प्रस्तुत हरफ एउटा प्रसिद्ध उखान हो। यसवर्षको मौसमी कृषि गतिविधि हेरेर यो उखान यहाँ उधृत गर्न आवश्यक देखिएको छ। हुन त नेपालको हिमाल, पहाड र तराई क्षेत्रमा चारैतिर खेती–किसानी हुन्छ नै र अधिसंख्यक मानिसहरु कृषिमै आश्रित रहेका छन। यस कारणले नै नेपाललाई कृषि प्रधान राष्ट्र भनिएकाे हाे।
वस्तुतः नेपालको तराईमा भोजपुरी भाषी क्षेत्रका बहुसंख्यक मानिसहरु कृषिमाथि आश्रित रहेका छन्। आधुनिक समयमा विज्ञानको यथेष्ट प्रगती भइसकेको हुनाले मौसम वैज्ञानिकहरुले मौसम सम्बन्धी सटीक भविष्यवाणी गरिरहन्छन्। कतिपय यस्ता भविष्यवाणीहरु सही तथा कतिपय भविष्यवाणीहरु गलत पनि हुने गर्दछन्। यस क्षेत्रमा कृषि सम्बन्धी केही यस्ता भविष्यवाणीहरु पारम्परिक रूपमा प्रचलीत रहेको पाइन्छ। जुन प्रायः सही नै हुन्छन।
ज्योतिषशास्त्रअनुसार वर्षभरिमा २७ वटा नक्षत्रहरु हुन्छन। किसानी गर्ने किसानहरुले कुन–कुन नक्षत्रमा कृषि सम्बन्धी कुन–कुन काम गर्नु पर्दछ भन्ने कुरा उखानको रूपमा प्रचलीत छन। जस्तो भरणी, कृतिका तथा रोहिण नक्षत्रमा व्याडमा धानको विउ राखिसक्नु पर्दछ। अझ कृतिका नक्षत्रमा त धुलोमै ‘बावग’(zero tilling) गरिदिने परम्परा नै रहेको थियो। बावग रैथाने जातिको धानको गरिन्थ्यो तर वत्र्तमान समयमा विभिन्न खाले विकासे धान रोप्ने चलन भएको हुनाले यो परम्परा लुप्त प्रायः भएको देखिन्छ। उपरलिखित नक्षत्रहरुमा पानी परे वा नपरेको अवस्थामा धुलोमै भए पनि विउ छरिदिनु पर्दछ किनकि पानी पर्ने बित्तिकै विउको अङ्कुरण भइ मृगडाह(मृगशीरा),आद्रा, पुनर्वसु र पुष्य नक्षत्रसम्म रोपाइ गर्न प्रशस्त हुन्छ। पुष्य नक्षत्र पछि व्याडमा विउ राख्न निषेधित हुन्छ।
भोजपुरी उखानअनुसार–पुख बोइ भा कूट के खाइ ? अर्थात् पुष्य नक्षत्रमा विउ छर्नुभन्दा त्यसलाई कुटेर खानु बेस। किनकि पुष्य नक्षत्रमा राखेको विउ रोपाइँ गर्दा उब्जनी राम्रो हुँदैन। धान रोपाइ गरिसकेपछि श्लेषा, मघा र पूर्वा नक्षत्रमा पर्ने पानीले गवा (धानको झारको) पोषण गर्दछ। त्यसपछि पर्ने उत्तरा र हथिया(हस्त) नक्षत्रको पानीले धानको उब्जनी बढाउनमा मद्दत गर्दछ। वर्षात् र कृषि कर्मको अनुमान गर्ने क्रममा भोजपुरीमा प्रचलीत उखानहरु निम्नानुसारका छन– रोहिण रवे, मृगडाह तवे, आद्रा फुहियाए, इन्हल भात श्वान ना खाए। अर्थात् रोहिण नक्षत्रमा घाम–बादल लागिरह्यो, मृगडाह नक्षत्रमा अत्यधिक घाम लागोस, आद्रा नक्षत्रमा फाट–फुट पानी परिरह्यो भने त्यसवर्ष धानको मनग्य उब्जनी हुन्छ। अर्को उखानअनुसार आद ना बरखे आद्रा, अन्त ना बरखे हस्त, श्लेषा, मघा टूट जाए त का करि गृहस्थ। अर्थात् आद्रा नक्षत्रको सुरूमै, हस्त नक्षत्रको अन्तमा तथा श्लेषा, मघा नक्षत्रमा पानी परेन भने किसानले के गर्ने ? त्यस्तो अवस्थामा त्यसवर्ष धान बालीको राम्रो उब्जनी हुने छैन।
यसवर्ष मौसम वैज्ञानिकहरुले औसतभन्दा बढी पानी पर्ने अनुमान गरेका छन तथा ज्योतिषशास्त्रको भूमौ वर्षाढ़क प्रमाणअनुसार वर्षा हुने प्रमुख नक्षत्रहरुमा दुई तथा डेढ आढकभन्दा बढी वर्षाको उल्लेख रहेको छैन। अर्थात् यसवर्ष अनावृष्टि वा अल्प तथा खण्डवृष्टि हुने अनुमान गरिएको छ। सोहीअनुसार यस वर्ष कृतिका, रोहिण तथा मृगडाह नक्षत्रमा अल्पवृष्टि भएको थियो तथा सो नक्षत्रहरुमा किसानहरुले व्याडमा धानको विउ राखेका थिए। त्यसपछिका नक्षत्रहरुमा अनावृष्टिको स्थिति देखा पर्यो। यस क्षेत्रमा रहेका सिंचाइ योजनाहरु प्रायः ठप्प अवस्थामा रहेको दुःखद स्थिति छ। सिंचाइ कार्यालयका कर्मचारी अधिकारीहरु राज्यद्वारा हात्ती पालिए झै पालिएका छन, उनीहरुको काम भने...?
पानीको अभावमा किसानहरुले व्याडबाट धानको बेर्ना सारेर खेतमा रोपाइँ गर्न सकेनन्। केही किसानहरुले यन्त्रको मद्दतले पातालबाट पानी तानेर केही प्रतिसत खेत रोपाइँ भएको भए पनि प्राकृतिक पानीको अभावमा रोपिसकेको धानका विउ–विरूवाहरु पहेलिन थाले तथा विउको बेर्नाहरु डढेर सखाप हुन थाले। झन अनावृष्टिको कारणले water level tableको सतह निकै तल झरिसकेको हुनाले भूमिगत पानी तानेर खेतमा उचित सिंचाइ गरेर धानको रोपाइँ गर्ने काम अत्यन्त दुष्कर देखिएकोछ। पुष्य नक्षत्र बित्न लागेकोले किसानहरुले पुनः व्याडमा विउ राख्न पनि सक्दैनन्। यस्तो अवस्थामा प्रत्येक किसानको हात पुर्पुरोमा छ–वर्षभरिको छाक के ले टार्ने ? यस्तो विषम स्थितिमा तराई प्रदेशमा बल्ल (साउन ४ गते राति) हल्का पानी परेको हेरेर किसानहरुको मुखबाट अनायास निस्केको छ– का बरखा, जब कृषि सुखाने..? अर्थात् गरेको कृषि काम सुकिसकेको अवस्थामा पानी परेर पनि के हुने ? रोगी मरिसकेपछि आएका वैद्यले के गर्ने ?