दक्षिणकालीकाे बजेट ६७ करोड बढी

काठमाडौंको दक्षिणकाली नगरपालिकाले नवौँ नगरसभामार्फत आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट विनियोजन गरेको छ।

गत शुक्रबार नगरपालिकाको ९ औं नगरसभामा उपप्रमुख वसन्ती डंगोल तामाङले आगामी वर्षका लागि ६७ करोड ४ लाख ५९ हजार रूपैयाँको बजेट प्रस्तुत गरेकी हुन्।

उपमेयरद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा १२ करोड ६३ लाख ३७ हजार संघ र प्रदेशको वित्तीय समानीकरण अनुदानअन्तर्गत आम्दानी हुने भनिएको छ।

राजस्व बाँडफाँटतर्फ १५ करोड ६७ लाख ७५ हजार र आन्तरिक आम्दानीबाट ५ करोड ८८ लाख ८५ हजार रूपैयाँ जम्मा हुने लक्ष्य लिइएको छ।

सशर्त अनुदानतर्फ संघबाट २० करोड ८३ लाख र प्रदेशबाट २ करोड २७ लाख २१ हजार गरी २३ करोड १० लाख २१ हजार रूपैयाँ जम्मा हुने प्रस्तावित बजेटमा उल्लेख छ। यस्तै, अन्तरपालिका साझेदारी अनुदानतर्फ ४ करोड ४५ लाख आम्दानी हुने अनुमान गरिएको छ।

आन्तरिक आयतर्फ ५ करोड ८८ लाख ८५ हजार छ भने समपुरक अनुदान ३ करोड ८९ लाख ४० हजार र विशेष अनुदानतर्फ १ करोड ४० लाख रूपैयाँ जम्मा हुने अनुमान गरिएको छ।

उपमेयरद्वारा आगामी आर्थिक वर्षको अनुमानित आय व्यय विवरणसँगै आर्थिक विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ नगरसभामा पेश भएको हो।

आगामी वर्ष वडास्तरतर्फ वडास्तरीय योजनाहरुको कार्यान्वयन गर्न जनसंख्या, भूगोल, राजस्व परिचालनको स्थिति तथा विकटतालाई आधार मानेर ७ करोड ४२ लाख ५० हजार विनियोजन गरिएको छ।

नगरक्षेत्रमा हुने सम्भावित बाढी, पहिरो, भू–क्षय, भूकम्प, हावाहुरी जस्ता प्रकृतिक विपत्तीबाट जनधनको क्षति न्यूनीकरण गर्न तथा पीडित प्रभावितको राहत, उद्धार, पुनर्स्थापना एवम् पुनर्निमाणको लागि विपद् व्यवस्थापन कोष खडा गरी १ करोड विनियोजन गरिएको छ।

प्रकाशित मिति: : 2022-06-29 17:17:00

प्रतिकृया दिनुहोस्