आदिवासी नेत्री मुर्मुलाई बीजेपीले राष्ट्रपतिको उम्मेदवार बनाउने

बिएल संवाददाता

नयाँ दिल्ली
Photo: PTI
Photo: PTI

भारतीय जनता पार्टी (बीजेपी)का राष्ट्रिय अध्यक्ष जेपी नड्डाले आदिवासी नेत्री द्रौपदी मुर्मुलाई राष्ट्रपति पदकाे उम्मेदवार बनाउने घोषणा गरेका छन्। 

बीजेपी संसदीय बोर्डको बैठक लगतै उनले राष्ट्रपति चुनावका लागि नेत्री मुर्मुलाई उम्मेदवार बनाउने निर्णय भएको बताएका हुन्।

उनी सन् २०२२ को भारतीय राष्ट्रपति पदकाे निर्वाचनका लागि बीजेपी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको आधिकारिक उम्मेदवार बनेकी छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डा, केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र मध्य–प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलगायतका नेताहरूले अन्ततः उनकाे नाममा सहमति जनाएका छन्।

नेत्री मुर्मु बीजेपीभित्र लाेकप्रिय मानिन्छिन्। उनी यसअघि झारखण्ड राज्यको नवौं राज्यपालका रूपमा काम नियुक्त भएकी थिइन्।

ओडिशा राज्यकी लोकप्रिय आदिवासी नेत्री हुन्, उनी। मुर्मु पाँच वर्षको कार्यकाल पूरा गर्ने झारखण्डको पहिलो महिला गभर्नर पनि हुन्।

राष्ट्रपतिकाे निर्वाचनपछि सम्भवतः उनी भारतीय उच्च पदमा पुग्ने पहिलो आदिवासी महिला हुनेछिन्। नेत्री मुर्मुको जन्म २० जुन १९५८ मा ओडिशाको मयुरभञ्ज जिल्लाको बैदापोसी गाउँ भएको थियो। उनी सन्थाल समुदायकी छाेरी हुन्। उनको विवाह श्यामचरण मुर्मुसँग भएको छ।

उम्मेदवार मुर्मु एनडीए गठबन्धनबाट सन् १९९७ मा रैरंगपुर नगर पञ्चायतको काउन्सिलरको रूपमा पनि निर्वाचित भएकी थिइन्। भारतीय जनता पार्टीको जनजाति मोर्चाको उपाध्यक्षको रूपमा पनि काम गरिसकेकाे बीजेपीका नेताहरू बताउँछन्।

उता विपक्षी गठबन्धनबाट पूर्वकेन्द्रीय मन्त्री यशवन्त सिन्हा राष्ट्रपति पदको उम्मेदवार बनेका छन्। 

वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल जुलाई २४ मा सकिँदैछ। राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया जारी छ।

प्रकाशित मिति: : 2022-06-22 08:27:00

प्रतिकृया दिनुहोस्