ललितपुर महानगरले ल्यायाे क्यूआरटी सेवा 

शनि शाक्य

ललितपुर

ललितपुर महानगरपालिकाले नगर प्रहरीको क्विक रेस्पोन्स टीम (क्यूआरटी) परिचालनमा ल्याइएको  छ। 

महानगरबासीकाे विभिन्न समस्याको तत्काल समाधान र सहयोग गर्नका लागि नगर प्रहरीको क्यूआरटी टोली परिचालनमा ल्याइएको हाे।

विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन लिएर हिँड्ने टोलीले जस्ताेसुकै समस्याकाे समाधान गर्ने महानगर प्रमुख चिरिबाबु महर्जनले बताए।

उक्त टोलीले नगर सफाइदेखि फुटपाथ पसल हटाउन र अनाधिकृत विज्ञापन तथा होडिङ बोर्ड नियन्त्रण गर्न र हटाउने लगायतका काम गर्ने उनले जानकारी दिए।

ललितपुरमा बिहिबार गरिएकाे एक कार्यक्रममा बोल्दै उनले अगामी दिनमा सवारी साधन विद्युतीय हुने बताए।

'आउने दिनहरूमा पेट्रोल, डिजेल र मट्टितेलले चल्ने सवारी साधन नभइ विद्युतीय साधन हुनेछ ' उनले भने।

सानो कुराले पनि ठूलो परिवर्तन गर्ने भएकाले सिसिटिभी जडानको काम भइरहेको  बताए। 

त्यसैगरी सवारी पार्किङ व्यवस्थापनदेखि घटना र दुर्घटनाका बेला महानगरबासीलाई तत्काल सेवा दिन क्यूआरटी सेवा सञ्चालनमा ल्याइएकाे  महानगरका नगर प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए।

नगरकाे सुव्यवस्था कायम राख्नका साथै दुर्घटना भए तत्कालै उद्धार गर्न साे सेवा ल्याइएकाे उनले बताए।

‘पार्किङ रेखदेख र ट्राफिक व्यवस्थापनदेखि सवारी दुर्घटना, निमयविपरित भवन निर्माण, ढल व्यवस्थापन, सडक पेटी अतिक्रमणलगायत व्यवस्थापनका लागि तत्काल घटना स्थलमा पुगेर सेवा दिन यो सेवा सुरू गरिएको हो’, उनले भने।

प्रकाशित मिति: : 2022-07-21 13:26:00

प्रतिकृया दिनुहोस्