अमेरिकामा सराहना श्रेष्ठले बनाउँलिन् त इतिहास ?

अमेरिकामा मूलधारको राजनीतिमा निर्वाचित भएर नेपालीलाई देखिने र सुनिने बनाउने अभियान जारी छ। सन् ०१२ मा वासिङ्गटन राज्यबाट हाउस अफ रिप्रेजेन्टेटिभ्सका उम्मेद्वार बनेर दर्शन रौनियारले सुरू गरेको यो अभियान २०१४ मा मेरिल्याण्डको हाउस अफ एसेम्बेलीको उम्मेद्वार बनेर ह्यरी भण्डारीले दोहोर्‍याए

पहिलोपटक रौनियार र भण्डारी दुबैलाई असफलता हात लाग्यो। त्यसपछि दर्शनले त्यही प्रयास दोहोर्याएनन्, हराए। तर, ह्यारी भण्डारी भने सन् २०१८ मा मेरिल्याण्ड स्टेटको डिस्ट्रिक्ट ८ बाट हाउस अफ एसेम्बेलीमा विजयी भएर यस्तो विजय हासिल गर्ने पहिलो नेपालीको इतिहास बनाउन सफल भए। अहिले उनी त्यही डिस्ट्रिक्टबाट प्राइमरीमा ‘अनअपोज्ड‘ भएर दोस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा छन्।

त्यसयता जर्जिया, न्यु ह्याम्पसायर र टेक्सासमा पनि नेपालीले अमेरिकाको मूलधारको राजनीतिमा निर्वाचित हुने प्रयत्न गरे। तर, दुर्भाग्य कसैले पनि प्राइमरीको खुड्किलो पनि नाघ्न सकेनन्, जनरल इलेक्सन त मृगतृष्णा नै रह्यो। यसो हुनुको पछाडि कति आन्तरिक कारण छन् भने कति वाह्य। मूलत: ती पदहरूका लागि चाहिने वाञ्छनीय योग्यता नपुगेरै उनीहरू त्यो दौडमा खह्रो उत्रन नसकेको हो ।

यसपटक एम्पायर स्टेटका रूपमा स्वनामधन्य रहेको न्युयोर्क राज्यमा पनि यो प्रयत्न गरिएको छ। डेमोक्रेटिक पार्टीको प्राइमरीमा सराहना श्रेष्ठले उम्मेद्वारी दिएर यो प्रयासको श्रृङ्खला जोडेकी छिन्। उनको पक्षमा परिणाम आउँछ कि आउँदैन, अहिले नै यसै भन्न सकिने स्थिति छैन तर उनी गतिलै गृहकार्य गरेर प्रतिस्पर्धामा उभिएको भने पक्कै पनि हो। जे भए पनि जसरी दर्शन रौनियारको नाममा यो प्रयास गर्ने पहिलो नेपालीका रूपमा इतिहास लेखियो, सराहनाका नाममा पनि यो श्रृङ्खलाको पहिलो नेपाली अमेरिकी  महिलाका रूपमा इतिहास लेखिने निश्चित छ।

को हुन् सराहना ?

सन् २००१ मा अध्ययनका लागि न्युयोर्क आएकी श्रेष्ठ पेशाले ग्राफिक डिजाइनर हुन्। उनी नेपालमा फोटोग्राफी सुरू गर्ने परिवार द्वारिकादास श्रेष्ठ परिवारकी सदस्य हुन्। उनका भाइ कशीस दास श्रेष्ठ एक बहुआयामिक व्यक्तित्व हुन्। उनले नै अमेरिकाबाट चन्द्रप्रकाश शर्माले प्रकाशित पहिलो नेपाली समाचारपत्र नेपाली आवाजको सम्पादन गरेका थिए। यो पङक्तिकार उक्त समाचार पत्रको  नेपाली सम्पादक रहेको थियो ।

सराहनाले नेपालमा लोकतन्त्रका पक्षमा वकालत गर्न एक अनलाइन जर्नल सञ्चालनमा ल्याएकी थिइन्। त्यसैमा प्रकाशित एक राजनीतिक लेखका कारण उनको अनलाइन प्रतिबन्धित भयो। यही घटनापछि एक ग्राफिक डिजाइनर सराहना राजनीतिक बाटोमा धकेलिइन् ।

