एक छात्राको सम्झना: अलबिदा राजन सर

Breaknlinks
Breaknlinks

सोमबार बिहान १० बजे। फेसबुक खोल्दै थिएँ। त्यहाँ देखेँ तारा एयरको दुर्घटनाग्रस्त विमानमा सवार सबैको मृत्यु भएको समाचार। त्यो देखेर मनमा निकै चिसो पस्यो।

समाचार पढ्दै गर्दा देखेँ, मिथिला नगरपालिका–११ निवासी राजनकुमार गोलेसहित एकै परिवारका सात जनाकाे मृत्यु। राजन गोले नाम देखेर म पूरै निशब्द भएँ।

मलाई अझै याद छ, चैत १७ गते बिहीबारको दिन। स्नानतक पहिलो वर्ष पढ्दै गरेकी साथी शर्मिला मोक्तानले मलाई बोलाएर भनिन्, ‘इशु तिमी सिन्धुपाल्चोक जान्छौँ?’ उसको कुरा सुनेर मैले चकित मान्दै भन्न थालेँ, ‘किन जानु? कोसँग जाने?’

जवाफमा उनले भन्न थालिन्, ‘सिन्धुपाल्चोकको स्कुलमा हाम्रो क्याम्पसको पर्चा बाँड्न। मलाई स्कुलबाट छुट्टी दिनुहुन्न, मिल्ने भए त म पनि जान्थेँ। तिमीहरु जाऊ ल।’



विमान दुर्घटना : राजनले परिवारलाई मुक्तिनाथ पुर्‍याउनै पाएनन्

 

२१ शव भेटियो : १० शव नेपाली सेनाले काठमाडौं ल्याउँदै



शर्मिलाको कुरा सुनेर मैले सोध्न थालेँ, ‘हामीसँग कुन सर जानुहुन्छ?’ उसले भनिन्, ‘हाम्रो संयोजक मनोज धिताल सर जानुहुन्छ।’

उसको कुरा सुनेर मैले साथी बिनिता कटुवाललाई सिन्धुपाल्चोक जाने प्रस्ताव राखेँ। मनोज सर जाने भनेपछि उनले पनि सहमति जनाउँदै भनिन्, ‘मनोज सर साथीजस्तै हुनुहुन्छ। जाम न त रमाइलो हुन्छ अनि घुम्नु पनि पर्छ।’

हामी दुबै सिन्धुपाल्चोक जाने भएपछि मनोज सरसँग भेट गर्यौँ। उहाँले भन्नुभयो, ‘कलेजको पर्चा बाँड्न तीन जना विद्यार्थी चाहिन्छ है।’

उहाँको कुरा सुनेर मैले बहिनी मौसमीलाई फोन गर्दै भन्न थालेँ, ‘कान्छी हामी सिन्धुपाल्चोक जान लागेको, तँ पनि आइज है।’ उसले हुन्छ भन्दै फोन काटिन्।
मैले मनोज सरलाई बहिनी आउने खबर दिँदै भन्न थालेँ, ‘जाने तयारी गर्यौँ सर।’ कलेजको पर्चा बोक्दै हामी कलेजको आँगनमा पुग्यौँ, त्यहिँ देखिनुभयो- ‘डिआई’ राजनकुमार गोले र अमित खड्का सर।

राजन सर, जो देखेर जया मल्टिपल क्याम्पसका सबै विद्यार्थीहरू डराउने गर्थे। म पनि एक थिएँ- राजन सरसँग डराउने विद्यार्थीमा।

एकदिन ६ बजे बिहान कलेजभित्र पस्दै गर्दा राजन सरले झगडा गर्ने केटाहरुलाई चर्को स्वरमा कराउँदै हुनुन्थ्यो। जुन दृश्य देखेर मैले मनमनै सोच्न थालेँ, राजन सर त रिसाहा र कडा स्वभावको हुनुहुँदो रहेछ।

कहिलेकाहीँ कलेजको गेटमा भेट हुँदा सरसँग बोल्ने मसँग मात्र दुई शब्द हुन्थ्यो, ‘गुड मर्निङ सर।’ उहाँले पनि जवाफमा भन्नुहुन्थ्यो, ‘मर्निङ’।

हुन त राजन सरले मलाई कहिल्यै केही भन्नुभएन, तर सरको कडा स्वभावकै कारण उहाँ देख्नासाथ डर लाग्ने गर्थ्यो।

सिन्धुपाल्चोक जाने दिन आँगनमा बसिरहनुभएको राजन सरलाई देखेर बिनिता र मैले भन्न थाल्यौँ, ‘धन्न हामीसँग राजन सर चाहिँ जानुहुन्न है।’

