अमेरिकामा भुटानी शरणार्थीमाथि नारद पोख्रेलले गरे विद्यावारिधि

बिएल संवाददाता

ह्यारिस्बर्ग, अमेरिका

अमेरिका पुनर्वासमा आएका एक भुटानी–नेपाली शरणार्थी नारद पोख्रेलले आफ्नै समुदायको विषयमा विद्यावारिधि गरेका छन्।

उनले हालै अमेरिकाको पेन्सेल्भेनियास्थित मेरिवुड विश्वविद्यालयबाट ‘संयुक्त राज्य अमेरिकामा रहेका भुटानी शरणार्थीहरुको मानसिक स्वास्थ्यमा आप्रवासनपूर्वको आघातले पारिरहेको प्रभावः एक गुणात्मक अनुसन्धान’ शीर्षकमा शोध गरी रणनीतिक नेतृत्व र प्रशासनिक अध्ययनमा विद्यावारिधि गरेका हुन्।

यसरी अमेरिकामा रहेको नेपाली–भुटानी समुदायको जल्दोबल्दो विषयमा विद्यावारिधि गर्ने आफ्नै समुदायका एक सदस्य डा. पोख्रेलको उपलव्धीको सम्मानका लागि पेन्सेल्भेनियाको राजधानी ह्यारिस्बर्गमा एक विशेष कार्यक्रमको आयोजना गरियो।

अमेरिकाका विभिन्न राज्यमा रहेका अग्रज नेपाली भुटानीहरूको प्रतिनिधिमुलक उपस्थिति रहेको समारोहमा नेपाली मूलका एक मात्र अमेरिकी राज्य सांसद डा. ह्यारी भण्डारी प्रमुख थिए।
समारोहमा डा. पोख्रेललाई वधाइ दिदैँ डेलिगेट डा. भण्डारीले भने, ‘डा. पोख्रेलले यहाँहरूकै विषयमा गहन अध्ययन, अनुसन्धान गरेर पीएचडी गर्नुभयो, त्यो उहाँको व्यक्तिगत उपलव्धी त हो नै, त्योभन्दा पनि महत्वपूर्ण कुरा उहाँले आफ्नो समुदायलाई दिएको ठूलो उपहार हो।‘

अमेरिकामा अभिलेखित कुरा मात्र आधिकारिक हुने र त्यस्तो कुराको मात्र अर्थ हुने बताउँदै उनले अगाडि भने, ‘डा. नारद पोख्रेलमार्फत् अब अमेरिकाको नेपाली मूलको भुटानी समुदायले आफ्नो बारेमा बोल्ने एक आधिकारिक दस्तावेज पाएको छ। अध्ययन, अनुसन्धान र तथ्य मात्र बोल्ने र त्यसैलाई विश्वास गर्ने अमेरिकामा यहाँहरूसँग अब एउटा गतिलो औजार मिलेको छ।‘
समारोहमा नेपाली भुटानी समुदायका अग्रज आर पी सुब्बाले अझै पनि नेपाली भुटानीमाझ धेरै विषयहरूमा समान धारणा बनाउन काम गर्नुपर्ने बताउँदै त्यसका लागि स्वस्थ वहस आवश्यक रहेको बताए।

मलाई यो गन्तव्यमा पुर्याउन म जन्मेको देश, म देशविहीन अवस्थामा रहेको देश र आज म नागरिक भएको देश– यी तिनै देशको माटो र यो माटोमा जन्मी हुर्केर र माटोको इज्जत राखिरहेका सयौ मानिसको अतुलनीय योगदान छ। म ती सबै सज्जनहरूप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु, उहाँहरूलाई सम्झन चाहन्छु, उहाँहरूप्रति कृतज्ञ हुन चाहन्छु।
– डा. नारद पोख्रेल

अर्का अग्रज हरि बंगालेले इतिहासको सम्मान गर्दै त्यसबाट शिक्षा लिएर अगाडि बढ्नु नै समयको पदचाप पछ्याउनु भएको बताए। उनले सधैंभरी इतिहास कोट्याएर दुख्नुभन्दा वर्तमानमा रमाएर सुखद भविष्य बनाउन लागि पर्नुपर्ने धारणा राखे।

समारोहमा डा. पोख्रेलले आफ्नो उपलव्धीलाई समुदायमा समर्पित गर्दै भने, ‘मलाई यो गन्तव्यमा पुर्याउन म जन्मेको देश, म देशविहीन अवस्थामा रहेको देश र आज म नागरिक भएको देश– यी तिनै देशको माटो र यो माटोमा जन्मी हुर्केर र माटोको इज्जत राखिरहेका सयौ मानिसको अतुलनीय योगदान छ। म ती सबै सज्जनहरूप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु, उहाँहरूलाई सम्झन चाहन्छु, उहाँहरूप्रति कृतज्ञ हुन चाहन्छु।‘

समारोहमा विद्यावारिधिको अनुसन्धानका क्रममा स्रोत व्यक्तिका रूपमा सहयोग गर्नुहुने स्रोतव्यक्तिहरूलाई सम्मान गर्दै मायाको चिनो दिइएको थियो।

समारोहमा गीतकार आर. बी. खड्काले संयोजनमा नेपाली भुटानी मुलका अग्रज कलाकारहरुले एक भव्य र सभ्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए। कार्यक्रममा मनोज राई, अम्बर तुम्बापो सुब्बा, प्रभु शंकर, डी. बी. बराइली, मनोज ढकाल, विश्वास गुरूङलगायतका कलाकारले प्रस्तुति दिएका थिए।  

समारोह आयोजनाका लागि डा. पोख्रेलले नै स्थापना गरेको न्याउली होम केयरको उल्लेखनीय योगदान रहेको थियो। डा. पोख्रेल अले यही संस्थाका प्रेसिडेन्ट तथा सीईओ हुन्। यो संस्थाले अमेरिकाको पेन्सेल्भेनिया र मिजौरी राज्यका विभिन्न सहरहरूमा समुदायमा आधारित स्वास्थ्य सेवा उपलव्ध उपलव्ध गराउँदै आएको छ। यसले मुलत: नेपाली मूलका भुटानीहरूलाई नै यो सेवा उपलव्ध गराउँदै आएको छ।


भुटानको न्याउलीमा जन्मेका डा. पोख्रेल लामो समय झापाको गोलधापस्थित भुटानी शरणार्थी शिविरमा रहेर २००९ मा अमेरिका पुनर्वासमा आएका हुन्। नेपालमा रहदा त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी साहित्यमा स्नातकोत्तर अध्ययनरत उनले पेन्सेल्भेनियाको मेरिवुड विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नात्तकोत्तर गरेका छन्। यस वर्ष उनले त्यही विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन्।

डा. पोख्रेल एक सिद्धहस्त गीतकार तथा कवि पनि हुन्। उनको 'नाहिसा' शीर्षकमा गीतहरूको संगालो सार्वजनिक भएको छ भने 'द प्याथेटिक जर्नी' शीर्षकमा अंग्रेजी कविताको संगालो पनि छ।


डा. नारद पोख्रेलको एक लोकप्रिय गीतको म्युजिक भिडियो
कोही कस्को कोही कस्को ?

प्रकाशित मिति: : 2022-05-28 07:00:00

प्रतिकृया दिनुहोस्