परदेशी भूमिमा पसिना बगाएका गणेशकाे नेपालकाे माटाेमा चमत्कार

तेजन खड्का

उर्लाबारी

मोरङको सुनवर्षी–१ केचनाका गणेश तुर्छा (राई) यतिबेला ड्रागन फ्रुटको व्यावसायिक खेतीमा व्यस्त छन्। ३ विघा जमिनमा लगाइएकाे ड्रागन फ्रुटबाट वार्षिक ३० लाख रुपैयाँ कमाउँछन्, गणेशले।

प्रतिविघा मुस्किलले ६० मन धान फल्ने ३ विघा खेतमा उनले ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरेका हुन्।

सुरुमा परीक्षणको रुपमा १०/१५ वटा विरुवा लगाएर खेती सुरु गरेका गणेशले ती विरुवाले सोचेभन्दा राम्रो उत्पादन दिएपछि धान खेत मासेर ड्रागन फ्रुटको खेती विस्तार गरेका हुन्।

डाँस खोलाको किनारमा रहेको गणेशको ३ विघा खेतमा अहिले १३ हजार विरुवाले उत्पादन दिन लागेका छन्।

गत वर्षको वैशाखमा विरुवा लगाएका गणेशले भने, ‘भारतको हैदरावादबाट विरुवा ल्याएर लगाएको हुँ। ११ महिना भयो, जेठदेखि उत्पादन दिन थाल्छ।’

राईले वार्षिक ३० लाख रुपैयाँ कमाउने सपना देखेर ड्रागन खेती सुरु गरेको बताए। उनले भने, ‘१ करोड ५० लाख रुपैयाँ लगानी भइसकेको छ।

उनले ३ सय रुपैयाँका दरले विरुवा खरिद गरेका हुन्। विरुवामा मात्र ३९ लाख रुपैयाँ खर्च भएको छ। रोपाई खर्च, मल, घेरावार, सिंचाई र आफ्नो मेहनत गर्दा ठूलो लगानी भएको राईले बताए।

५ वर्ष दक्षिण अफ्रिकाको मोरक्को र ३ वर्ष सिंगापुरमा पसिना बगाएका ४५ वर्षीय राई ड्रागनले लगातार २० वर्ष उत्पादन दिन्छ भनेपछि यतातिर आकर्षित भए।

‘धान, मकै ,गहुँ जस्ता बालीबाट राम्रै उत्पादन हुन्थ्यो। तर, बेलामा मल पाइन्न, बीउ हुँदैन। रसायनिक मल र विषादी विना सोचे जस्तो उत्पादन लिन सकिन्न। त्यसैले ड्रागन खेतीमा लागेको हुँ’, उनले भने, ‘नेपाली बजारमा सेतो ड्रागन फ्रुट प्रतिकिलो ५ सय रुपैयाँमा बिक्री भइरहेको छ।’

राईले रातो जातको विरुवा लगाएका छन्। राईका अनुसार सेतोभन्दा रातो प्रतिकिलो सय रुपैयाँ बढीमा बिक्री हुने गर्छ। औषत प्रतिचार बोटबाट एक सिजनमा १२५ किलो उत्पादन लिन सकिने उनको भनाई छ।

२० वर्षसम्म लगातार उत्पादन लिन सकिने र मूल्य पनि राम्रो पाउने आशामा धान खेत मासेर ड्रागन लगाएका राईलाई उत्पादन सुरु भएपछि बजारको अभाव होला कि भन्ने चिन्ता लाग्न थालेको छ।

उनले भने, ‘ठूलो लगानी फसिसकेको छ। बिक्री भएन भने फ्रुटलाई प्रशोधन गर्न सकिने सम्भावनाको अध्ययन गरिरहेको छु।’

ड्रागन फ्रुट के हो ? कस्तो छ महत्व ?

कृषि विज्ञ बबि बस्नेतका अनुसार ड्रागन फल गर्मी र सुख्खा हावापानीमा हुने सिउडी प्रजातीको फलफूल हो।

वैज्ञानिक वर्गीकरणअनुसार ड्रागन फल ‘Cactaceae’ परिवारमा पर्दछ।यसको वैज्ञानिक नाम चाहिँ ‘Hylocereus Undatus’ हो। यसको स्तम्भ कमजोर भएकोले सपोर्ट आवश्यकता पर्दछ।

यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुँदा यसलाई ड्रागन फल भनिएको हो। यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रण भएको हुन्छ।

फलको तौल २०० ग्राम (१.२ के.जी हुन्छ। यस फलको जातहरुमा रातो बोक्रा र सेतो गुदी भएको पहेँलो बोक्रा र सेतो गुदी भएको, रातो बोक्रा र रातो गुदी भएको जात पर्दछ।

यसको उत्पत्ति दक्षिण अमेरिकाको मेक्सिकोमा भएको पाइन्छ। दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपिन्स थाइल्याडलगायतको देश हुँदै अहिले यो फल नेपालमा भित्रिएको छ।

नेपालको लागि नौलाे फलको रुपमा रहेको यो ड्रागन फल २०५७ सालमा पशु चिकित्सक डाक्टर जगन्नाथ राईले अमेरिकी इन्जिनियर साथीमार्फत भियतनामबाट नेपाल भित्र्याएका हुन्।

नेपालमा भने यसको खेती काभ्रे, सुनसरी, रुपन्देही, गोरखा, झापा, धनकुटा, दाङलगायत धेरै जिल्लाहरुमा गर्दै आइएको छ। अन्य मुलुकमा यो फल व्यावसायिक रुपमा स्थापित भए पनि नेपालमा भने यो फलले भर्खरै व्यसायिकता पाउन थालेको छ।

गर्मी ठाँउमा खेती गर्न सकिने यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ। यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ।जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललाई गमला, छत तथा करेसामा पनि लगाउन सकिन्छ।

यो फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ। यो फल खाएपछि पेट खलास हुन्छ र कब्जियतको दोष ठीक पार्छ। यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ। यसको मुन्टाको गजबको तरकारी बन्छ।

फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ। जो जेठदेखि असोज (कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ। फूल फुलेको चार (पाँच दिनपछि फूलका पात सुकिसक्छ। सुकेको फूलको स्पेसल चिया बन्छ। यो फूलको विशेषता के भने यो राति मात्र फुल्छ।

प्राविधिकका अनुसार रोपेको २ वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ। नेपाली बजारमा ३ हजार ५ सय रुपैयाँ केजीसम्म यो फल बिक्री भइरहेको छ। ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ। यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ।

प्रकाशित मिति: : 2022-06-13 14:28:00

प्रतिकृया दिनुहोस्