अमेरिकामा एउटा शव्दावली छ– ‘म्याग्निफाइड ट्रुथ’। यसले अमेरिकी सन्दर्भमा बोक्ने अर्थ ठ्याक्कै नेपालीमा नबोक्न सक्छ। तर, पनि मोटामोटी रूपमा यसलाई बढाइचढाइ गरिएको सत्य भन्न सकिन्छ, जो यथार्थमा आंशिक मात्र हुन्छ। श्रव्यदृश्यको भाषामा यसलाई ‘लार्जर देन इमेज’ भन्न सकिएला।
यसलाई बुझ्न अमेरिकाको छवि कसरी प्रस्तुत गरिन्छ या बनाइन्छ भन्ने सन्दर्भ जोड्दा सजिलो हुनसक्छ। अमेरिकाका चर्चित राजनीतिक समाजशास्त्री नोम चोम्स्कीले यही सन्दर्भमा भनेका छन्– ‘अमेरिकाको राष्ट्रिय चरित्र नै ‘सुकुलगुण्डा’ जस्तो छ।’
उनले यसको थप व्याख्या गर्दै भनेका छन्, ‘अमेरिका जे हो त्यो देखाउँदैन र जे हैन त्यो भनेर जबर्जस्ती सिद्ध गर्न खोज्छ।’
यसरी नै अमेरिकाको फरकखाले छवि बनेको हो भन्दै उनी अगाडि थप्छन्– ‘अमेरिकाको फरक खाले छवि बनाउन यहाँ आएका हरेक आप्रवासी मानिस पनि उत्तिकै जिम्मेवार छन्। उनीहरू जे भोग्छन्, त्योभन्दा फरक चित्रण उनीहरूको मूल देश र समुदायमा गरिदिन्छन्। जसले गर्दा नै अमेरिकाका बारेमा ‘म्याग्निफाइड ट्रुथ’को पहाड विश्वका हरेक देशमा बनेको हो।’
अमेरिकामा रहेको नेपाली समुदायले पनि अमेरिकाको यही राष्ट्रिय चरित्र अंगिकार गरेर म्याग्निफाइड ट्रुथको सगरमाथा बनाउँदै आएको छन्। यही क्रममा उनीहरूले नेपाल र नेपालीमाझ अमेरिकाको यस्तो छवि बनाइदिएका छन् कि अमेरिकामा दिउँसै सपना देखिन्छ र त्यसलाई यथार्थमै परिणत गर्न सकिन्छ।
उनीहरूले सिर्जना गरिदिएको त्यही म्याग्निफाइड ट्रुथको सगरमाथा चढ्न वर्षेनी हजारौं नेपाली यो वा त्यो वहानामा अमेरिका आउने गरेका छन्। र, प्रकारान्तरमा उनीहरू पनि त्यही अमेरिकी म्याग्निफाइड ट्रुथको शिकार बन्ने घनचक्करमा फसिरहेका छन्।
यस क्रममा अमेरिकामा रहेका नेपालीलाई थप अप्ठ्यारो पनि छ। त्यो के भने ‘ग्रीन कार्ड’ भएको पाँच वर्षपछि अमेरिकी नागरिक बन्न पाइने प्रावधानअनुसार धेरै नेपाली अमेरिकी बन्छन्, बनेका हुन्छन्।
तर, अमेरिकी नागरिकता लिइसक्दा पनि उनीहरूमा आफूलाई नेपालमा रहेका नेपालीभन्दा पनि बढी राष्ट्रवादी नेपाली देखाउनुपर्ने मनोरोग लागिसकेको हुन्छ। फलतः उनीहरू खुलेर आफ्नो नागरिक अवस्था बताउन नसक्ने अवस्थामा हुन्छन्।
वाचा-कसम खाएर अमेरिकी भैसकेका नेपाली-अमेरिकीले अब त्यही अनुसारकै कर्तव्य निर्वाह गर्न आवश्यक छ। यसो गरियो भने एकातिर आफूले रोजेको देशप्रति अनुग्रहित र जवाफदेही भएको ठहरिनेछ भने अर्कोतिर आफ्नो जन्मदेशको गलत छवि र संकथन निर्माण गर्नबाट पनि बचिने छ।
त्यसैले धेरै नेपालीले अमेरिकी नागरिक भैसक्दा पनि मतदाताका रूपमा आफ्नो नाम दर्ता गराउँदैनन्, गराए पनि मतदान गर्दैनन्। यसको मूल कारण फेरि पनि आफ्नो नागरिक अवस्था सार्वजनिक हुने र त्यसबाट आफू थप राष्ट्रवादी नेपाली हुन नपाइने एक किसिमको फोबिया नै हो।
