जनकपुरमा १० करोड लागतमा आधुनिक बसपार्क बन्दै

मधेस प्रदेशको राजधानी जनकपुरमा आधुनिक र व्यस्थित बसपार्क निर्माणको काम सुरु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–२३ मा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन बसपार्क निर्माण गर्न लागिएको हो। 

सहरी विकास तथा भवन विभाग अन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले १० करोड २८ लाख लगानीमा बसपार्क निर्माण काम अघि बढाएको छ।

बसपार्क निर्माण मार्फत ऐतिहासिक एवं धार्मिक पर्यटकीय गन्तव्य जनकपुरधामलाई व्यवस्थित बनाउने उद्देश्य लिइएको छ।

जनकपुरमा हाल आन्तरिकसँगै छिमेकी देश भारतबाट समेत दैनिक हजारौको संख्यामा यात्रु आवतजावत गर्दै आएका छन्।

बसपार्कको सहरी विकास मन्त्री मेटमणि चौधरीले एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन्। मन्त्री चौधरीले सम्झौता बमोजिम १५ महिनाभित्र बसपार्क निर्माण सम्पन्न गर्न निर्देशन दिए। 

बसपार्क परिसरमा बस पार्किङ स्थलसँगै सार्वजनिक शौचालय, टिकट काउण्टर तथा चमेणा गृह, तीन वटा प्रतिक्षालय, २५ वटा कार तथा ५० मोटरसाइकल अस्थायी पार्किङ, १२५ स्थायी पार्किङ क्षेत्र, १.५ मिटर चौडाई र २२०० मिटर लामो फुटपाथ, आरसीसी पार्किङ क्षेत्र, आगमन प्रस्थानका लागि अस्फाल्ट सडक पहिलो चरणमा निर्माण हुनेछ।

जनकपुरधाम-२३ मा रहेका ४ विघा जग्गामा बसपार्क निर्माण हुनेछ। आयोजनाले बसपार्क निर्माण गरेर उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ।

प्रकाशित मिति: : 2022-07-08 10:07:00

प्रतिकृया दिनुहोस्