सर्बदलीय बैठकमा मेयरमाथि दुर्व्यवहार, एमाले अध्यक्षमाथि हातपातको प्रयास

नेकपा एमाले विर्तामोडका अध्यक्ष सुवास भट्टराईमाथि हातपातको प्रयास भएको छ।

विर्तामोड नगरपालिकामा बुधबारे हटियाको सन्दर्भमा बसेको सर्बदलीय बैठकमा विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले नगरप्रमुख पवित्रा महतरा प्रसाईंमाथि दुर्व्यवहार र एमाले अध्यक्ष भट्टराईमाथि हातपातको प्रयास गरेका छन्।

बुधबारे हटियाका व्यापारीलाई बिजुली बाल्न मिटर दिनुपर्ने माग राख्दै संघका केही व्यक्ति आन्दोलित छन्। सोही विषयमा छलफल चलिरहेको बेला नगरप्रमुख महतरा बोल्ने क्रममा न्यौपानेले जुरुक्क उठेपछि उनलाई एमाले अध्यक्ष भट्टराईले बसेर मेयरको कुरा सुन्न आग्रह गर्दा भट्टराईमाथि न्यौपाने जाइलागेका थिए। वरपर बसेका अन्य व्यक्ति र प्रहरीले हातपात हुनबाट बचाएका छन्।

बुधबारे हटियामा नियमविपरीत बसेका व्यापारीलाई मिटर दिने कुरा बृहत छलफल जरुरी भएको भन्दै नगरले छ्लफल प्रारम्भ गरेको थियो। मेयर प्रसाईंले जग्गादातासमेत राखेर छलफल गर्न आवश्यक छ भनेपछि संघका अध्यक्ष प्रकाश शिवाकोटी र वरिष्ठ उपाध्यक्ष न्यौपानेले तुरुन्त जडान हुनुपर्ने माग राखेका थिए।

हप्तामा एक दिन मात्रै बजार लगाउन दिइएको भन्दै अनारमनीका पूर्व अध्यक्ष हर्कलाल गिरीले व्यक्तिको नाममा मिटर दिन नमिल्ने बताएका छन्। उनले सो निर्णयमा जग्गादाताको समेत सल्लाह लिनुपर्ने बताए।

यो आन्दोलनमा वाणिज्य संघका सबै पदाधिकारी र सदस्य सहभागी छैनन्। अध्यक्षका लागि तयारी गरिरहेका न्यौपानेले अकस्मात आन्दोलनको नेतृत्व गर्दा व्यापारीलाई प्रभावित बनाउने खोजेको विर्तामोडमा चर्चा छ।

प्रकाशित मिति: : 2022-06-20 13:36:00

प्रतिकृया दिनुहोस्