केही वर्ष पहिलेसम्म त नेपालको धनसम्पति के हुने भन्ने डरले पनि धेरै नेपालीले अमेरिकी नागरिकता लिएका थिएनन्। तर, अहिले नेपालको संविधानमा आर्थिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिएकाले त्यो डरबाट आंशिक रूपमै भए पनि मुक्ति मिलेको छ।
त्यही बेला यता अमेरिकामा पनि एक किसिमको ‘अमेरिकी फस्ट’ नीतिको राष्ट्रबाद सुरू भयो। त्यसको नकारात्मक प्रभावबाट बच्न पनि पछिल्ला केही वर्ष अमेरिकी नागरिकता लिने नेपालीको संख्या बढाएको छ।
राजनीतिक समाजशास्त्री चोम्स्कीले भनेझै त्यही सुकुलगुण्डा प्रवृति यहाँको नेपाली डायस्पोरामा पनि सरेको छ। यही कारण यहाँका नेपालीलाई चुनावको बेला खुलेर अमेरिकी नागरिक भएको र मतदान गरेको भन्न सजिलो छैन। आफूलाई अमेरिकी देखाउने कि नदेखाउने अझै पनि उनीहरू द्विविधामै छन्।
तर, केही वर्षयता अमेरिकामा आफूलाई नेपाली–अमेरिकी भनेर चिनाउने नेपाली मूलका मानिस पनि गतिलै संख्यामा देखिन थालेका छन्। उनीहरू सगौरव भनिरहेका छन्– ‘हामीले जन्मभूमि हैन, देश फेरेका हौं। हामीले नेपाली परिचय सकेका हैनौ, बिस्तारित गरेका हौं।’
आजको भूमण्डलीयकरणको युगमा यो स्वभाविक हो। यसका लागि नेपाली राष्ट्रियताको कुनै फिल्मी कथा बनाइरहन आवश्यक पर्दैन। यद्यपि, यो संकथन निर्माणाधीन अवस्थामा छ र यसले यहाँको नेपाली डायस्पोराबाट सम्मानित मान्यता पाइसकेको छैन।
अमेरिकी नागरिकता लिएका नेपाली मूलका मानिस अब नेपाली–अमेरिकी हुन्। उनीहरू ग्रीन कार्ड पाएको पाँच वर्षपछि नागरिकताका लागि फर्म भरेर, सिभिक टेस्ट उत्तीर्ण भएर, वाचा कसम खाएर अमेरिकी नागरिक भएका हुन्। यो कुनै करकाप वा जबर्जस्तीको विषय हैन।
अमेरिकाको सूचीमा दोहोरो नागरिकता स्वीकार गरिएको देश नेपाल नभएकाले यसको अर्थ उनीहरूको वैधानिक रूपमै नेपाली नागरिकता सकिएको हो।
अमेरिकी नागरिक भएपछि उनीहरूका केही दायित्व हुन्छन्। त्यसमध्येको एक प्रमुख दायित्व हो, मतदाता भएर मतदान गर्नु। यो दायित्वबाट चुक्नु भनेको आफ्नो नागरिक कर्तव्य निर्वाह नगरेको हो।
नेपाली मात्र हैन, नेचुरालाइजेसन प्रक्रियाबाट अमेरिकी नागरिक भएका अन्य धेरै देशका मानिस पनि यसै गर्छन्। यसो गरेको कुरा यहाँका रैथाने अमेरिकीलाई त्यति मन पर्दैन।उनीहरू सिधै भन्छन् पनि, यिनीहरू सुविधाका लागि अमेरिकी भएका हुन्, कर्तव्य निर्वाहका लागि हैन। तथ्यहरूले उनीहरूको यो भनाइलाई सिधै खारेज गर्न सकिने अवस्था छैन।
अमेरिकी नागरिक भैसकेका नेपाली मूलका मानिसले अब चिचीको पनि लोभ पापाको पनि लोभ गर्न आवश्यक छैन। उनीहरूले नेपालमा बस्ने नेपालीभन्दा पनि बढी नेपाली देखाउने सुकुलगुण्डा प्रवृति त्याग्नुपर्छ। र, नयाँ अमेरिकी नागरिकका रूपमा आफ्नो अधिकारको मात्र हैन, कर्तव्य पनि पूरा गर्ने दिशामा लाग्नु पर्छ।
त्यसो गर्न सकियो भने अमेरिकामा नेपाली–अमेरिकीको एक नागरिक चेत भएको समुदायका रूपमा छवि बन्छ। त्यो छविको प्रकाशमा नेपालको छवि पनि सकारात्मक बन्छ।
