आँपस्वारा, माटाका गहना र मेनुका दिदी

हेमन्त विवश

काठमाडौं
Breaknlinks
Breaknlinks

शैर के दुनियाँका मुसाफिर ये जिन्दगी फिर कहाँ

निकै अघि कतै पढेको उर्दू शायरीको पंक्ति टुप्लुक्क आइपुग्छ स्मृतिमा। जब आँपस्वारामा पुग्दा त्यहाँको सुन्दर दृश्यले आफूतिर तान्न थाल्यो। न धेरै गर्मी न त जाडो नै। चारैतिर कुहिरोको नृत्य चलिरहेको। चराचुरुङ्गीको आनन्दित तुल्याउने आवाज उस्तै। जिन्दगीको कमाइ भन्नु अनुभव बटुल्नु न हो। यसरी अनुभव बटुल्ने मौका दिलाउँछन् कन्सेप्ट नेपालका परिकल्पनाकार ग्रामीण पर्यटन अभियन्ता पत्रकार अमृत भादगाउँलेले।

यसपटक पनि उनले नेपालको पहिलो दलित होमस्टेको अध्ययन तथा अवलोकन भ्रमणार्थ आँपस्वारा काव्य यात्रा २०७९ नामाकरण गरी एउटा जम्बु टोली तयार पारे। जसभित्र समेटिने मौका पाएँ मैले पनि। तनहुँस्थित व्यास नगरपालिका- १३ मा पर्ने आँपस्वारा दमौली बजारबाट ६ किमि दूरीमा रहेको छ।

आँपस्वारा पुगेपछिको अनुभव, त्यहाँको होमस्टे र काव्ययात्राको बारेमा दोश्रो लेख आउने नै छ। यतिखेर कन्सेप्ट नेपालले १० हजार नगदसहित सम्मान गरेका ४ जना सम्मानीय व्यक्तित्वहरुमध्येकी मेनुका विक दिदीको कलाले मेरो मनलाई जन्मभूमि डोटीतिर सयर गर्ने बनायो। र, सम्झिन थाले बाल्यकालदेखि नै सुन्दै आएका डेउडा गीतका यी पंक्तिहरु : 

जिजकोट रन्को बाइग्यो कपल्लकी बाउँको 
माटो उकेरुकी ठान्दो साई बसेका ठाउँको

सानैमा सुनेको गीत थिएँ यो। डोटेली भाषामा उकेर्नु भनेको बटुल्नु हो। पर्यटकले यात्रामा अनुभव बटुलेझैँ, पानी पर्ने संकेत पाएर गाउँघरतिर आँगनको बिस्कुन बटुलेझैं कुनै प्रेमिकाले आफ्नो प्रियतम बसेको ठाउँको माटो बटुलेर राखौं की? भनेर भित्री इच्छा व्यक्त गरिएको छ, गीतमा। माया प्रेम र जन्मभूमिप्रतिको अगाध स्नेह र प्रेम नै छल्किएको देखिन्छ त्यहाँ। मुग्लान छिरेकाहरुले गाउँघर सम्झेर गुनगुनाउन या तिनकी प्रियसीहरुले, तिनकी जहानले तिनलाई सम्झेर गुनगुनाउन, भन्न खोजिएको उस्तउस्तै जस्तो लाग्छ।

गहिरिएर सोच्दा त्यो प्रेम अंकुराउन सहयोगी बन्ने त्यही माटो हो। पेट पाल्ने आधार पनि माटो नै बनिदिन्छ। गीतसंगीतमा सुन्दर बिम्ब बनेर पनि त्यही माटो झुल्किदिन्छ। त्यसैले त भनिन्छ- माटो नै आधार हो जीवन र जगतको। यही कुरा मनन गरेर पूर्वजहरुले भने होलान्, माटोको भर ढुगांलाई ढुगांको भर माटोलाई।

उहिले चुलाेको पोलिएको माटोले दाँत माझ्ने चलन थियो गाउँघरमा। गेरु माटो बीउको लागि छुट्याइएको अनाजमा मिसाउँदा कीराले खाँदैन भनिन्थ्यो। कमेरो माटो र रातो माटोले घर टल्काउने काम अहिले पनि भएकै छ। कता-कताको, कुन-कुन प्रकारको माटो हो जीउमा दल्दा छालाको लगायत अन्य केही रोगहरु निको हुने मान्यता पनि थियो पूर्वजका पालामा।

यो शरीर पनि जिन्दगीरुपि एउटा घर न हो, जसलाई सुन्दर बनाउनलाई नै त होला गरगहनाको प्रयोग गरिँदै आइएको। आँपस्वारा काव्य यात्राभित्र एउटा महोत्सव पनि थियो। त्यो हो- माटो महोत्सव अर्थात गहना महोत्सव। ती सुन्दर र कलात्मक गहनालाई र गहना बनाउँदै गरेको दृश्यलाई आ-आफ्नो क्यामेरामा कैद गर्न कवि, लेखकहरु निकै हौसिएका थिए।

