ट्याक्सी व्यवसायी भन्छन्– मूल्यवद्धिले बाँच्नै गाह्राे भयाे

ममता आचार्य

काठमाडौं
Breaknlinks
Breaknlinks

नेपाल आयाल निगमले साेमबार पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ। याे सँगै निगमले यसवर्ष मात्रै ७ पटक पेट्राेलियम पदार्थकाे मूल्य संयाेजन गर्‍याे। यसरी विभिन्न बहाना बनाएर नियमले मूल्यवृद्धि गर्दा सर्वसाधारण हैरानी मात्रै परेका छैनन्, गम्भीर समस्यामा समेत परेका छन्।

पछिल्ला दिनमा पेट्राेलियम पदार्थमा भएकाे मूल्यवृद्धि इतिहासकै सबैभन्दा धेरै हाे। पेट्राेलियम पदार्थकाे मूल्यवृद्धिकाे असर सबै क्षेत्रमा पर्छ। जब पेट्राेलियम पदार्थकाे मूल्य बढ्छ तब अन्य सबै क्षेत्रमा मूल्यवृद्धिकाे श्रङ्खला सुरू हुन्छ। साेहीअनुसार पेट्राेलकाे भाउ बढ्ने बित्तिकै सवारी साधनकाे भाडा बढ्छ।

साेमबार पेट्राेलमा प्रतिलिटर २ रूपैयाँ मूल्य बढाएकाे निगमले यसअघि पनि २० रुपैयाँले मूल्य बढाएको थियो। पेट्रोलियम पदार्थको मूल्य आकसिदा सर्वसाधारणहरु सडकमा आएर मूल्य वृद्धिविरुद्ध आन्दोलनमा उत्रिएका छन्।

भाडा नबढ्दा सवारीधनी मारमा, भाडा बढे सर्वसाधारण मारमा पर्ने अवस्थाले समस्या हुने गरेकाे सवारी चालकहरू नै बताउँछन्। त्यसैले दुबै पक्षालाई समस्या नपर्ने गर्ने मूल्य संयाेजना गर्नुपर्ने उनीहरूकाे तर्क छ।

‘निगमले बारम्बार पेट्रोलको भाउ बढाउँछ। हामी मर्कामा परेको कसले बुझ्छ र ? यति मूल्य बढाउँदा पनि अझै घाटामा छ भन्छ, त्यस्तो घाटामा भए किन खोल्नुपर्‍याे, बन्द गरे भइहाल्यो नि,’ काभ्रे घर भई हाल काठमाडाैँमा ट्याक्सी चलाउँदै आएका गणेशबहादुर तामाङ्गले बिएल नेपाली सेवासँग आक्राेश पाेखे।

यसैगरी काभ्रेकै टिकाराम पहरी भन्छन्,‘मूल्यवृद्धिले हामी गरीखानेलाई धेरै गाह्राे पारेको छ। सरकारले मिटर समायोजना गर्दिछौं भनेर अहिलेसम्म पनि गरेकाे छैन, यसरी खै कतिञ्जेल हामीलाई मारमा पार्ने हो, थाहा छैन।’

यसरी पटक–पटक मूल्य बढ्दा श्रम गरेर पनि परिवार पाल्न मुश्किल पर्न थालेकाे काठमाडाैँका पूर्ण महर्जन बताउँछन्।

उनी भन्छन्,‘यात्रु लिएर गयो फर्किँदा कहिले त कोही नपाएर खाली पनि फर्कनुपर्छ। पेट्रोलको भाउ बढेको बढै छ। पहिला–पहिला यही ट्याक्सी चलाएर नै परविार पालेको थिएँ। अब त आफूलाई मात्र पाल्न पनि मुश्किल भएको छ।’

दाेलखाका अनिल न्यौपाने काठमाडाैँमा ट्याक्सी चलाउँदै आएको ९ वर्ष बढी भयो। यसअघि उनले पेट्रोलको मूल्य यति धेरै बढेको थाहा नपाएकाे बताउँछन्। उतिबेला पेट्रोल सस्तो नै भएकोले गाडी चलाउन सहज भएको र अहिले बढ्दो मूल्यवृद्धि असहज भएको उनी बताउँछन्।

‘अहिले सबैसँग आ–आफ्नो साधन छ। सवारी साधानको चाप पनि उत्तिकै बढिरहेकाे छ। झन त्यसैमाथि पठाओले गर्दा हामीलाई हातमुख जोर्न पनि धौ–धौ भएको छ। निगमले पेट्रोलको मूल्य पनि आफ्नो मनलाग्दि बढाएको जस्तै लाग्छ। यस्तै हो भने काठमाडाैँमा बस्न नै छोडेर गाँउ जाने अवस्था आउन समय पनि लाग्दैन,’ उनले भने।

प्रकाशित मिति: : 2022-07-05 18:30:00

प्रतिकृया दिनुहोस्