अमेरिकामा आफ्नो ग्रीनकार्ड पाँच वर्ष पुरानो भैसकेका कतिपय नेपाली अझै पनि छन्। जे जस्तो कारणले भए पनि उनीहरूले जन्मेको देश र नागरिकताको देश नेपाल नै कायम राखेका हुन्छन्। यसो गर्दा उनीहरूले अमेरिकी नागरिक सरह पाउँने धेरै सुविधा त्यागेका हुन्छन्।
यसरी त्याग गरेर नागरिकका रूपमा पनि नेपाली रहिरहनेको सम्मान हुनुपर्छ। यसो गरिनु उनीहरूको कमजोरीका रूपमा अपव्याख्या गर्ने गल्ती जानेर वा नजानेर गरिनु हुन्न।
दुःखको कुरा त्यस्ता नेपालीलाई पनि अमेरिकी भैसकेका नेपालीको एउटै घानमा राखेर पिस्ने काम भैरहेको छ। यसो गरिनु कुनै पनि अर्थमा जायज हैन।
अमेरिकी नागरिकता लिइसकेका नेपालीका लागि एउटा रोज्ने बेला आएको छ, नोम चोम्स्कीले भनेजस्तै सुकुलगुण्डा अमेरिकी बन्ने कि साँच्चैको अमेरिकी बन्ने ? साँच्चैको अमेरिकी बन्ने हो भने खुलेर भन्न सक्नु पर्यो, अब म अमेरिकी भैसकें।
अमेरिकी नागरिक भैसकेका नेपाली मूलका मानिसले अब चिचीको पनि लोभ पापाको पनि लोभ गर्न आवश्यक छैन। उनीहरूले नेपालमा बस्ने नेपालीभन्दा पनि बढी नेपाली देखाउने सुकुलगुण्डा प्रवृति त्याग्नुपर्छ। र, नयाँ अमेरिकी नागरिकका रूपमा आफ्नो अधिकारको मात्र हैन, कर्तव्य पनि पूरा गर्ने दिशामा लाग्नु पर्छ।
एक अमेरिकी नागरिकका रूपमा मेरा आफ्ना अधिकार र कर्तव्य हुन्छन्। त्यसमध्येको एउटा कर्तव्य हो, अमेरिकासँग दौत्य सम्बन्ध भएका राष्ट्रको आन्तरिक जीवनमा नकारात्मक टिक्काटिप्पणी नगर्ने। नेपालमा जन्मे पनि, नेपाली भाषा बोले पनि अमेरिकी नागरिकता लिइसकेपछि एक नेपाली– अमेरिकीले नेपाल र नेपालीलाई त्यही अनुरूपको व्यवहार गर्नुपर्छ।
तर, दुःखको कुरा धेरैजसो नेपाली–अमेरिकी नेपाल र नेपालीका आन्तरिक मामलामा दख्खल दिने खालका विषयमा टिकाटिप्पणी गरिरहेका हुन्छन्। उनीहरूका टिप्पणीमाथि नेपालमा रहेका नेपालीका प्रतिटिप्पणी हुन्छन्। यसले यदाकदा एक खालको असहज परिस्थिति पनि निर्माण भएको हुन्छ। यसको मारमा अमेरिका रहेर पनि नेपाली नागरिकता नै जोगाइरहेका नेपाली पर्ने गरेका छन्। उनीहरूलाई पनि एउटै घानमा हालेर पिस्ने काम हुन्छ।
वाचा कसम खाएर अमेरिकी भैसकेका नेपाली–अमेरिकीले अब ‘वथ सेरेमनी’ भनिने अमेरिकी नागरिकता सपथ ग्रहण समारोह’मा खाएको वाचाअनुसारकै कर्तव्य निर्वाह गर्न आवश्यक छ।
यसो गरियो भने उनीहरू एकातिर आफूले रोजेको देशप्रति अनुग्रहित र जवाफदेही भएको ठहरिनेछ भने अर्कोतिर उनीहरू आफ्नो जन्मदेशको गलत छवि र संकथन निर्माण गर्नबाट पनि बच्नेछन्।
अन्यथा, चिचीको पनि लोभ पापाको पनि लोभ गरेर यो सुकुलगुण्डा प्रवृतिको शिकार भैरहेने हो भने अमेरिकाका नेपाली–अमेरिकी चरम द्वैधचरित्रको शिकार हुनेछन्, उनीहरूको विश्नसनियतामाथि गम्भीर प्रश्न उठ्नेछ। उनीहरूले संसारलाई ढाँटे पनि आफैलाई भने ढाँट्न सक्दैननन्।
आखिर नेपाली–अमेरिकीहरू किन आफैंलाई ढाँटिरहेका छन् ?
(सिण्डिकेट प्रेस सामग्री: प्रिन्ट मिडियाका लागि दृष्टि, अनलाइन मिडियाका लागि ब्रेक एन लिंक्स, तस्वीर सौजन्य: दृष्टि : लेखक । )