मंलबार (२४ मे)को दिन अमेरिकाको टेक्सास राज्यस्थित एक प्राथमिक स्कुलमा भएको गोली काण्डमा बन्दुकधारीले चलाएको गोलीबाट निर्दोष १९ विद्यार्थी र २ जना वयस्कको घटनास्थलमै मृत्यु भएको छ। उक्त घटनामा जथाभाबी गोली चलाउने १८ वर्षीय साल्भाडोर रामोस पनि मारिएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा रामोस परीक्षामा अनुतिर्ण भएको कारण मानसिक असन्तुलन भएर गोली हानेको देखिए पनि बिस्तृत अनुसन्धान भईरहेको बताईएको छ। टेक्सासका गभर्नर ग्रेग एबटले यो घटनालाई अत्यन्तै दुखद भन्दै घटनामा मारिएका स–साना बच्चाहरुको स्मरण गरेका छन। घटना भइसकेपछि यस्ता कर्मकाण्डी स्मरणहरुको कुनै मुल्य नहुने भएपनि यस्तो औपचारिक प्रथा बनेको छ।
photo : reuters
यो घटनामा आफ्ना छोराछोरी गुमाउने अभिभावकहरुको पीडा र यस्तै उमेरका आफ्ना बच्चाहरुका अभिभावकहरुको डरलाई मध्यनजर गर्ने हो भने यस्तो घटना बारम्बार किन हुन्छ भन्ने विषयमा अमेरिकी सरकारले गम्भीर मन्थन गर्दै होला भन्ने आशा गर्न सकिन्छ। पङ्क्तिकार जस्तो सामान्य मान्छेले यस्तो घटनाको वियमा यस्तो र उस्तो गर्नुपर्छ भनेर अल्पज्ञान छोड्नु हास्यास्पद कुरा हुन्छ तर यहाँ बारम्बार यस्तो घटना घट्न जाँदा पनि खुलेयाम बन्दुकको पहुँच, स्ट्याटस सिम्बलको लागि कम्मरमा बन्दुक झुण्डाउने फेशन, उमेर पुगेपछि बाउ–आमाले नै छोराछोरीलाई बन्दुक चलाउन दिने प्रोत्साहन आदि कारणहरुले यस्ता दुखद घटनाहरू दोहरिने कुरामा दुई मत नहोला।
अमेरिकाको इतिहासमा अचानक स्कुलभित्र कुनै व्यक्ति पसेर अन्धाधुन्ध गोली चलाएर निर्दोष मान्छेहरुलाई मारेको यो पहिलो घटना होइन तर यो अन्तिम घटना होस् भनेर झिनो आशा भने गर्न सकिन्छ। यो भन्दा पहिले पनि यस्तै दुखद घटना नभएको होइन तर त्यी घटनाहरु पीडितसँग सम्बन्धितहरु बाहेक अरुलाई सम्झनासम्म पनि छैन होला। यहाँ यस्तै केही बिगतमा घटेका घटनाहरुलाई स्मरण गर्न खोजिएको छ।
यस्तै केही घटनाहरुमा सन् २०१८ मेमा टेक्सासकै एक स्कुलमा यस्तै गोली काण्ड हुँदा १० विद्यार्थी मारिए। सन् २०१८ फरवरीमै फ्लोरिडाको एक स्कुलमा बन्दुक आक्रमणमा १४ विद्यार्थी र ३ कर्मचारीको मृत्यु हुनुको साथै धेरै विद्यार्थी घाइते भए। बन्दुक चलाउने २० वर्षीय किशोरलाई प्रहरीले घाइते बनाएर पक्राउ गर्याे।
photo: eric seals/detroit free press
यस्तै सन् २०१५ अक्टुबरमा ओरेगनको एक स्कुलमा एक व्यक्ति अचानक पसेर ९ विद्यार्थीको हत्या गर्नुको साथै ९ विद्यार्थीलाई घाइते बनायो र आफूलाई पनि गोली हानेर मर्याे। त्यस्तै सन् २०१२ मा एक १९ वर्षीय किशोरले पहिले आफ्नो आमाको हत्या गर्याे र त्यसपछि घर सँगैको स्कुलमा पसेर २० विद्यार्थी र ६ शिक्षकको हत्या गरेपछि आफूले पनि आत्महत्या गर्याे।
त्यसैगरी सन् २००७ अप्रिलमा भर्जिनियामा एक २३ वर्षीय युवकले ३२ विद्यार्थीको हत्या गर्नुको साथै करिब ३० जना घाइते भए। उक्त घटनापछि उसले आफूलाई गोली हानेर आत्महत्या गर्याे। सन् २००५ मार्चमा मिनेसोटामा एक १६ वर्षीय किशोरले पहिले आफ्नो हजुर बा र उनको साथीको हत्या गर्याे र घर नजिकको एक स्कुलमा पसेर ५ विद्यार्थी, १ शिक्षक र १ सुरक्षाकर्मीको हत्या गर्याे र आफैलाई गोली हानेर आत्महत्या गर्याे। सन् १९९९ कोलोराडोको १ स्कुलमा २ विद्यार्थीले अचानक गोली चलाएर आफ्नै कक्षाका १२ साथीहरु र १ शिक्षक को हत्या गरे र दुबैले आत्महत्या गरे।
अधिकांस घटनाहरुमा त्यस्ता आरोपीहरुलाई प्रहरीले जवाफी फायरमा मारेको छ वा उनीहरु आफैले आफैलाई गोली हानेर आत्महत्या गरेका छन्। यो पनि आफैमा ठूलो क्षति हो। यस्ता घटनाहरु बारम्बार दोहारिनुको कारण पत्ता लगाएर अमेरिकी सरकारले यस्ता घटनाहरु निवारण गर्ने छ भन्ने आशा गर्दै यो घटना अन्तिम होस् भन्ने झिनो आशा गर्नु कुनै अपराध होइन। तर, यस्तै गर्नुपर्छ भन्ने सुझाव दिने हैसियत पंतिकारको छैन।
अन्तमा घटनामा मारिएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समबेदना प्रकट गर्न चाहन्छु।