टुहुरा भए चार छोरा–छोरी... दैव पनि कति निष्ठूरी !

बिएल संवाददाता

डाल्लास, अमेरिका

अमेरिकाको टेक्सासको उभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा मंगलबार भएको सामूहिक गोलीकाण्डमा मारिएकी  शिक्षिका इर्मा गार्सियाका पति जो गार्सियाको हृदयघातबाट मृत्यु भएको छ।

२४ वर्षदेखि विवाह बन्धनमा बाँधिएका गार्सिया दम्पतीका चार सन्तान छन्। उनीहरू १२ देखि २३ वर्षसम्मका दुई छोरा र दुई छोरीलाई टुहुरो बनाएर बिदा भएका छन्।

मेरी श्रीमती अन्तिम श्वास रहेसम्म पनि आफ्ना कक्षाका बालबालिकाहरुलाई अँगालो मारिरहेको अवस्थामा भेटिएकी थिइन्।उनले आफ्नो कक्षाकोठामा बच्चाहरूको सुरक्षा गर्न आफूलाई बलिदान दिइन्। उनी एक नायक थिइन्।
-  जो गार्सिया

इर्मा विगत २३ वर्षदेखि रोब इलिमेन्टरी स्कूलमा पढाउँदै आएकी थिइन्। सामुहिक गोलीकाण्डमा उनकी अर्की एक सहकर्मी शिक्षिका इभा मिरेलेस पनि मारिएकी थिइन्। उनीहरू पाँच वर्षदेखि सँगै पढाउँदै आएका थिए। 

श्रीमान् गार्सियाको मृत्यु भएको पुष्टी गर्दै उनका भतिजा जोन मार्टिनेजले ट्विटरमा लेखेका छन्, ‘गार्सिया आफ्नी श्रीमतीको हत्या भएपछि अत्यन्त दुःखित थिए। यसै दुःखका कारण उनको निधन भयो। ’

सामूहिक गोलीकाण्डमा १८ वर्षीय साल्भाडोर रामोसले १९ जना ससाना नानीबाबु र दुई शिक्षिका गरी २१ जनाको सामुहिक हत्या गरेका थिए। 

प्रकाशित मिति: : 2022-05-27 22:56:00

प्रतिकृया दिनुहोस्