सरलाई देखेर कुरा गरिरहेकाे हाम्रो भ्रम तब टुट्यो, जब सर पनि हामी जाने गाडीमा नै बस्नुभयो।

सर देखेर डराउने हामी अब त सिन्धुपाल्चोकसम्मको यात्रा नै सँगै गर्नुपर्थ्यो। परेन त हामीलाई फसाद! सर पनि हामीसँग जाने कुरा थाहा भएपछि मनमनै सोच्न थालेँ, ‘बेकारमा आएछु।’

बहिनीको पर्खाइमा बसेका हामी उनको आगमनपछि नै सिन्धुपाल्चोकतर्फ लम्कियौँ।

गाडीमा बसिरहेकी म सोच्न थालेँ, ‘अब त रमाइलो नहुने भयाे।’ तर गाडी गुडेको केही समयपछि नै राजन सर हाँस्दै बोल्न थाल्नुभयो। पहिलो पटक सर हाँसेको देख्दा मनमा लागेको डर कम हुन थाल्यो।

सरको डरले आवाजविहीन भएकी म एकैछिनमा सरको जोक्सले खित्का छाडेर हाँस्न थालेँ। अनि सोचेँ, ‘मैले सोचेको जस्तो कडा हुनुहुन्न रहेछ सर त, बाहिरी रुपमा कडा देखेपनि भित्री स्वभाव नरम रहिछ!’ 

गाडीमा हाँसो मजाक गर्दै थियौँ। कतिखेर सिन्धुपाल्चोक पुग्यौँ, पत्तै भएन। त्यहाँ पुगेका हामीलाई मनोज सरले भन्न थाल्नुभयो, नानीहरु काम सुरु गर है।’



उडान सकाएर बिदा मनाउन जोमसोम उडेका अर्का क्याप्टेन पनि उतै अस्ताए 

चौरजहारीमा सन्नाटा



हातमा अटाउने पर्चा बोकेर हामी तीन जना सिन्धुपाल्चोकको एउटा स्कुल पुग्यौँ।

परीक्षा दिएर आएका ‘एसईई’ का विद्यार्थीहरुलाई पर्चा बाँड्दै हामीले भन्न थाल्यौँ, ‘जया मल्टिपल क्याम्पसमा पढ्न आउनु है।’  भाइबहिनीहरु पनि हुन्छ भन्दै टाउको हल्लाउन थाले।

उनीहरुलाई पर्चा बाँडिसकेपछि हामी त्यहाँबाट तल झर्यौँ, जहाँबाट हामी मेलम्ची नदी पुग्यौँ।

चिसो हावा, निलो पानी, देख्दैमा आनन्दित बनाउने क्षण। नदीमा केही समय बिताइसकेपछि हामी खाना खाने ठाउँमा पुग्यौँ। जहाँ राजन सरलगायतले हामीलाई खाना खानको लागि कुरिरहनुभएको थियो।

खाना खाइसकेको केही क्षणपछि हामीलाई राजन सरले भन्नुभयो, ‘भोटेचौरको बाटो घुम्दै जाम है नानीहरु!’ उहाँको कुरा सुनेर खुसी हुँदै हामीले भन्यौँ, ‘हुन्छ सर।’
सरले हामीलाई बाहिरको दृश्य देखाउँदै भन्नुभयाे, ‘यही ठाउँलाई भोटेचौर भनिन्छ।’

सिन्धुपाल्चोकबाट हिँडेको केही घण्टापछि हामीलाई सरले माछापोखरीमा लैजानुभयो। जहाँको विशेष खाजा थियो– ताजा तारेको माछा।

खाजा खाइसकेपछि हामी घर फर्कन थाल्यौँ। घरतर्फ लाग्दै गर्दा राजन सरले भन्दै हुनुन्थ्यो, ‘नानीहरुलाई आज रमाइलो त लाग्यो नी? सरलाई जवाफ दिँदै हामीले पनि एकै स्वरमा भन्यौँ, ‘हजुर सर!’

गफ गर्दै आउँदा साथी बिनिताको घर दक्षिणढोका आइसकेको थियो। उनी जान्छु है भन्दै गाडीबाट निस्किएर गइन्। हामी पनि केही समयमै कलेज पुग्यौँ। अनि सरहरुसँग बिदा माग्दै घरतिर लाग्यौँ।

तीन वर्षअघि राजन सरहरुसँग सिन्धुपाल्चोक गएको दिन हिजो जस्तो लाग्छ। सर यो संसारमा हुनुहुन्न भन्दा लाग्छ कि कसैले मजाक गरिरहेको छ। तर सत्यलाई कसले पो नकार्न सक्छ र। अलबिदा राजन सर!

प्रकाशित मिति: : 2022-05-30 17:12:00

प्रतिकृया दिनुहोस्