ज्याकलिनलाई विदेश जान अनुमति

File photo
File photo

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई अदालतले ३१ मेदेखि ६ जुनसम्म विदेश यात्रा गर्न अनुमति दिएको छ।

बलिउडका ‘महाठग’ सुकेश चन्द्रशेखरसँग आफ्नो सम्बन्धका कारण प्रवर्तन निर्देशनालय(इडी)को अनुसन्धान परेकी ज्याकलिनलाई अदालतले विदेश जान अनुमति दिएको हो।

ज्याकलिन आबुधाबीमा हुने अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी पुरस्कारमा सहभागिताका लागि जान चाहेकी थिइन्। उनले केही समयअघि पटियाला हाउस कोर्टमा युएई, फ्रान्स र नेपाल जानका लागि अनुमति मागेकी थिइन्। तर, प्रारम्भिक निर्णयमा अदालतले उनको अनुमतिलाई अस्वीकार गरेको थियो।

अदालतले कैयौं पटक चन्द्रशेखरका विषयमा ज्याकलिनसँग सोधपुछ गरेको थियो। झण्डै दुई सय करोड रुपैंयाँ मनी लन्ड्रिङ मामलामा सुकेश हाल जेलमा छन्। गत महिना ज्याकलिनको झण्डै सात करोड रुपैंयाँको उपहार र सम्पत्ति इडीले जफत गरेको थियो।

यसै वर्षको फेब्रुअरीमा इडीले चन्द्रशेखरको कथित सहयोगी पिंकी इरानीविरुद्ध एक पुरक आरोप पत्र दर्ता गराएको थियो। आरोप पत्रमा अभिनेत्री ज्याकलिनको नाम पनि उल्लेख थियो।

आरोप पत्रमा इरानीले ज्याकलिनका लागि महंगो उपहार छनोट गर्ने र त्यो उपहारमा चन्द्रशेखरले लगानी गर्ने उल्लेख थियो। चन्द्रशेखरले विभिन्न मोडल तथा बलिउड फिल्मकर्मीका लागि झण्डै २० करोड रुपैंयाँ लगानी गरेको आरोप पत्रमा जनाइएको छ।

प्रकाशित मिति: : 2022-05-29 11:54:00

प्रतिकृया दिनुहोस्