अमेरिकी सर्वोच्च अदालतद्वारा गर्भपतनको संवैधानिक अधिकार खारेज

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

जुन २४, २०२२। अमेरिकाकै इतिहासमा एउटा दु:खदायी दिनका रुपमा अंकित भएको छ ।  आज अमेरिकाको सर्वोच्च अदालतले रो विरूद्ध वेड भनिने सन् १९७३ मा गरिएको एक आदेशलाई रद्द गरिदिएको छ । यसबाट गर्भपतनसम्बन्धी अमेरिकी महिलाको संवैधानिक अधिकार समाप्त भएको छ ।

सर्वाेच्च अदालतको यो निर्णयबाट दशौँ लाख अमेरिकी महिलाले गर्भपतन सम्बन्धी कानुनी अधिकार गुमाउनेछन् । अब राज्यहरूलाई नै गर्भपतन गैरकानुनी मान्ने वा त्यसलाई अनुमति दिने विकल्प मिलेको छ। आधाजसो अमेरिकी राज्यले नयाँ अवरोध वा प्रतिबन्धहरू लगाउन सक्ने देखिएको छ ।  यसअघि नै १३ राज्यले 'ट्रिगर ल' भनिने केही कानुनी व्यवस्था तयार गरेर गर्भपतनलाई गैरकानुनी बनाउने अभियान सुरू गरिसकेका छन्। 

दक्षिणपन्थी परम्परावादी न्यायाधीशहरूको बहुमत रहेको सर्वोच्च अदालतमा उक्त निर्णयको पक्षमा ६ र विपक्षमा ३ न्यायाधीश थिए । प्रधान न्यायाधीशले केही फरक मत राखेर निर्णय ५-४ को भए भनिए  पनि उनी सिद्धान्तत:  फैसलाकै पक्षमै उभिए ।  

यो निर्णयबाट अमेरिकाका दक्षिणपन्थीहरू उत्साहित भएका छन् भने उदारवादीहरू निराश देखिएका छन् । उनीहरूको विचारमा अमेरिकामा उल्टो बाटोमा हिडेको छ। यसले अमेरिकी सम्मानमा ठूलो ह्रास आउने छ। २१औं शताव्दीका अमेरिकी महिलाले गर्भपतन गर्ने अधिकार नपाउनु भनेको  लाजमर्दो विषय हो । 

प्रकाशित मिति: : 2022-06-25 05:31:00

प्रतिकृया दिनुहोस्