अमेरिका आएर न्युयोर्कमा रहन थालेपछि उनको त्यो इच्छाले आकार लिन थाल्यो र उनी डेमोक्रेटिक सोसलिष्टहरूको संगतमा पुगिन्। त्यही संगतले डेमोक्रेटिक सोसलिष्टकी सदस्य बनेकी उनी अहिले  डेमोक्रेटिक सोसलिष्टको मिड-हड्सन भ्याली च्याप्टरका लागि अल्स्टर काउन्टी सह-अध्यक्ष रहेकी छिन्।

स्वच्छ, नवीकरणीय, किफायती र पहुचयोग्य विद्युत आपूर्तिको प्रवर्धनका क्षेत्रमा काम गर्ने गठबन्धन पब्लिक पावर न्युयोर्ककी नेता समेत रहेकी श्रेष्ठले न्युयोर्क अल्स्टर र डचेज काउन्टीको प्रतिनिधित्व गर्ने १०३ नम्बर एसेम्ब्ली क्षेत्रबाट डेमोक्रेटिक प्राइमरीमा उम्मेद्वारी दिएकी छिन्।

सराहना ग्रिन न्यु डिल, गुड कज इभिक्सन र न्युयोर्क हेल्थ एक्टजस्ता बामपन्थी मुद्दाहरूकी कट्टर हिमायती हुन्।

कोसँग छ प्रतिस्पर्धा ?

उनको प्रतिस्पर्धा न्युयोर्कका एक जानेमाने डेमोक्रेट सांसद केभिन काहिलसँग हुँदैछ। ४१ वर्षीय सराहनाको उमेरजतिकै समय राजनीतिमा बिताएका उनी सन् १९९९ देखि सांसद रहदै आएका छन् ।डेमोक्रेटिक पार्टीको गढ मानिएको यो क्षेत्रमा प्राइमरी जित्नेले नोभेम्बर ८ मा हुने जनरल इलेक्सन पनि  सजिलै जित्छ।

कस्तो छ स्थिति सराहनाको ?

सन् १९९९ देखि  निरन्तर सांसद रहेका केभिनको यो निर्वाचन क्षेत्रमा ठूलो पकड छ। अहिलेसम्म लगभग अनअपोज्ड रहदै आएका उनलाई पहिलोपटक सराहनाले चुनौति दिएकी हुन् । डेमोक्रेट्सभित्र सोसलिस्टहरूको आइकन बनेका बर्नी स्याण्डर्स र उनकी कट्टर अनुयायी अलेक्जान्ड्रिया ओकासिओ कोर्टेज (एओसी) को पक्षमा हावा चलेको यो क्षेत्रमा सराहनाले उनलाई हराउन पनि सक्छिन् । उही उम्मेद्वार, उही कुरा सुन्दासुन्दा त्यस क्षेत्रका डेमोक्रेटहरू पनि एक किसिमले दिक्क भएका छन्। परिवर्तन चाहने डेमोक्रेटका लागि उनी विकल्प हुन सक्छिन् । 

स्थानीय स्तरमा लामो समयदेखि काम गर्दै आएकी उनले २०१९ मा अमेरिकी नागरिक भएलगत्तै सांसदको सपना देखेकी थिइन्। र। सन् २०२१ को सुरूदेखि नै चुनावको तयारीमा थिइन्।

उनको यो लामो तयारीले पनि उनलाई एक तागतदार उम्मेद्वार बनाएको छ। र, उनले जीतको पल्लालाई यतिबेला ५०-५० को स्थितिमा पुर्याएकी छिन्। यो स्थितिमा उनले जितिन् भने पनि त्यो अस्वभाविक हुदैन।

कस-कसले गरे समर्थन ?

न्युयोर्ककी प्रभावशाली सांसद अलेक्जान्ड्रिया ओकासिओ कोर्टेजको उनलाई समर्थन रहेको छ। यो समर्थनले पनि उनलाई जीतको मजबुत आधार दिएको छ। ओकासिओ आफै पनि उनको चुनावी क्याम्पेनमा सहभागी भैरहेकी छन्। यसैगरी अमेरिकी चर्चित कलाकार तथा अधिकारकर्मी सिन्थिया निक्सनले पनि उनलाई समर्थन गरेकी छिन्।

यी दुई इन्डोर्समेन्टले उनको सार्वजनिक व्यक्तित्व अग्लो बनेको छ। र, यसले आम मतदातालाई उनीप्रति विश्वास गर्ने आधार पनि दिएको छ। यसैगरी न्यृुयोर्कका चार एसेम्बेली मेम्बर र दुई स्टेट सिनेटरको पनि समर्थन रहेको छ। उलनई समर्थन गर्ने एसेम्बेली मेम्बरहरूमा फारा फरेस्ट, मार्सेला मित्येनिस, जोरन माम्दानी र इलेमी गालागर रहेका छन्  भने स्टेस सिनेटहरूमा जुलिया सालाजार र जाबारी ब्रिस्पोर्ट रहेका छन् । 

सराहनालाई डेमोक्रेटिक सोसलिष्टको हडसन भ्याली च्याप्टरले पनि समर्थन गरेको छ। उनलाई अन्य स्थानीय थुप्रै संघ- संस्थाको पनि समर्थन रहेको छ।

अमेरिकाका नेपालीले के गर्ने ?

