मदिराले लट्ठिएका युवती खाेज्दै यी युट्युबरले रातभर चहार्थे ठमेलका गल्ली

कमल प्रभात

काठमाडौं
फाइल तस्बिर: फाे रियल टिभीकाे युट्युब च्यानलबाट
फाइल तस्बिर: फाे रियल टिभीकाे युट्युब च्यानलबाट

काठमाडौँकी अस्मिता श्रेष्ठ (नाम परिवर्तन) रमाइलोको लागि धेरैजसाे नाइट क्लबमा जने गर्छिन्। धनाढ्य परिवारकी उनको नाइट क्लब गएर मदिराको तालमा रमाइलो गर्नु सोख हो। यसरी काठमाडौँका प्रख्यात क्लबहरूमा गएर मदिराको नाशामा जीवनको सन्तुष्टि खोज्ने उनी अनेकौँ मानिसहरूसँग भेट गर्छिन्। साथी बन्छिन्, रमाइलो गर्छिन्।

केही दिनअघि अस्मिता साथीसँग मदिराकाे नशाले लट्ठिएर नाइट क्लबबाट मध्यरातमा बारिँदा एक युट्युबरसँग जम्काभेट भयो। ती युट्युबर मध्यरातमा रमाइलोको लागि क्लबको ढोकामा पुगेका थिएनन्, उनी क्यामेरा म्यान बोकेर अन्तर्वार्ताको लागि त्यहाँ पुगेका थिए।

अस्मिता क्लबको ढोकाबाट निस्कने बित्तिकै ती युट्युबरले च्याप्पै समातेर अन्तर्वार्ता गर्न सुरु गरे। ती युट्युबरसँग भेट्न पाउँदा अस्मिता झन गफिन थालिन्। मदिराको नशामा रहेकी अस्मिताले ती युट्युबरसँग अङ्गालो हाल्दै, चुम्बन गर्दै अन्तर्वार्ता दिइन्। मदिराले लट्ठ परेकी उनले त्यो अन्तर्वार्तामा मुखमा आए जतिका सबै कुरा भनिन्। केही समय ती युट्युबरसँग कुरा गरेर साथीहरुसँग अस्मिता घर लागिन्।

आफूले दिएको अन्तर्वार्ता जब युट्युबमा आयो, त्यसपछि अस्मिताको होस् उड्यो। आफैँले दिएको अन्तर्वार्ता उनी आफैँले हेर्न सकिनन्। त्यो भिडियाेमा उनी मदिराको तालमा लट्ठ थिइन्। ती युट्युबरसँग कुरा गरिरहेकी थिइन्, अंगालो हालिरहेकी थिइन्। त्यसमाथि त्यहाँ भएका कुरा त सुन्न पनि अप्ठ्याराे लाग्ने खालका थिए।

जहाँ ती युट्युबरले अस्मितालाई यौन अनुभूतिबारे समेत सोधिरहेका थिए। अस्मिताले पनि होसमा नभएको बेला सबै कुरा भनिन्। कतिसम्म भने ती युट्युबरले अस्मितालाई कस्तो यौन आसन मनपर्छ भनेरसमेत सोधेका थिए।

‘लौ बर्बाद भयो, त्यो भिडियो परिवारका सदस्यले देखे भने के होला? साथीभाइले देखेर के सोच्लान्?’ अस्मिता रुनु न हाँस्नु भइन्। उनले आफ्नो अन्तर्वार्ता लिने युट्युबरलाई सम्पर्क गर्न खोजिन्, तर सकिनन्। त्यसपछि उनी हतार–हतार नेपाल प्रहरीको साइबर व्यूरोको कार्यालय भोटाहिटी पुगिन्। आफूमाथि भएको घटना प्रहरीलाई सुनाइन्। त्यसपछि साइबर व्यूरोको टोली ती युट्युबरको खोजीमा लाग्यो।

