गङ्गादशहराको उपलक्षमा खप्तडमा ‘ग्य्राण्ड इभेन्ट’ हुँदै

File Photo
File Photo

यस वर्षको गङ्गा दशहरा मेलाका बेला सुन्दर सुदूरपश्चिम खप्तड शैलेश्वरी म्याराथन २०७९ का साथै भलिवल र डेउडा प्रतियोगिता हुने भएको छ।

श्री नम्बर ५ बाहिनी अड्डा राजपुर, भैरव प्रसाद गण, सिलगढी र उधेग वाणिज्य संघ डोटीको संयुक्त आयोजनामा जेठ २४ गतेदेखि २८ गतेसम्म कार्यक्रम गरिने भनिएको छ। जसमा डोटी जिल्लाका नाै वटा स्थानीय तहहरु र शैलेश्वरी डाेटी सार्वनजिक यातायात प्रालि प्रायोजक छन्।

२४ गतेदेखि २८ गते भित्रमा भलिबल प्रतियोगिता, डेउडा प्रतियोगिता र योग शिविरसमेत संचालन गरिने भनिएको छ।

कार्यक्रमका विजेताहरुका लागि आकर्षित पुरस्कारको राशी छुट्याइएको कुरा उधेग वाणिज्य संघ डोटीका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्काले जानकारी दिए।

यतिखेर ५ दिनसम्म मनाइने उक्त कार्यक्रको व्यवस्थापनमा लागि परेका छन्, सम्बधित निकायहरु। यसपल्ट गंगादशहरा मेलालाई नै लक्षित गरेर तय गरिएका हुन्, यस्ता आकर्षित कार्यक्रमहरु। जसको योजनाकार मानिएको छ, श्री नम्बर ५ बाहिनी अड्डा राजपुर।

खप्तडको धार्मिक, साँस्कृतिक र पर्यटकीय महत्व दर्शाउने हेतुले सुदूरपश्चिमको पर्यटन प्रवर्धनलाई ध्यानमा राखी व्यापक प्रचार प्रसार गर्नुका साथै युवाहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने सोचका साथ कार्यक्रम गर्न थालिएको श्री नम्बर ५ बाहिनी अड्डा राजपुरका सहायक बाहिनीपति अन्जन कुमार खत्रीकाले बिएल नेपाली सेवालाई बताए।

‘खप्तडको धार्मिक र सांस्कृतिक महत्व सँगसँगै पर्यटकीय प्रवर्धन गर्नु पर्ने देख्यौं र कसरी यसको विज्ञापन गर्न सकिन्छ त भन्ने सोचले हामीले यो कार्यक्रमको आयोजना गरेका हौं। हामीसँग एकातिर समय कम छ। अर्कोतिर नेपाल आर्मीसँग बजेट कम छ’, उनले भने, ‘सबै तह र तप्काका संस्था र उदार मन भएका व्यक्तिहरुले हातेमालो गरिदिनु भयो र हामीलाई पनि साहश बढ्न गयो। यो एक किसिमले ग्य्राण्ड इभेन्ट नै हो।’

खत्रीका अनुसार सुदूरपश्चिमका नौ वटै जिल्लाबाट र बाहिरी जिल्लाबाट समेत गरी हजारौंको संख्यामा दर्शनार्थीहरु आउने अनुमान गरिएको छ।

युवाहरुलाई लक्षित गरी भलिबल प्रतियोगिता हुन गइरहेको र युवादेखि बृद्घबृद्घा सबैको मन जित्न सफल सुदूरपश्चिको पहिचानकै रुपमा रहेको डेउडा प्रतियोगीताले झनै कार्यक्रमको रौनक बढाउने कुरामा दुई मत नभएको कुरा बताउँछन्, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा ड्यौडीया नरेन्द्र खड्का।

सहायक बाहिनीपति खत्रीका अनुसार योग शिविर पनि त्यतिकै महत्वपूर्ण मानिएको छ। खत्रीका अनुसार खप्तडको खुला चौरमा स्वच्छ वातावरणमा योगध्यान गराउने हेतुले योग गुरु डा. चिन्तामणि योगीलाई आमन्त्रण गरिएको छ।

खप्तडको त्रिवेणीदेखि सिलगढी शैलेश्वरी मन्दिरसम्म ३२ किमी को दूरी पार गर्ने हिसाबले तय गरिएको म्याराथनमा ४० जना धावकहरु छन्। जसमा २० जना डोटी जिल्लामा कार्यरत नेपाली सेनाका जवान छन् भने २० जना सिभिल धावकहरु छन्।

ती सिभिल धावकहरु पनि  सुदुरपश्चिमका नौ वटै जिल्लाबाट २/२ जना गरी १८ जना र मध्यवर्ती क्षेत्र विकास समितिबाट २ जना गरी २० जना हरने छन्। यदि मध्यवर्ती क्षेत्र विकास समितिबाट सहभागी नआएमा डोटी जिल्लाले १ जना थप धावक पठाउन सकिने व्यवस्था समेत गरिएको कुरा बताउँछन् सहायक बाहिनीपति खत्री।

खत्रीका अनुसार दोस्रो खण्डको म्याराथन पनि रहेको छ। उक्त म्याराथन खप्तडको त्रिवेणी देखि झिग्राानासम्म तोकिएको छ। ‘Run for run’ भनेर तय गरिएको उक्त म्याराथनको दुरी १६ किमि रहेको छ ।

म्याराथनमा प्रथम, दितीय र तृतीय हुनेहरुको लागि पुरस्कारको राशी क्रमशः १ लाख, ७५ हजार, ५० हजार राखिएको छ।

त्यस्तै ५ जनालाई १० हजारका दरले सान्वना पुरस्कार दिइने छ भने म्याराथन दौड पुरा गर्ने अन्य ३२ जनालाई प्रोत्साहन स्वरुप ३ हजारका दरले रकम उपलब्ध गराइने समेत व्यवस्था गरिएको छ। त्यस्तै भलिवल र डेउडा प्रतियोगितामा प्रथम, दितीय, तृतीय हुनेहरुलाई क्तमशः २५ हजार १५ हजार र १० हजार उपलब्ध गराइने छ।

दिपायल सिलगढी नगरपालिकाका मेयर विजय खड्काका अनुसार गङ्गादशहरा मेला अहिलेसम्मकै उत्कृष्ट र व्यवस्थित गरिने गरी आयोजकहरुको तयारी रहेको छ। 

प्रकाशित मिति: : 2022-06-05 13:02:00

प्रतिकृया दिनुहोस्