व्यापारीका दुख : मुख छोपेर आउँछन्, किन्दै नकिनी जान्छन् (भिडियाे रिपाेर्ट)

काठमाडौंको फोहोरलाई नै मुख्य एजेण्डा बनाएर चुनाव जितेका बालेन साहलाई अहिले यही एजेण्डा गलपासो बनेको छ।

महानगरभित्रको फोहोर नउठेको साता बढी भइसक्यो। जताततै फोहोरका थुप्राहरु छन्। जसको मारमा बाटो हिँड्ने बटुवादेखि सडकमा पसल थाप्नेहरु परेका छन्।
बाटैभरी फोहोरका थुप्रा, त्यसैमा दिनदिनै झरी पर्ने गर्छ। त्यसैले पनि मानिसहरुलाई बाटो हिँड्न निकै मुस्किल हुने गरेको छ।

अझ ठेलागाडामा पसल थाप्नेहरुलाई त झनै मुस्किल भएको छ। उता सराैँ गाडीले हान्देला भन्ने पिर, यता सराैँ गन्धैगन्ध छ। दिनभरी नाक मुख थुनेर बस्नु पर्ने अहिले ठेलामा व्यापार गर्नेहरुको बाध्यता छ।

सडकमा थुप्रिएको फोहोरकै कारण आफूहरुको बिचल्ली भएको सडक व्यापारीको भनाई छ।

काठमाडौंको नयाँ बानेश्वर चोकमा ठेलामा फलफूल बेच्दै आएकी मुना थापाले फोहोर नउठेको एक हप्ता भइसकेको बताउँछिन्।
‘फोहोर नउठेको एक हप्ता भइसकेको छ। ठेला राख्ने ठाउँमा फोहोर थुप्रिँदा धेरै नै समस्या भोग्नु परिरहेको छ। फोहोरको उचित व्यवस्थापन नहुँदा व्यापार गर्न धेरै गाह्रो भएको छ’, बिएल नेपाली सेवासँग कुरा गर्दै मुनाले भनिन्, ‘दुर्गन्धका कारण फलफूल किन्न आएका ग्राहक किन्दै नकिनी भड्केर जान्छन्।’

त्यस्तै, अर्का व्यापारीले पनि हप्ता दिनसम्म फोहोर नउठ्दा दुर्गन्धले ठूलो असर पुगेको बताउँछन्। यहाँ आउने ग्राहकहरुलाई पनि समस्या भइरहेको उनले बताए।
‘फोहोर देखेर ग्राहकहरु आउँदैनन्। अब हामीले कसरी पेट पाल्ने? फलफूल हो, एक दिनमा नबिके बिग्रिहाल्छ’, उनी भन्छन्।

उनीहरु त एक प्रतिनिधि पात्र मात्र हुन्। सडकमा पसल थापेर बस्ने सबै व्यापारीको पीडा उस्तै छ।

यसो त, मेयर बालेन फोहोर व्यवस्थापनमा अघि नसरेका भने हाेइनन्। फोहोर व्यवस्थापनकाे विषयलाई मेयर साह सिसडाेलदेखि मन्त्रालयसम्म धाइसकेका छन्। तर पनि निकास भने निस्कन सकेको छैन। सडकमा थुप्रिएको फोहोरकै कारण ट्राफिक जामसमेत हुने गरेको छ।

प्रकाशित मिति: : 2022-06-05 21:00:00

प्रतिकृया दिनुहोस्