क्षमा विन्दु अर्थात् आफैँसँग विवाह गरेकी भारतीय युवती

सुहन श्रेष्ठ

नयाँ दिल्ली
[Courtesy of Kshama Bindu]

बेहुलीको लुगा र गहनामा सुसज्जित भएपनि क्षमा विन्दु सामान्य बेहुलिभन्दा फरक छिन्। उनले कुनै महिला वा पुरूषसँग नभई आफैसँग विवाह गरेकी हुन्। 

'मानिसहरूले मलाई अनौठो नजरले हेर्छन्। मानाैं कि मैले अपराध नै गरे जसरी,' उनले बताइन्।  

गत महिना भएको विन्दुको एकलविवाह भारतीय परम्परागत हिन्दू शैलीमा भब्य रूपमा भएपछि उनी आफैसँग विवाह गर्ने भारतकै पहिलो महिला बनिन्। 

एकलविवाह (सोलोगामी) गर्ने योजना उनले एक नेटफ्लिक्स शाे 'एनी विथ एन इ' हेरेर बनाएको बताउँछिन्। विवाहपछि उनी जता जान्छिन् त्यतै अपरिचित मान्छेहरूको छड्के नजरको सामना गर्नुपरेको छ। तर उनी खुशी छिन्।

विवाह भएको दिन जीवनको सबैभन्दा राम्रो दिन रहेको दावी गर्छिन्, विन्दु। 'आफैंलाई ऐनामा हेर्दा आश्चर्यचकित भएकी थिएँ। मलाई अरू बेहुलीहरूको जस्तो चिन्ता थिएन। आफूले आफैंलाई पाएर सन्तुष्ट थिएँ,' उनले भनिन्। 

एकलविवाहको सबैभन्दा राम्रो पक्ष विवाहपछि आफ्नो जीवनमा धेरै परिवर्तन नआउने उनी बताउँछिन्। 'मलाई कसैको मान्यता चाहिँदैन। मेरो जीवनसाथी अर्को सहरमा गए म पनि त्यतै जानुपर्ने बाध्यता छैन। मैले केवल मेरै लागि मात्र सोचे पुग्छ,' क्षमाले भनिन्। 

तीव्र गतिमा परिवर्तन हुँदै गएको परम्परागत भारतीय समाजमा विन्दु एउटी असामान्य युवती हुन्। 

के यो कट्टरपन्थी आत्म–प्रेम, प्रसिद्धिको खोजी, एक्लोपन विरोधको रूपमा गरिएको एक्लो हुनुको आराधनाको प्रयास वा पितृसत्ता र महिलाहरूको सामाजिक अपेक्षाहरूको अस्वीकार हो? विज्ञहरूले भने यस्तो आत्म–प्रेमको प्रवृत्ति विगतको आघात र असफल सम्बन्धहरूको परिणाम हुनसक्ने र नार्सिसिस्ट प्रवृत्तिलाई पनि संकेत गर्ने बताएका छन्। 

युनाइटेड किंगडमको बर्मिंघम युनिभर्सिटीका मनोविश्लेषक उन्मुख अनुसन्धानकर्ता अनुस्निग्धा सानै उमेरमा चरम आघातले आत्म–प्रेमको व्याख्या गर्न सक्छ भन्ने विश्वास गर्छिन्।

'अहिले सामाजिक सञ्जालमा सबै कुरा सेर गर्ने जमानामा उनी उपचारको यात्रापछि अन्ततः आफूलाई स्वीकार गरिसकेका छन् भन्ने सार्वजनिक घोषणा गर्न चाहन्थिन् जस्तो देखिन्छ,' अनुस्निग्धाले भनिन्। 

विन्दुले पनि सानो हुँदा आफू बारम्बार यौन दुर्व्यवहारको शिकार भएकी बताइन्। 'हरेक चोटी म माथि दुर्व्यवहार हुँदा म ऐनामा हेरेर रून्थेँ। आफूले आफैलाई म बलियो छु भनेर विश्वास दिलाउनु पथ्याे।'

