भारतको सत्तारूढ दलको निम्तोमा नयाँ दिल्ली पुगे तापनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको भ्रमण त्यहाँको सत्तासँग संवादमा केन्द्रित रहेको देखिएको पूर्वकूटनीतिज्ञ एवं जानकारहरूले टिप्पणी गरेका छन्।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्न प्रयास गर्ने चर्चा भए पनि 'त्यस्तो भेट नभएको' प्रचण्डको सचिवालयले जनाएको छ।
आइतवार तीनदिने भ्रमण टुङ्ग्याएका प्रचण्डले आफूलाई निम्त्याउने भारतीय जनता पार्टी (भाजपा)पङ्क्तिबाहेक विदेशमन्त्री एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल, विदेशसचिव विनय मोहन क्वात्रालगायतसँग भेटेका छन्।
भाजपाका अध्यक्ष जेपी नड्डाले 'आफ्नो दललाई परिचित गराउने' कार्यक्रम अन्तर्गत प्रचण्डलाई दिल्ली निम्त्याइएको भेटपछिको आफ्नो ट्वीटमा लेखेका छन्।