अमेरिकामा रहेका नेपालीले पहिलो कुरा त कुरा काट्ने र आरिस गर्ने बानी छाड्ने हो, त्यसको ठाउँमा एडमायर गर्ने बानी लिने बितिकै आधा समस्या त यसै पनि समाधान हुन्छ।

बाँकी आधा काम भनेको सम्बन्धित निर्वाचन क्षेत्रमा रहेका नेपालीले चुनावी प्रक्रियामा सहभागी भएर मतदान गर्ने हो। उनीहरू अनि बाँकि नेपालीले पनि सकेको आर्थिक सहयोग गर्ने हो, अमेरिकामा रहेका हरेक नेपालीले ५ डलर मात्र दिँदा पनि एक मिलियन डलर हुन्छ। त्यो पनि छोडौं न्युयोर्कमा रहेका आधा नेपाली जो  २५ हजारभन्दा माथि छन् उनीहरूले मात्र पनि ५ डलर दिदाँ एक लाख २५ हजार डलर हुन्छ।

नानाभातिका कार्यक्रमलाई पैसा दिने र टिकटककै लागि लगाउन किन्ने एउटा लुगा मात्रै कटौती गरेर सहयोग गर्न सकियो भने पनि सराहनालाई चुनावी क्याम्पेन अगाडि बढाउन ठूलो सहयोग पुग्छ।

तर, दुर्भाग्य अमेरिकामा रहेका अधिकांश नेपालीले न प्राथमिकता छुट्याउन जानेका छन् न उत्पादनशील काममा लगानी गर्न। अझ यसो भनौ उनीहरूका खुट्टा अमेरिकी भुइँमा टेकिएका छन्, सुत्दा सपना पनि अमेरिकी नै देख्छन् तर उनीहरूको टाउकोमा अझै पनि गिजोलिएकै नेपालको मिनियचर छ। यही अचम्मको प्राणी भएर बाँच्दा सिर्जना हुने डिलेमाले अमेरिकामा रहेका नेपालीलाई नराम्ररी अल्मल्याएको छ।

यो डिलेमाबाट बाहिर निस्कने बितिकै उनीहरूको आँखाले सराहनालाई देख्न थाल्छ, डा. ह्यारी भण्डारीलाई देख्न थाल्छ। देख्ने वित्तिकै आफ्नो र आफ्नो भविष्यमाथि लगानी गर्ने सोच आउन थाल्छ, त्यसपछि थोरै थोरै भए पनि सहयोग दिन मन लाग्छ।

अहिले भनेको त्यही मन बनाएर सहयोग गर्ने समय हो। चुनावको बेला झिंगाको पखेटामा टाँसिएको घ्यु चुस्ने अनि अरू बेला फलानो र ढिस्कानो नेपाली पनि सांसद छ नि भनेर नाक फुलाउन खोज्ने चाहना आफैंमा संगतिपूर्ण हैन। मौकामा लगानी गरे काम पनि लाग्छ, गर्व गर्न पनि पाइन्छ। नेपालीमा एउटा भनाइ नै छ, मौकामा हिरा पनि फोर्नुपर्छ।

तपाई अमेरिकामा कानुनी रूपमा रहेको नेपाली हो र अमेरिकाको मूलधारमा आफू र आफ्ना सन्ततिलाई देखिने र सुनिने अभियानमा संलग्न हुन चाहनुहुन्छ भने यो लिंकमा क्लिक गर्नुहोस् र ३ डलरदेखि आफूले सक्ने सहयोग गरेर एक्पायर स्टेट भनिने न्युयोर्कमा नेपाली मूलको अमेरिकीलाई सांसद बनाउनुहोस्।
https://secure.actblue.com/donate/sarahana-for-assembly

प्रकाशित मिति: : 2022-06-12 20:00:00

प्रतिकृया दिनुहोस्