भारतको नेशनल क्राइम रेकर्ड ब्यूरो (एनसीआरबि) को सन् २०२० को तथ्याङ्क अनुसार भारतमा बालबालिका विरूद्धको यौन अपराध बढेको र  बालबालिका विरूद्ध हुने कुल अपराधको कम्तीमा ४० प्रतिशत यौन अपराध रहेको छ। 

विन्दुले आफूलाई सधैं अन्यायको विरूद्धमा अडान लिने व्यक्तिको रूपमा वर्णन गर्छिन्।

भारतीय समाजमा महिलाहरूको लागि आदर्श विवाहको दबाबले पनि विन्दुको आफैंसँगको विवाहको कारण हुन सकेको अनुस्निग्धा बताउँछिन्। 

के हो सोलोगामी?

पश्चिमी लोकप्रिय संस्कृतिमा सोलोगामीका धेरै सन्दर्भहरू छन्। सेक्स एन्ड द सिटी, ग्ली र डक्टर हू सहित धेरै लोकप्रिय हलिउड फिल्महरू र टेलिभिजन श्रृंखलाहरूमा यो विचार प्रस्तुत गरिएको छ।

क्यानडामा 'म्यारी योरसेल्फ भ्यानकुभर' र संयुक्त राज्य अमेरिकामा अनेकाैं संस्थाहरूले सोलोगामी प्याकेज र सहायता प्रदान गर्छन्।

विन्दुले यो अवधारणाको बारेमा पहिलो पटक थाहा पाएपछि स्तब्ध नभएको सम्झन्छिन्। 'मैले बहुविवाह र साधारण विवाहको बारेमा धेरै सुनेको थिएँ, तर एकलविवाहको बारेमा कहिल्यै सुनेकी थियिन,' उनले बताइन्, ''शो हेरेपछि मैले पहिलो पटक भारतमा एकलविवाह गर्न कानूनी रूपमा स्वीकार्य छ कि छैन गुगल गरेँ। जब मैले यसको बारेमा पढेँ यो मलाई सामान्य र आकर्षक पनि लाग्यो।'

तर उनका साथी र परिवारका लागि यो एउटा झट्का थियो। अन्ततः उनीहरू सबैले स्वीकारे। उनका साथीहरूले उनको लागि एउटा पार्टीको योजना पनि बनाए तर उनको घरको गेट बाहिर मिडियाको झुण्डले उक्त पार्टी सफल हुन सकेन। 

‘बाहिर मिडियाका कारण म घरमै नजरबन्दमा थिएँ, बाहिर निस्कन सकिनँ । छिमेकीले पनि आपत्ति जनाएका थिए,’ उनी भन्छिन्।

उनको विवाहको खबर बाहिरिएपछि उनको घरबाहिर अन्तर्वार्ताका लागि सञ्चारकर्मीको भीड लागेको थियो। उनको कथाले मिश्रित प्रतिक्रिया पायो तर अधिकांशले उनलाई एक प्रकारको अग्रगामीको रूपमा चित्रित गरे।

तर उनको यो यात्रा निकै कठिन थियो। उनको यस्तो निर्णयको राजनीतिक आलोचना पनि भयो। उनको विवाहको एक साता अघि पण्डितले समेत त्यो विवाहमा सामेल हुन चाहेनन्। 

सत्ताधारी भारतीय जनता पार्टी (बीजेपी) का राजनीतिज्ञ सुनिता शुक्लाको हिन्दू मन्दिरमा विवाह हुन नदिने घोषणालाई उल्लेख गर्दै 'यो चाहिँ राजनीतिले गर्दा हो,' विन्दुले भनिन्।  

एकलविवाहलाई आफ्नो जीवनको एक चरणको रूपमा लिने हो भने मात्र राम्रो हुन सक्ने अनुस्निग्धा भन्छिन्। 

'उनले आफूलाई कैद गर्नु हुँदैन।अगाडि बढ्नुमा आफु दोषी महसुस गर्नु वा चिन्ता हुनु हुँदैन, नत्र उनको समग्र वृद्धि र विकास प्रभावित हुन सक्छ,' उनी भन्छिन्। 

(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: : 2022-07-25 05:51:00

प्रतिकृया दिनुहोस्