आलेखको प्रारम्भमै पाठक वर्गलाई जानकारी रहोस् कि मेरो सञ्चारकर्मी रवि लामिछानेसँग दोहाेरो चिनजान छैन। कसैले उनको बारेमा केही भन्यो भने अन्य व्यक्तिसँग झै–झगडा गर्न तयार रहने म उनको ‘डाइहार्ट फ्यान’ पनि होइन। म उनले नेपाली पत्रकारिताको माध्यमबाट गरेको गतिविधिको भने समर्थक हुँ।
आफ्नो टेलिभिजन कार्यक्रममार्फत उनले जसरी समाज विरोधि घटना र व्यक्तिहरुको धुलिसात गरे, त्यो मेरो विचारमा उचित थियो। यद्यपि, उनले यो क्रममा देशको नियम कानुनको धज्जी उडाए र टेलिभिजनमा चिच्चाएर मात्र बोल्नुपर्छ भन्ने मानक राख्न पुगे। यसको बाबजुद पनि उनले धेरै पीडितहरुलाई देश–विदेशबाट उद्दार गरे, धेरैको विभिन्न कारणले ठगिएको पैसा उठाइदिए र अन्य पीडितहरुलाई सम्बन्धित निकायको ध्यानाकर्षण गरेर न्याय दिलाउन मद्दत गरे।
पत्रकारिताको माध्यमबाट नेपालमा उनको जति प्रभाव भएको कार्यक्रम अर्को कुनै थिएन, त्यो सबैले स्वीकार गर्नै पर्छ। ठाउँठाउँमा गएर सित्तैको रक्सी पिएकै भरमा आफूलाई वरिष्ठ पत्रकारको स्वघोषित पगरी भिरेका ‘टट्टु’ पत्रकारहरुलाई उनीसँग हिनताबोध भएर लामिछानेको विरोध गर्नु अर्कै कुरा हो। तर म ग्यारेन्टी दिन्छु आफ्नो लेख र कार्यक्रमबाट सरकारी निकायलाई ध्यानाकर्षण गर्न सक्ने पत्रकार आजको दिनमा उनीबाहेक अर्को कुनै छैन, भविष्यमा भएमा अर्कै कुरा हो।
उनी किन पत्रकार भए भन्ने कुरामा मलाई कुनै रुचि छैन। नेपाल सरकारको परीक्षा दिने हो भने खरदारको परीक्षामा पनि उत्तीर्ण हुन नसक्ने बौद्धिक हैसियत भएका पत्रकार मात्र होइन, सम्पादकहरु नै छरपस्ट भएको अवस्थामा उनले पत्रकारिता गर्यो भन्दा आश्चर्य किन मान्ने? जबकि, नेपालका अधिकांश पत्रकारहरु पत्रकारिता गर्नको लागि होइन, अर्को कुनै पनि क्षेत्रमा नबिक्ने भएको कारण आफूलाई पत्रकार भएको निकृष्ट अभिनय गरिरहेका छन्।
यसको उदाहरण हालैको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन साह विजयी भएपछि आफ्नो दानापानी हरिने डरमा केही जड्याहा पत्रकार र स्तरहीन अनलाइन पोर्टलहरुलाई भएको औडाहा हो। सिर्जना सिंहले जित्यो भने प्रजातन्त्र रहने र अर्कोले जित्यो भने प्रजातन्त्रमा समस्या आउने यो कस्तो तर्क हो? बरु सिधै मैले चौकीदारी गर्न पाइनँ भनेर भन्यो भने कुरा सुन्न पनि रमाइलो हुन्छ।
हाल लामिछानेले नयाँ राजनैतिक पार्टी स्थापना गरेर सक्रिय राजनीति गर्छु भन्दा धेरैको रातको निन्द्रा र दिनको भोक हराएको छ। एउटा नेपाली नागरिकले देशको प्रचलित कानुनको दायरामा रहेर राजनीति गर्छु भन्दा अर्को व्यक्तिको टाउको किन दुखेको हो त्यो पंक्तिकारलाई जानकारी पनि छैन र त्यसमा कुनै रुचि पनि छैन।
यदि कसैलाई लामिछाने मनपर्छ भने उनलाई भोट दिने र मन पर्दैन भने उनलाई भोट नदिएर पराजित गर्न सहयोग गर्नेबाहेक तेश्रो व्यक्तिलाई अन्य कुरामा बुद्धि विलास गर्नुपर्ला जस्तो लाग्दैन। ‘काम पाइनस् बुहारी पाडोको खै कुन्नी के कनाएर बस्नु’ भन्ने नेपाली उखान जस्तो किन बेकारमा रुचि हो, त्यो पनि बुझ्न सकिएको छैन।
लामिछानेले सुरु गर्न लागेको सक्रिय राजनैतिक जीवनको बारेमा तर्क वितर्क गरेर बस्ने र सामाजिक सञ्जालमा अर्थहीन बकबक गरेर बस्नेहरुमध्ये एकथरी आफूले पत्रकारिताको नाममा टट्टुकारिता गर्दा पनि कसैले नचिनेको हिन भावनाले ग्रस्त भएका मान्छेहरु हुन् भने अर्काथरी यदि उनी चुनावमा जिते भने आफूले कुलदेवता मानेको नेताको हार हुन्छ भन्ने हुन्।
उनको पार्टीको नाम भएन, उनको चुनाव चिन्ह भएन, उनको राजनीति गर्ने बेला भएको छैन भनेर निर्णय दिने अधिकार कसले र किन दियो त्यो पनि बुझी नसक्नु छ। पार्टीको नाम र चुनाव चिन्हको बारेमा निर्णय गर्ने अधिकार निर्वाचन आयोग र अदालतमा छ। यसको बारेमा कसैले विनाकाम टाउको दुखाइरहनुपर्ने काम छैन। गगन थापा र योगेश भट्टराई मन्त्री हुन हुने तर लामिछानेले राजनीति गर्न नहुने यो कस्तो नियम हो र यसको समय भयो र उसको समय भएन भन्ने अधिकार यिनीहरुलाई कसले दियो?
अत, कसैलाई लामिछानेको राजनैतिक यात्रामा सहयोग गर्ने मन छ भने गर्ने र मन छैन भने नगर्ने बाहेक अर्को कुरा गर्ने अधिकार छैन। प्रजातन्त्रमा सबैलाई राजनीति गर्ने छुट छ। उनले जनमत जुटाउन सके भने उनी सफल हुने छन् र यदि सकेनन् भने असफल हुने छन्। अन्य मान्छेको जस्तै उनलाई पनि सक्रिय राजनीति गर्ने अधिकार छ र यसको बारेमा अन्य व्यक्तिहरुले आफ्नो समयको बर्बादी गरेर टाउको किन दुखाउने?
के नेपालमा राजनीति गर्न अनिवार्य रुपमा वीपी र मदन भण्डारीको गीत गाउनु नै पर्ने बाध्यता छ ? साढे सत्र हजार मान्छेको ज्यान लिने प्रचण्ड र बाबुराम, प्लेन अपहरण गरेर राज्यको सम्पत्ति लुट्ने भ्रष्ट गिरिजालाई केही भन्न नसक्ने नपुंसक नेपालीहरुले लामिछानेको खोइरो खन्नुको कुनै तुक छैन। पंक्तिकार लामिछानेलाई उनको सक्रिय राजनैतिक जीवनको लागि बधाई र शुभकामना दिन चाहन्छ।