प्रहरीले तीन दिनमा ती युट्युबरलाई साेमबार पक्राउ गर्‍याे। पक्राउ पर्ने ती युट्युबर हुन्, २२ वर्षीय प्रवेश लामा।

दिनभर सुत्ने, रातभर डुल्ने

प्रवेशकाे घर नुवाकाेटकाे बेलकाेटगढी नगरपालिका– ७ महादेवफाँटमा हाे। काठमाडाैँकाे बाैद्धस्थित तीनचुलीमा बस्ने उनले केही समयदेखि फाे रियल टिभी (4 Real Tv) नामकाे युट्युब च्यानल चलाउँदै आएका थिए। छाेटा र रमाइला भिडियाे बनाउने प्रवेशलाई युट्युब हेर्ने धेरैले चिन्ने गर्छन्।

काठमाडाैँका अनेकाैँ स्थानमा पुगेर मानिसहरूलाई रमाइला–रमाइला प्रश्न साेधेर भिडियाे बनाउने उनकाे नजर केही दिनदेखि काठमाडाैँका डान्स बार तथा क्लबहरूमा परेकाे थियाे। स्राेतकाअनुसार प्रवेश दिनभर सुत्ने, जब रात पर्न थाल्थ्याे अनि सुरू हुन्थ्याे उनकाे काम।

साँझकाे खाना खाएर प्रवेश आफ्नाे क्यामेरा म्यानकाे स्कुटरकाे पछाडि बसेर काठमाडाैँकाे ठमेल, बाैद्ध, झम्सिखेल, दरबारमार्गलगायतका स्थानमा पुग्ने गर्थे। जहाँ मानिसहरू मदिराकाे सहारामा झुमिरहेका हुन्थे, त्यहीँ हुन्थ्याे उनकाे नजर। जब युवतीहरू मदिरा सेवन गरेर बार, क्लबबाट बाहिरिन्थे, तब उनले समातेर अश्लिल प्रश्न गर्ने, याैन क्रियाबारे साेध्न थाल्थे। अनेकाैँ प्रश्न साेधेर मदिरा सेवा गरेका युवतीहरूलाई उत्तेजित बनाउँथे। प्रवेशले केही देशी/विदेशी युवतीहरूसँग त अङ्गालाे हाल्ने र चुम्बनसमेत गर्ने गरेकाे पाइएकाे प्रहरीले जनाएकाे छ।

यसरी काठमाडाैँका क्लबहरूमा रमाइलाे गर्न पुगेका मानिसहरू उनकाे सिकारमा पर्ने गरेकाे प्रहरीकाे दाबी छ। जसकारण केही युवतीलाई उनकै कारण समस्यामा पर्ने गरेकाे खुलेकाे छ।

युराेपबाट फर्किएर युट्युब धन्दा

प्रवेश मध्यम परिवारमा जन्मिएका हुन्। उनी सानैदेखि बडाे चञ्चल स्वभावका थिए। स्कुल पढ्दादेखि नै उनी युवतीहरूसँग जिस्कने गर्थे। उनकाे त्यही बानीका कारण उनकाे परिवार निकै हैरान हुने गरेका थिए।

प्रवेशका बुबा पलम्बर हुन्, बुबाकाे आफ्नै व्यवसाय छ। राम्राे आम्दानी गर्छन्। त्यसैले उनले छाेराेकाे भविष्य राम्राे हाेस् भनेर प्रवेशलाई युराेप पठाए। तर, थुप्रै ऋण गरेर युराेप पुगेका प्रवेश टिक्न सकेनन्, ६ महिना नबित्दै नेपाल फर्किए।

नेपाल फर्किएपछि उनले युट्युब चलाउने थाले। युट्युबमा रमाइलाे गर्दागर्दै उनी अश्लिलतातर्फ उन्मुख भएकाे प्रहरीकाे अनुसन्धानमा खुलेकाे छ।

प्रकाशित मिति: : 2022-07-06 21:06:00

प्रतिकृया दिनुहोस्