिला, युवा लगायत संघका क्षेत्रीय तथा अन्तराष्ट्रिय छलफल हुने बताइएको छ। ‘नेपाली माटोसँग कसरी जोड्ने भन्ने योजना छ।’ पोखरेलले भने, सम्मेलनले दोस्रो पुस्ता नेपालमा जोड्न सघाउ पुग्ने छ’ उनले भने।

नेपाली उत्पादन बजारीकरण गर्न पनि सम्मेलनले सघाउ पुग्ने र बजार प्रवद्र्धनका लागि गैरआवासीयले भूमिका खेल्ने उनले बताए। अध्यक्ष डा बद्री केसीले कार्यक्रमको नतिजा राम्रो निकाल्ने गरी सम्पन्न गर्न सुझाव दिए। उनले संघभित्रको एकतालाई अझै रचनात्मक बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए। वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानीलगायतका कुरामा जोड्न आवश्यक काम गरिरहेको उनले बताए।

पत्रकार सम्मेलनमा बोल्दै संघका कार्यकारी अध्यक्ष कुल आचार्यले नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित भएकोमा खुसी व्यक्त गर्दै राष्ट्रिय सभाबाट पनि पारित गराउन लबिङ गर्दै आएको बताए।

आचार्यले संघको १० औं महाधिवेशन पछि आयोजना हुन लागेको एशिया क्षेत्रीय सम्मेलन महत्वपूर्ण हुने बताए।

संघकी अध्यक्ष रविना थापाले क्षेत्रीय सम्मेलनको सफलताको शुभकामना दिदै सम्मेलनको लागि आवश्य सहयोग गर्न आफु तयार रहेको प्रतिबद्धता जनाइन्।

एसिया सम्मेलनमा श्रम मन्त्री शेर बहादुर कँुवर, व्यवसायी, संचारकर्मी, वर्तमान अध्यक्षहरु, पूर्व अध्यक्ष, नेपाल सरकारका उच्चअधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति हुने छ।

पत्रकार सम्मेलनको संचालन प्रदिप न्यौपानेले गरेका थिए भने एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, अर्का क्षेत्रीय संयोजक डिपी कंडेलले सम्मेलनको तयारीको बारेमा आआफ्ना भनाईहरु राखेका थिए।

पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष डा। हेम राज शर्मा, यासमिन बेगम, युवा उपाध्यक्ष रोसन थापा, उपमहासचिव डा।देवी बस्नेत, क्षेत्रीय उपसंयोजकहरु लगायतको उपस्थिती थियो।

प्रकाशित मिति: : 2022-07-25 18:44:00

प्रतिकृया दिनुहोस्