आयुर्वेदमा माटोको प्रयोग गरी प्राकृतिक उपचार गर्ने विधि भएको कुरा सुनिन्छ। डा. आभाष लाभकाअनुसार बजारमा देखिने केही टुथ पेस्टहरुमा इँटाको धुलो अथवा पोलेको माटो मिसाइएको हुन्छ। माटोसँग रमाउन जान्नेहरुको जिन्दगी असली जिन्दगी हो। अर्थपूर्ण जिन्दगी हो। जीवन र जगतको आधार बनेको माटोले सहजै स्विकार्छ मृत्युपछिको पार्थिव शरीरलाई पनि र समाहित गरिदिन्छ आफूमै।

मान्छेका गास, बास, कपास जस्ता आवश्यकतालाई पनि माटोले नै पूर्ति गर्छ। त्यसैले हरेक क्षेत्रमा माटोको विशेष महत्व छ। त्यस्तो माटोलाई विभिन्न आकृतिमा ढालेर आगोमा पोली आवश्यक रङको प्रयोग गरेर कलात्मक गहना बनाइरहेकी मेनुका दिदीको कला प्रशंसायोग्य छ। उनले कुमालेसँग माटो लिएर गहना बनाउँदै आइरहेकी छन्।

विज्ञानले भन्छ- भौगोलिक क्षेत्रअनुसार माटोका भौतिक इकाइ पनि फरक हुन्छन्। आँपस्वारामा माटोका गहना देख्दा मलाई माटोको इकाइ थाहा पाउनु थिएन। माटोको गुणस्तरियताका बारेमा जान्नु थिएन। थियो त केवल मेनुका दिदीले बनाएका माटाका गहना हेरेर आनन्दित हुनु। ती गहना हेरेर विगतमा मेरो गाउँघरतिर आमा, काकी, दिदी, बहिनीहरुले प्रयोग गर्ने त्यस्तैखाले गहनाको यादमा डुब्नु।

ती सुन, पितल, चाँदी जेसुकैबाट बनेका हुन्। मेनुका दिदीले बनाएकै जस्ता देखिन्थे। मेनुका दिदीले बनाएका माटाका गहनाहरु हाम्रा संस्कृति र पहिरनका गौरव हुन्। बाहिरबाट हेर्दा कुनै माइकलालले ठम्याउन सक्दैनन्, ती माटोबाट बनेका हुन् भनेर। निकै सुन्दर र कलात्मक छन् ती गहनाहरु।

पछिल्लो समय बजारमा पाइने धातुका नक्कली गहनाभन्दा ती कैयौं गुना आकर्षक र महत्वपूर्ण छन्। धातुकाे आविस्कार हुनुअघि माटाेकै भाँडाकुँडा र गरगहना बनाइ प्रयाेगमा ल्याइन्थ्याे। त्यसैले माटाेका गहना बनाउने कला निकै पुरानाे मानिन्छ, जसले पूर्वनकाे पालाकाे इतिहास बाेकेकाे छ।

गाउँघरतिर माटो अथवा धातु जुनसुकै चिजका हुन्, ती गहना बनाउनेहरु पनि दलित भनिएकाहरु नै हुन्थे। उनैको कला र सीप चाहिन्थ्यो आफूलाई उच्च ओहदाका ठान्नेहरुलाई। तिनको सीप, श्रम सबै चल्यो तर पानी चलेन। समाजमा कैयौँ धर्मभीरुहरूले खाडलहरू बनाए।

माटो प्रकृति हो। हामी प्रकृति पुजक हौं। त्यो माटो हाम्रो अस्तित्व पनि हो। २०१३ देखि नेपालमा माटो दिवस मनाउँदै आइएको छ। गोष्ठी, सेमिनार र भाषणमा कुनै दिवस मनाउनेहरुभन्दा त मेनुका दिदीहरुले नै मनाइरहेका छन् खासमा माटो दिवस।

उनको प्रायजसो दिन दिवस नै बनिदिन्छ। जब अडरअनुसार माटाका सुन्दर गहना बनाउँछिन्। माटोलाई श्रद्धापूर्वक सुन्दर रुप दिन्छिन्। बचेको समयमा त्यही माटो गोडमेल गरेर अन्न उब्जाउँछिन्। स्वाभिमानी, साहसिक र हातमा सीप भएकी मेनुका दिदीका संघर्षका आफ्नै कथा छन्। तथापि उनीसँग जीवन जीउने सुन्दर कला छ। माटाका ती सुन्दर गहनाजस्तै कलात्मक तुल्याएकी छन् जिन्दगीलाई पनि। सलाम छ मेनुका दिदीको कलालाई।

प्रकाशित मिति: : 2022-07-05 20:00:00

प्रतिकृया दिनुहोस्