काठमाडौंको फोहोर कसरी व्यवस्थापन गर्न सकिन्छ?

Breaknlinks
Breaknlinks

पछिल्ला केही दिनयता काठमाडौँ उपत्यकाका घर छेउ, चोक, गल्ली, सडक, चौबाटाहरु फोहोरले भरिभराउ भएका छन्। उपत्यका भित्रबाट बग्ने खोला, नदी किनाराहरु र पुल वरपरको अवस्थाहरू पनि उस्तै छ।

फोहोर व्यवस्थापन काठमाडौँको मुख्य समस्या मानिन्छ। चुनावको बेला एजेण्डा बन्ने अनि वर्षाका बेला जताततै दुर्गन्ध फैलिने गरी फोहोर थुप्रिने समस्या वर्षौं जसाे दोहोरिन्छ।

‘जुन जोगी आएपनि कानै चिरेकाे’ भने झैँ जसको सरकार आएपनि फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्न सकेक छैन। सडक छेउमा थुप्रिएको फोहाेरले गर्दा जनताको स्वास्थ्यमा निकै असर पारेको छ भने सडकमा गुड्ने सवारी साधनलाई पनि असजिलो पारेको छ।

फोहोर व्यवस्थापनको समस्या नयाँ होइन। वर्षौंदेखि फोहोर व्यवस्थापनमा समय-समयमा आउने समस्याले देशको राजधानी काठमाडौँ रूमलिएकाे छ। त्यसैले वर्षाको समयमा नउठेको फोहोरले बाटोमा आवतजावत गर्नेहरुले सकस बेहोरिरहेका छन्। यसैकाे कारण महामारीले भयावह स्थिति लिने अवस्था बन्न सक्ने छ। कुनै विषयमा तत्काल समस्या टार्न सहमति हुन्छ, त्यसको सम्बोधन भने हुँदैन।

काठमाडौँको फोहोर व्यवस्थापन गर्न हामीले गर्नुपर्ने उपाय तथा कुराहरु के-के हुन् त?

फोहोर उत्पादनमा कमी : फोहोर व्यवस्थापनको पहिलो उपाय फोहोर कम उत्पादन गर्ने हो। यसका लागि खाना पकाउँदा पुग्दो मात्र पकाउने, कपडाहरु लामो समयसम्म टिकाउ हुने खालका किन्ने, सकभर प्लाष्टिकका भाँडाकुँडा प्रयोग नगर्ने, प्लाष्टिक झोलाको सट्टा कपडाको झोला प्रयोग गर्ने गर्नुपर्दछ।

फोहोरलाई चिन्नुहोस् : फोहोरलाई चिन्न सक्यौं भने एक व्यक्तिका लागि फोहोर वस्तु अर्को व्यक्तिका लागि कच्चापदार्थ पनि हुनसक्छ। त्यसैले नगरपालिकाको गाडी आउँदा फोहोर जति एकै ठाउँमा पोको पारेर नराखम्। कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्ने गरौं।

फोहोरको स्रोतमै वर्गीकरण : अरु तरिकाले छुट्याउन नसकेपनि कुहिने फोहोर एकातिर र नकुहिने फोहोर अर्काेतिर गरी छुट्याएमा कुहिने फोहोर मल बनाउन र बायोग्याँसका लागि प्रयोग गर्न सकिन्छ।

पुनः प्रयोग गर्ने : पुराना तथा थोत्रा कपडा, जुत्ता, फलफूल, तरकारी, प्लाष्टिक, कागज जस्ता वस्तुहरुहरुलाई ठोस फोहोरमैला भनिन्छ। तीमध्ये पनि पुनः प्रयोग गर्न सकिने फोहोरलाई पुनः प्रयोग गर्ने हो भने विसर्जन गर्नैपर्ने फोहोरको मात्रा अति कम हुन्छ।

पुनः प्रशोधन गर्ने : जस्तो कागज, फलामका टुक्रा, प्लाष्टिकका बोतल तथा तारजाली इत्यादी। यी वस्तुहरुको सामान्य प्रशोधनपछि पुनः प्रयोग गर्न सकिन्छ वा यसको स्वरुप नै बदलेर अर्कै वस्तु पनि तयार पार्न सकिन्छ।

ल्याण्डफिलमा नपुराई नहुने फोहोरलाई मात्र पठाउने : कम्तीमा कुहिने र नकुहिने फोहोरलाई स्रोतमै छुट्याएर पठाउने हो भने भए भरका फोहोर ल्याण्डफिल साइटमा पुर्याइरहनु पर्दैन। यसले ल्याण्डफिल साइट भरिन पाउँदैन।

गन्धरहित बनाउने : सबै खाले फोहोर एकै ठाउँमा हाल्दा चाँडो कुहिने हुन्छ। जसका कारण चाँडै गन्हाउँछ, यदि फोहोरलाई गन्धरहित बनाउने हो भने पनि तपाईंले फोहोरलाई छुटाएर राख्नु नै वेश हुन्छ। फोहोर नकुहिएपछि न झिंगा भन्किन्छ, न अरु कीटपतंग नै आउँछ।

फोहोरलाई मोहरमा बदलौं : काठमाडौँँ उपत्यकामा मात्र दैनिक १२ सय टन फोहोर उत्पादन हुँदै आएको छ। तीमध्ये झण्डै ७० प्रतिशत कुहिने र बाँकी नकुहिने फोहोरमैला हुन्छन्। कुहिने फोहोरमैलाबाट बायोग्याँस निकाल्ने वा कुहाएर कौसी खेती गर्ने हो भने पनि मोहर नै हुन्छ। त्यसका अलावा नकुहिने मध्येबाट पनि फेरि प्रयोग गर्न सकिने फोहोर जतिलाई पुनः प्रयोग गर्ने हो भने फ्याँक्नै पर्ने फोहोरको मात्रा एकदमै थोरै हुन्छ।

अन्ततः काठमाडौँ उपत्यकामा करिब हरेक दिन १२ सय मेट्रिक टन फोहोर उत्पादन हुन्छ। त्यसैले लामो समय फोहोर उपत्यकामै रोकिँदा यसले गम्भीर असर पार्ने तथ्य नकार्न सकिँदैन।

सोही कारण फोहोरको दीर्घकालीन समाधानका लागि अहिलेको तुलनामा अझै ठोस पहल आवश्यक छ। साथसाथै उपत्यकाबासीले सकेसम्म फोहोर कम उत्पादन गर्ने र उत्पादित फोहोरलाई घरपरिसरमै सही व्यवस्थापनमा थप कोसिस गर्ने कुरामा ध्यान पुर्याए सम्भावित जोखिम न्यूनीकरणमा ठूलो सहयोग पुग्ने देखिन्छ।

(जुम्ला घर भएका लेखक बाल गोपाल देवकोटा एभरेस्ट इन्जिनियरिङ्ग कलेज सानेपा, ललितपुरका ब्याचलर इन सिभिल इन्जिनियरिङ्ग चौथो वर्षमा अध्यनरत विद्यार्थी हुन्।)

प्रकाशित मिति: : 2022-06-09 21:13:00

प्रतिकृया दिनुहोस्