खोटाङ जिसस प्रमुखमा गठबन्धनका राई विजयी 

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई जिल्ला समन्वय समिति खोटाङको प्रमुखमा निर्वाचित भएका छन्।

जसपाका केन्द्रीय सदस्य राई जिल्ला समन्वय समितिको सोमबार सम्पन्न निर्वाचनबाट गठबन्धनकातर्फबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका हुन्।

जिसस उपप्रमुखमा गठबन्धनकैतर्फबाट माओवादी केन्द्रका सुरेश तामाङ निर्वाचित भएका छन्। नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यलाई निवर्तमान प्रमुख बबी चाम्लिङले स्वागत गर्दै पदभार ग्रहण गराएका छन्। चुनावी भागवण्डाकै क्रममा गठबन्धनभित्र जिसस प्रमुख जसपालाई दिने सहमती भएको थियो। 

साकेला गाउँपालिका–२ रतन्छा निवासी प्रमुख राई २०६४ र २०७० सालको संविधानसभा सदस्यमा पनि उठेका थिए। उनी २०५४ सालमा एमालेबाट तत्कालिन गाबिस अध्यक्ष निर्वाचित भएका थिए। 

जिल्ला समन्वय समितिको खुला सदस्यमा गठबन्धनबाट कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ राई, महिला सदस्यमा कांग्रेसका कला राई, माओवादी केन्द्रकी विष्णुमायाँ राई र नेकपा एकीकृत समाजवादीका दिलकुमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली बिश्वकर्मा विजयी भएका छन्। 

 गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट जिल्लाका १० स्थानीय तहमध्ये गठबन्धनबाट १६ प्रमुख र उपप्रमुख तथा एमालेले ४ प्रमुख र उपप्रमुख जितेको थियो। एमालेले जिसस प्रमुखमा किशोरकुमार श्रेष्ठ र उपप्रमुखमा बिजय राईलाई उम्मेदवार उठाएको थियो। एमालेले सदस्यमा भने मनोनयन दर्ता गराएको थिएन। 

प्रकाशित मिति: : 2022-06-13 22:07:00

प्रतिकृया दिनुहोस्