रानी महामाया शिशु जन्माउन भनी कपिलवस्तुबाट माइतीदेश देवदहतर्फ प्रस्थान गरिन्। लुम्बिनी वनमा पुग्दा उनलाई व्यथा लाग्यो। रानी पीडामा अशोक वृक्षको हाँगो समातेर उभिइन् । त्यहीँ उनले एउटा दिव्य शिशुलाई जन्म दिइन्।
सहायिकाहरूले शिशुलाई मनतातो पानीले नुहाइदिएर नरम रेसमी कपडामा बेरे । अब माइती जानुको प्रयोजन थिएन । उनीहरू कपिलवस्तु फर्के । पुत्र प्राप्तिका लागि लामो प्रतीक्षा गरेका राजा सुद्धोदनको इच्छा सिद्ध भयो । उनले बालकतर्फ हेर्दै भनेका थिए–सिद्धार्थ !
युवराज जन्मेको केही दिनपछि कपिलवस्तु राजप्रासादमा आएका कालदेवल ऋषि नवजात शिशुलाई देख्नासाथ निकै प्रसन्न भए । किन्तु, ऋषिको त्यो प्रसन्नता धेरै समय टिकेन । उनी भावुक भएर रुन थाले । ऋषि बलिन्द्र धारा रोएको देखेर अत्यन्त हतप्रभ भएका राजाले भने, ‘हे ऋषिवर ! के मेरो पुत्रमा कुनै अपशकुन छ ?’ ऋषिले भने, ‘राजकुमार बत्तीस लक्षणले युक्त छन् । सुरुमा म खुसी भएँ, किनकि तपाईंको घरमा मानव मात्रलाई दुःखबाट मुक्तिको मार्ग देखाउने महामानवको अविर्भाव भएको छ ।